Logo

पछिल्लो समयमा अमेरिका र चीनबीचको व्यापारयुद्धले पनि ती दुवै देशलगायत विश्वलाई नै आर्थिक लाभ प्राप्त गर्नबाट वञ्चित गराएको अवस्था छ ।

विश्व अर्थतन्त्र र नेपालमा प्रभाव

आजको विश्वले जलवायु परिवर्तन, कोभिड–१९, विभिन्न खाले राजनीतिक द्वन्द्व, मूल्यवृद्धि, खाद्य तथा ऊर्जा संकट र रासायनिक मलको अभावको सामना गरिरहेको छ भने यसै बीचमा रूस–युक्रेन युद्धले यो संकटमा ऊर्जा थपेको अवस्था छ । कोभिड–१९ ले थिलथिलो पारेको विश्व अर्थतन्त्रलाई अहिले उच्च मूल्यवृद्धिले आक्रान्त बनाएको र अब विश्व नै मन्दीको चपेटामा पर्ने त्रासले सताएको छ । मन्दी आउने खतरा रहेको हुनाले विश्वका धेरै देश तथा संस्थाहरूले रोजगारी कटौती गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण बनेका छन् फेसबुक, गुगल, एप्पल, अमेजन, माइक्रोसफ्टजस्ता संस्थाहरू ।
विश्व अर्थतन्त्रको अर्को परिदृश्य भनेको विश्वभरि खाद्य पदार्थको मूल्य अकासिनु र आममानिसको जनजीवन कष्टकर हुनु । यसमा पनि विशेष गरेर धेरैजसो कम विकसित मुलुकका कम आय भएका वर्गका मानिसमा धेरै असर परेको छ । यी मानिसहरूलाई पेटभरि खाना उपलब्ध गर्न पनि समस्या भएको छ । तर, ढिलो गरेर भए पनि युरोप र अमेरिकाजस्ता विकसित र उन्नत अर्थतन्त्र भएको देशहरूमा पनि यसको प्रभाव देखिन थालेको छ । ती देशहरूमा यो दशकयताकै मूल्यवृद्धिका कारणले अत्यावश्यकबाहेकको भ्रमण र अनावश्यक खर्च कटौती गर्न थालेको अवस्था छ भने भारतजस्ता २० वटाभन्दा बढी मुलुकले त आन्तरिक मूल्य नियन्त्रण गर्न खाद्यान्न निर्यातमा प्रतिबन्धसमेत लगाएका छन् भने कतिपय मुलुकहरू प्रतिबन्ध लगाउने प्रक्रियामा छन् ।
पछिल्लो समयमा अमेरिका र चीनबीचको व्यापारयुद्धले पनि ती दुवै देशलगायत विश्वलाई नै आर्थिक लाभ प्राप्त गर्नबाट वञ्चित गराएको अवस्था छ । यो व्यापारयुद्ध शीतयुद्धमा परिणत हुने खतरा पनि बढेर गएको जानकारहरू बताउँछन् । यदि यस्तो भयो भने विश्व अर्थतन्त्रलाई थप अनिश्चतातिर धकेल्नेछ । यी विश्वका दुई ठूला अर्थतन्त्र भएका देशहरूका सम्बन्धले आजको विश्व अर्थतन्त्रमा ठूलो महŒव राख्ने गर्छ । हाल चीनले आफ्ना छिमेकी र विश्वका अन्य देशहरूमा आफ्नो उपस्थिति बढाइरहेको अवस्था छ भने अमेरिका पहिलाबाट नै विश्वका धेरै देशमा आफ्नो बलियो उपस्थिति देखाउँदै आएको देश हो । त्यसकारणले पनि यी देशहरूको सम्बन्धमा विश्व अर्थतन्त्र तरंगित हुनु स्वाभाविक हो ।
