एकीकृत कारोबार नहुँदासम्म सेयर किनबेच नहुने नीति हट्ने

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने वित्तीय संस्थाको सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म नहुने नीति हट्ने दोहोर्याएको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले बिहीबार आर्थिक वर्ष २०७९/०८० को बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० दिनभित्रमा मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका जारी गर्ने र २० दिनमा कार्यान्वयन गर्ने जानकारी पनि दिए ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का गर्ने काम अबदेखि धितोपत्र बोर्डको नियमअनुसार हुने जनाएको थियो । बोर्डले सेयर लगानीकर्तालाई क्षतिबाट बचाउनको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने पनि जनाएको छ । कार्यक्रममा बोल्दै हमालले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउन चालू आर्थिक वर्षभित्रै कानुनी आधार तयार पार्ने बताए ।
धितोपत्र बजारको दायरा बढाउने, बुक बिल्डिङलाई प्रभावकारी बनाउन अटोमेटिक अक्सन सिस्टम लागू गर्नेजस्ता योजना पनि बोर्डले अगाडि सारेको बोर्डका अध्यक्ष हमालले बताए । उनले ५ अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई आईपीओ अनिवार्य हुने कानुन बनाउने तथा नयाँ ब्रोकर थप्ने योजना पनि सुनाए ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले लगानी गर्न सक्नेगरी सी आश्वाको व्यवस्था गर्ने, एनआरएनएले लगानी गर्न सक्ने ढोका खोल्ने पनि उनले बताए । “वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गरिनेछ,” उनले भने । तर, यसबाट वैदेशिक रोजगारीमा रहेका नेपालीले रेमिट्यान्स पठाउलान् अनि हुन्डी निरुत्साहित हुन्छ भन्ने बोर्डको सोचाइ अव्यवहारिक रहेको लगानीकर्ता बताउँछन् ।
अध्यक्ष हमालले बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याउने पनि जानकारी दिए । उनले हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को एउटै प्लेटफर्मबाट सेयर खरिदबिक्री हँुदै आएको भन्दै चालू आर्थिक वर्षदेखि साना तथा मझौला कम्पनीका लागि छुट्टै प्लेटफर्म सञ्चालनमा ल्याउने बताएका हुन् । उनले वास्तविक क्षेत्र तथा अन्य क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा सूचीकृत गर्नका लागि आवश्यक हुने नीति कार्यविधि तथा प्रविधिको व्यवस्था मिलाइने बोर्डको नीति तथा कार्यक्रम रहेको पनि बताए । तर, यसअघि नै वास्तविक क्षेत्रका कम्पनीलाई बुक बिल्डिङ विधिमार्फत सेयर बजारमा भित्र्याउने प्रकृयामा विवाद आएपछि अन्य कम्पनीहरु हच्केका छन् ।
साथै, हमालले व्यावसायिक कृषि कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन नयाँ स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउने, बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गरिने योजना पनि कार्यक्रममा सुनाए ।
उनले बजारमा हुने चलखेल र अनुचित क्रियाकलापलाई निरुत्साहित गर्न विश्वस्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरीवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित रेन्जटेक मार्फत चुस्तदुरुस्त बनाउने योजना रहेको पनि बताए । अध्यक्ष हमालले बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरुलाई मेरिट बेसिस फाइल एप्रुभल सिस्टमका आधारमा प्रक्रिया अगाडि बढाइने पनि जानकारी दिए ।
बोर्डको नीति तथा कार्यक्रम
– मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म नहुने नीति हट्ने
– आवश्यक नीति र संरचना निर्माण गरेलगत्तै कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि अनुमति दिने
– ५ अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई आईपीओ अनिवार्य हुने कानुन बनाउने
– लगानीकर्तालाई क्षतिबाट बचाउनको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने
– धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिष्पर्धी बनाउन नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सेयर संरचनामा सुधारका लागि सहजीकरण गरिने
– धितोपत्र बजारमा राफसाफमा आउन सक्ने समस्या समाधानका लागि आवश्यक अक्सन मार्केट विकास तथा सञ्चालन सम्बन्धी अध्ययन गरिने
– नयाँ ब्रोकर थप्ने