मुलुकको अवस्था गम्भीर छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् ।
बुधबार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदूत र निर्यात व्यवसायीबीचको अन्तरक्रियामा मन्त्री बडूले सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरु भने भइरहेको बताए । मन्त्री बडूले व्यापारघाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे ।
“मुलुकको अहिलेको अवस्था आर्थिक दृष्टिकोणले हामी निकै सजग भएर हिँड्नुपर्ने अवस्था छ” उनले भने, “आयात बढीरहेको छ । अपेक्षाअनुसार निर्यात बढ्न सकेको छैन । व्यापारघाटा बढ्दो अवस्थालाई ध्यानमा राखेर अहिले मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको छ ।”
उनले सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको दावी गरे । मन्त्री बडूले निर्यातलाई प्रवद्र्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी नेपालमा भित्र्याउने काममा सरकार लागि परेको बताए ।
“राष्ट्रिय उत्पादकहरु बढाउने र विशेष रुपले अभियानका रुपमा तयारीमा लागेका छौं” उनले भने, “राष्ट्रिय उत्पादन र उपभोग बढाउन सक्यौँ भने आयातलाई केही व्यवस्थापन गर्नसक्छौं ।”
मन्त्री बडूले राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने बताए ।