पूर्वी युरोपका दुई मुलुकहरू रूस र युक्रेनबीच चलिरहेको युद्धले विश्वव्यापी मूल्यवृद्धि, खाद्य अभाव र इन्धनको संकट देखा परेको छ । यसको प्रभाव पनि विकसित मुलुकको तुलनामा अल्पविकसित र विकासशील मुलुकहरूमा बढी देखिन थालेको छ । संयुक्त राष्ट्रसंघका अनुसार युद्ध सुरु हुनुअघि विश्वका ३६ वटा कम आय भएका मुलुकहरूले मकै, गहुँ तथा खाने तेल युक्रेनबाट आयात गरिरहेका थिए । युक्रेन एक्लैले विश्वका झन्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गरेको तथ्यांकले देखाउँछ । तर, दुई देशका बीचमा युद्ध सुरु भएपछि यी वस्तुहरूको निर्यात बन्द भएको छ भने मूल्यवृद्धिले आकाश छोएको छ । मूल्यवृद्धिकै कुरा गर्ने हो भने गत वर्षको तुलनामा यो वर्ष विश्वमा खाद्यान्नको मूल्य ३५ प्रतिशतले तथा तेल र ग्याँसको मूल्य ६० प्रतिशतले बढेको छ, साथै पछिल्लो अवस्थामा विश्व जनसंख्याको लगभग ११ प्रतिशत मानिसले खाद्य संकट भोगिरहेका छन् भने ५० भन्दा बढी मुलुकका ४ करोडको हाराहारीमा मानिसहरूले खाद्य अभावको समाना गरिरहेका छन् ।
यसैबीचमा हाम्रा छिमेकी देशहरूको अर्थतन्त्र पनि बिस्तारै बिग्रँदो अवस्थामा छ । करको दरमा कटौती, रासायनिक मलको आयातमा प्रतिबन्ध, आतंकवादी हमलापछि पर्यटन आगमनमा कमी, सरकारमा परिवारवाद र दम्भ हाबी हुनु तथा गैरजिम्मेवार आर्थिक नीतिहरू, विदेशी ऋणको सावाँ–ब्याज भुक्तानीमा समस्या आदिका कारणले श्रीलंकाको आर्थिक अवस्था डामाडोल भयो । त्यसैगरी भुक्तानी असन्तुलन, विदेशी ऋणको वृद्धि र सरकारी ढुकुटीले धान्नै नसक्ने गरी इन्धनमा दिँदै आएको अनुदानको कारणले पाकिस्तानलाई पनि आर्थिक समस्याले घेर्न थालेको छ । यो पाँच वर्षमा पाकिस्थानको वैदेशिक ऋण १ खर्ब २२ अर्ब अमेरिकी डलर पुगेको छ भने मूल्यवृद्धि १५ प्रतिशतभन्दा बढी छ । यो एक वर्षमा त्यहाँको मुद्राकोे मूल्य अमेरिकी डलरको तुलनामा १२ प्रतिशतले अवमूल्यन भएकोे छ तथा व्यापारघाटा बढेर ३० अर्ब अमेरिकी डलर पुगेको छ ।
त्यसैगरी उदीयमान अर्थतन्त्र भएको देश भनेर चिनिन थालेको बंगलादेशमा पनि आर्थिक संकट देखिन थालेर वैदेशिक मुद्राको सञ्चितिमा कमी आउन थालेपछि त्यहाँको केन्द्रीय बैंकले विलासिताका र अत्यावश्यकबाहेकका वस्तुहरू आयातमा रोक लगाएको छ भने सरकारले सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा पनि कडाइ गरेको छ । पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि हुन थालेपछि त्यहाँको सरकारले विद्युत् बचाउनका लागि बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था लागू गरेको छ । त्यसैगरी भुटान र मालदिभ्सको अर्थतन्त्र पनि यो विश्वसंकटबाट अछुतो हुन सकेको अवस्था छैन । तर भारत भने अहिले छिमेकी देशहरूको बिग्रँदो अर्थतन्त्रको रमिते भएर बसेको छ ।
