७.५ प्रतिशतको वृद्धि हुने भारतीय प्रक्षेपण «

७.५ प्रतिशतको वृद्धि हुने भारतीय प्रक्षेपण

यो वर्ष वृद्धि ओरालो लागे पनि आगामी वर्ष भारतको वृद्धि उकालो लाग्ने सरकारी प्रक्षेपणले देखाएको छ ।
आर्थिक वर्ष २०१७–१८ मा आर्थिक वृद्धि ७ देखि ७.५ प्रतिशतको बीचम रहने प्रक्षेपण सरकारले गरेको छ । चालू आर्थिक वर्षमा भारतको वृद्धि ६.७५ प्रतिशतमा झरेको छ ।
यसले भारतलाई विश्वकै तीव्र वृद्धिको प्रमुख अर्थतन्त्रको उपाधि पुनः प्राप्त गर्नका लागि सहयोग गर्ने सरकारले जनाएको छ ।
बिहीबार सार्वजनिक गरिन लागेको संघीय बजेट अगाडिको आर्थिक सर्भेमा वित्त मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो ।
हाल भारतको वृद्धि ओरालो लाग्नुमा विभिन्न कारण देखाइएको छ । यसमा ओरालो लागेको निर्यात र निजी लगानीमा आएको गिरावटलाई पनि मानिएको छ ।
योबाहेक २०१६ मा ल्याइएको अमौद्रीकरणको प्रभाव २०१७ सम्म परेको र सामान र सेवा कर (जीएसटी) ले पनि वृद्धिमा प्रभाव पारेको बताइएको छ ।
“विशेष गरी तेल मूल्यका कारण पनि वृद्धिमा जोखिम हुन सक्ने प्रक्षेपण गरिएको छ । यदि तेलको मूल्य सुदृढ अवस्थामा रह्यो र हालको तहबाट उकालो लागेमा हामीले ७ प्रतिशतको वृद्धि हुने देखेका छौं,” एचडीएफसी बैंकका प्रमुख अर्थशास्त्री अभिक बरुवाले बताए ।
“यो परम्परागत र विश्वसनीय तह हो । यदि तेलको मूल्यमा ठूलो अनुपातको गिरावट आयो र आन्तरिक मागमा पनि वृद्धि भयो भने भारतीय अर्थतन्त्र ७ प्रतिशतको तहबाट पनि उकालो लाग्न सक्छ,” उनको भनाइ थियो ।
भारतले आफ्नो माग पूर्ति गर्नका लागि ७० प्रतिशतभन्दा बढी तेल आयात गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष भारतीय अर्थतन्त्र ७.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्