Logo

हिमालयन बैंकले सिभिल प्राप्ति गर्ने

हिमालयन बैंक लिमिटेडले सिभिल बंैक लिमिटेडलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेको छ । दुई बंैकबीच भएको उक्त समझदारीपत्रमा हिमालयन बंैकका तर्फबाट बंैकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बंैकका तर्फबाट बंैकका अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
हिमालयन बंैकका अनुसार नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बंैकले अगाडि सारेको मर्जर÷एक्विजिसन नीतिको अनुसरण गर्दै दुई बंैकबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
नेपालको बंैकिङ इतिहासमा चौथो संयुक्त लगानीको रुपमा २०४९ माघ ५ गते स्थापना भएको हिमालयन बैंक लिमिटेडले करिब १२ वर्षअगाडि स्थापना भएको सिभिल बंैक लिमिटेडलाई प्राप्ति गरेपछि बंैकको नाम हिमालयन बैंक लिमिटेड नै रहने छ भने सञ्चालक समिति हिमालयन बैंककै रहने र सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ नै रहनेछन् । यसैगरी प्रमुख कार्यकारी अधिकृतमा अशोकशमशेर राणा नै रहने पनि बैंकले जनाएको छ ।
हिमालयन बैंकले सिभिल बंैकलाई प्राप्ति गर्ने कार्यका लागि १००ः८१ सेयर स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको छ । हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बंैकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ । त्यसैगरी जगेडा कोषमा हिमालयन बैंकको ८ अर्ब ३ करोड र सिभिल बंैकको २ अर्ब ९१ करोड रहेको छ । कर्जा लगानीतर्फ हिमालयनको १ खर्ब ५८ अर्ब तथा सिभिलको ८६ अर्ब ७४ करोड रहेको छ भने निक्षेपतर्फ हिमालयनको १ खर्ब ७२ अर्ब तथा सिभिलको ९३ अर्ब ३३ करोड रहेको छ ।
हिमालयन बैंकले सिभिललाई प्राप्ति गरेपछि बैंकको कुल शाखा संख्या १८९ पुग्ने तथा सस्थाको पुँजी वृद्धि, कार्यक्षेत्र तथा कार्य क्षमतामा उल्लेख्य प्रगति हुने पनि बैंकले जनाएको छ ।
हस्ताक्षर समारोहमा हिमालयन बंैकका प्रमुख सल्लाहकार हिमालय शमशेर राणाले मर्जर÷एक्विजिसन कार्य आफैंमा चुनौतीपूर्ण भएको बताउँदै त्यसमा बंैकले सफलता प्राप्त गरेरै छाड्ने र संस्थालाई नेपालको बंैकिङ क्षेत्रमा उत्कृष्ठ बनाउने प्रण गरे ।
सोमबारमात्रै नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार सुरु भइसकेको छ । नबिल बैंकका अनुसार प्राप्तिपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ ।
साथै, केही साता अगाडिमात्रै ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच पनि मर्जर सम्झौता भइसकेको छ । यी दुई बैंकको मर्जरपछि कुल चुक्ता पुँजी ३४.४१ अर्ब रुपैयाँ, कुल निक्षेप ३८४ अर्ब रुपैयाँ, कुल कर्जा ३८० अर्ब रुपैयाँ कायम हुने बताइएको छ ।
त्यसैगरी मर्जरको सम्झौता गरेका नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबाट बन्ने नयाँ बैंकको कुल चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्