विश्व अर्थतन्त्रलाई नियाल्दा विश्वभरि नै हाल रासायनिक मलको चरम अभाव हुन थालेको छ । युद्ध सुरु हुनुअगाडि रासायनिक मल विश्वमा रूस र बेलारूसले लगभग २० प्रतिशत निर्यात गरिरहेका थिए । रूस एक्लै यो मल उत्पादन तथा निर्यात गर्ने देशहरूमा विश्वमा तेस्रो हो । तर, युद्धका कारणले रूसबाट हुने निर्यात बन्द हुँदा, विश्वको तेस्रो ठूलो युरिया मलको निर्यातकर्ता चीनले कोभिडका कारण मलको उत्पादन घटेपछि यसको निर्यातमा प्रतिबन्ध लगाउनाले र गत वर्ष हुरीका कारण अमेरिकामा पनि मल उत्पादनमा कमी आउँदा विश्वव्यापी रूपमा मलको अभाव भई यसकोे मूल्यमा गत वर्षको तुलनामा दोब्बरले बढेको छ, जसका कारण विश्वमा नै खाद्यान्नलगायत अन्य कृषिजन्य वस्तुकोे उत्पादनमा कमी आउने निश्चित छ । यसरी खाद्यान्नको उत्पादनमा आउने कमीले विश्वले भोकमरी र खाद्यसंकटको सामना गर्नुपर्नेछ । हाल विश्वमा उत्पादन हुने कृषिजन्य उत्पादनको करिब ४० प्रतिशत पशु, पन्छी र माछालार्ई खुवाउने गरिएको तथ्यांकले देखाउँछ । यसरी खाद्यान्नको अभाव हुँदा पशु, पन्छी र माछालाई खुवाउने अन्नको कमी भई मासु र दूधको उत्पादनमा पनि कमी आउनेछ र मासु तथा दूधकोे मूल्यमा पनि वृद्धि हुनेछ ।
यसरी विश्वमा हुने अर्थतन्त्रका हलचलले नेपाललाई मूल्यवृद्धिको असर, श्रीलंकाको बाटोमा अर्थतन्त्र जाने मनोवैज्ञानिक त्रास, रूस–युक्रेन युद्धले निम्त्याएको संकट, डलरको मूल्यवृद्धिको असर गरी चार किसिमले असर पारेको देखिन्छ । यसमा मूल्यवृद्धितर्फ हेर्ने हो भने यो सामान्य वस्तुमा २० प्रतिशत तथा तेल र खाद्यान्नमा ३५ प्रतिशतसम्म वृद्धि भएको छ ।
दोस्रो कुरा, नेपाल श्रीलंका पथमा जाने मनोवैज्ञानिक त्रास बढेको छ यो अवधिमा । मूल्यवृद्धि दोहोरो अंकमा पुगेको, व्यापारघाटा बढेको, शोधनान्तर स्थिति घाटामा रहेको, विदेशी मुद्राको सञ्चितिमा लगातार कमी आइरहेको, उच्च ब्याजदर, बैंकमा तरलता अभाव चुलिँदा बैंकले लगानी गर्न नसकेको, कमजोर आर्थिक वृद्धि, मलको अभावमा कृषि उत्पादनमा कमी आई आयातको बढ्दो अवस्था, गैरजिम्मेवार आर्थिक नीतिहरू, पँुजीगत खर्च हुन नसक्नु, शासकीय अहंकार र उन्माद बढ्दै जानु र राजनीतिमा वंशवाद हावी हुनुजस्ता कारणहरूले यो त्रास बढेको हो ।
त्यसैगरी तेस्रो कुराचाहिँ रूस–युक्रेन युद्धका कारणले युक्रेनसँग १८ अर्ब र रूससँग ४ अर्बको वार्षिक व्यापार हुनेमा आयात बन्द हुँदा हाल नेपालमा खाने तेल, कच्चा पाम तेल, केराउ, बेबी लोसन, टेलिफोनका सामग्री, पेट्रोलियम पदार्थ, कोइला, खाद्यान्न आदिजस्ता वस्तुहरूको अभाव हुन थालेको छ । विश्वको आपूर्ति प्रणाली खलबलिएर मूल्यवृद्धि भएको छ, साथै खाद्यसंकटको खतरा बढेको छ । पर्यटक आगमनमा समस्या आएको छ । गत साल रूसबाट २ हजार १ सय ७ र युक्रेनबाट ९ सय ९७ पर्यटक नेपाल आएकोमा यो साल यहाँबाट आउने पर्यटक ठप्प छन् । बेरोजगारी र गरिबीमा वृद्धि भएको छ । हाम्रो अर्थतन्त्रको विकासमा ब्रेक लाग्न थालेको छ । कार्पेट, चिया, अगरबत्ती, चित्रकलाका सामान आदि युक्रेन निर्यात हुने गरेकोमा अहिले यो बन्द भएको छ ।
