Logo

नेपाली टोली स्वदेश फर्कियो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।
भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे । कप्तान लामिछानेले स्कटल्यान्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि नै भएको र अहिले आएर दोष देखिएको बताए । कप्तान लामिछानेले नेपाली टोलीले आफ्नो कमीकमजोरीलाई अध्ययन गरेर सुधार गर्नुपर्ने समय आएको बताए ।
उता प्रशिक्षका पुबुदु दासानायकेले भ्रमण सोचे जस्तो नभएपनि अनुभवको आधारमा भने निकै सकारात्मक भएको प्रतिक्रिया दिए । टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता भएकाले अनुभवको धेरै खाँचो रहेको उनको भनाइ छ । आयोजक स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्क श्रृंखला खेलेर नेपाली टोली नेपाल फर्किएको हो । स्कटल्यान्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेका थियो । जसअन्तर्गत नेपाली एक खेलमा सुखद् नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो । नामिबियासँगको दुई खेलमध्ये दुवैमा नेपाल पराजित भएको थियो भने घरेलु टोलीसँगको पहिलो खेलमा नेपालले सुखद् नतिजा निकाल्दा अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।
श्रृंखलामा बलिङतर्फ औसत प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको खराब प्रदर्शन रह्यो । तालिकामा २० खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डले २४ खेलबाट ३४, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (यूएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौ स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवान्युगिनी (पीएनजी) ले २० खेलबाट २ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्