Logo

नागरिकता विधेयकका लागि सरकारलाई एनआरएनएको धन्यवाद

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग पनि समेटेर सरकारले नागरिकता विधेयक अगाडि बढाएको बताए ।
संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था अनुसार नै विधेयक पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराए । उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि धन्यवाद प्रकट गरे ।
कार्यक्रममा संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरु, गैरआवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका तर्फबाट अधिकृत कुनाल मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

बक्स
विधेयक पारित गर्न सांसदहरूलाई आग्रह
गृहमन्त्री बालकृष्ण खाणले संसद्मा पेश गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन् । लाखौं नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नदिन सरकारले संविधान अनुसार सो विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरुलाई अनुरोध गरेका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । मन्त्री खाणले संविधानको प्रावधान अनुसार अघि बढाएको सो विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढनुको विकल्प नरहेको पटकपटक दोहो¥याउनु भयो । गृहमन्त्री खाँणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै सोही अनुसार सो विधेयक सरकारले ल्याएको बताए ।
मन्त्री खाणले आफ्नो विरोधको सूचना फिर्ता गरेर पनि सो विधेयकलाई संसदबाट पारित गराउन सांसदहरुले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्