चौथो कुरा भने अमेरिकी डलरको मूल्य बढ्दा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्नुका साथै देशले विदेशबाट लिएको ऋणको साँवा र ब्याज भुक्तानीका लागि पनि अरू समयको भन्दा बढी रकम तिर्नुपर्छ । विभिन्न कारणले विदेश भ्रमणमा जानेहरूको लागत पनि बढेर जान्छ र स्वदेशी मुद्राप्रतिको विश्वासनीयता पनि घटेर जान्छ । तर, अर्कातिर यसका कारणले विदेशमा रहेका नेपालीले पहिलाभन्दा धेरै रेमिट्यान्स देशमा पठाउँछन्, जसले गर्दा रेमिट्यान्स आप्रवाह बढेर जान्छ भने रेमिट्यान्स पठाउनेको संख्या पनि बढ्न थाल्छ । यसको वृद्धिले प्रत्यक्ष वैदेशिक लगानीमा पनि सकारात्मक प्रभाव पार्छ । यो अवस्थामा निर्यात वृद्धि र पर्यटन आगमनमा सुधार ल्याउन सके नेपालले यसको सबैभन्दा ठूलो लाभ लिन सक्ने अवस्था पनि विद्यमान रहेको छ ।
यसरी हाल नेपाली अर्थतन्त्रले विश्व अर्थतन्त्रको प्रभावले समस्या भोगिरहेको छ भने हाम्रो आफ्नै कारणले पनि हामीले संकट भोगिरहेका छौं । हाम्रो देशमा जब संकट बढ्दै जान्छ तब सरकारमा बसेका मानिसहरू जनतालाई भूलभुलैयामा पार्नेतर्फ लाग्छन् । उनीहरू जनतालाई हाम्रो सरकारले त यसो गर्न खोजेको थियो, विपक्षीले गर्न दिएन वा गलत कामजति सबै अर्को सरकारको पालामा भएको हो, हामीले त खालि सरकारको निरन्तरताको पालना मात्र गरेको हो भनेर अवगालबाट जोगिने र दोषजति अरूको थाप्लोमा हाल्ने उपाय सोच्न थाल्छन् । त्यसैगरी देश संकटमा जान थालेपछि अधिकांश कर्मचारी आफूलाई सुरक्षित राख्न सकेसम्म बढी सम्पत्ति जोहो गर्नतिर लाग्छन् भने व्यापारीहरू जसरी भए पनि धेरै कमाएर भविष्य सुरक्षित गर्न चाहन्छन् । नेपालमा जबजब संकट आउँछ तबतब विदेशीहरू हाम्रो देशको प्राकृतिक स्रोतहरू सित्तैंमा हत्याउने दाउमा हुन्छन् । त्यसैगरी विभिन्न गैरकानुनी माध्ययमहरूबाट विदेशी मुद्रा पलायन हुन थाल्छ र यहाँ विदेशी मुद्राको चरम अभाव हुन जान्छ । सर्वसाधारण नागरिक भने मनोवैज्ञानिक त्रासले विभिन्न बहानामा आफ्ना बालबच्चालाई विदेश पठाएर आफ्नो भविष्य सुरक्षित गर्नतिर लाग्छन् । विभिन्न क्षेत्रमा बिचौलियाहरूको बिगबिगी हुन्छ र नियम–कानुनले काम गर्न छोड्छ । बजेटमा बिचौलियाको प्रयोग गरी करका दरहरू हेरफेरजस्ता कर्महरू गरिन्छन्, व्यक्ति र परिवारका नाममा बजेटको ठूलो अंश छुट्ट्याइन्छ । राजनीतिमा नैतिकताको कुनै मापदण्ड हुँदैन, यसमा खडेरी लागेको हुन्छ । हाम्रा शासक र तिनका चाटुकारहरू मौकामा चौका हान्न र भविष्यका लागि थैली बलियो बनाउने हतारोमा हुन्छन् । शासकहरू सबैका सामु लत्रिएर भए पनि आफ्नो सत्ता जोगाउन र उधारोमा प्रधानमन्त्रीको पदसँग नागरिकता साट्नेजस्ता काम गर्न पनि आतुर हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्