त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता पौने दुई अर्ब

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाह गर्ने विभिन्न संघसंस्था र वायुसेवा कम्पनीहरूले तिर्नुपर्ने बक्यौता करिब पौने दुई अर्ब रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस्तो बक्यौता १ अर्ब ७३ करोड ९८ लाख ५४ हजार ६ सय ६२ रुपैयाँ पुगेको हो ।
भुक्तानी हुन बाँकी रहेको बक्यौता रकम २०७८ असारदेखि ०७९ जेठ मसान्तसम्मको भएको जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा रहेका १८ वटा सरकारी निकायहरूको बाँकी बक्यौतामात्र ५७ करोड ५ लाख पुगेको छ । यसमध्ये भन्सार विभागको मात्र ५६ करोड रुपैयाँ रहेको छ । सञ्चालनमा रहेका २० वटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूको १६ करोड ६७ लाख, सञ्चालनमा रहेका ७ वटा आन्तरिक वायुयान कम्पनीको ४८ लाख, सञ्चालनमा नरहेका १९ वटा अन्तर्राष्ट्रिय वायुयानतर्फ २५ करोड ५१ लाख, सञ्चालनमा नरहेका ११ आन्तरिक वायुयान कम्पनीतर्फ ७ लाख ४६ हजार, विमानस्थलमा सञ्चालनमा रहेका विभिन्न ४५ संघसंस्थाको ५१ करोड ३७ लाख, सञ्चालनमा नरहेका ४९ संघसंस्थाको १५ करोड ४२ लाख बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, “समयमै भुक्क्तानी नगर्दा बक्यौता रकमको विलम्ब शुल्कमात्रै ५२ करोड ३३ लाख पुगेको छ । बक्यौता रकम १ अर्ब २१ करोडसहित कुल रकम १ अर्ब ७३ करोड पुगेको हो ।”
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ गत जेठ १४ गतेबाट लागू भएको र यसअघिको बाँकी बक्यौता मिलान गर्नको लागि पनि प्राधिकरणले ताकेका गरेको प्रवक्ता निरौलाको भनाइ छ । नियमावलीमा भनिएको छ, ‘कुनै व्यक्ति वा संस्थाले यो नियमावली लागू हुनुअघि प्राधिकरणलाई तिर्नु बुझाउनुपर्ने बक्यौता रकम यस नियमावली लागू भएको मितिले तीन महिनाभित्र भुक्तानी गरेमा एक पटकको लागि बक्यौता रकमको अवधि हेरी प्राधिकरणले जरिवाना रकममा शत प्रतिशतसम्म छुट दिन सक्नेछ ।’
“सोही छुटको उपयोग गर्दै बक्यौता भुक्तानी गर्न बाँकी रहेका सरोकारवाला निकायलाई भुक्तानीका लागि आह्वान गरिएको छ,” प्रवक्ता निरौलाले भने, “यदि तोकिएको समयामा पनि भुक्तानी भएन भने प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार मन्त्रालयको सहमतिमा आवश्यक कानुनी कारबाही अगाढि बढाउँछ ।”
साथै कुनै व्यक्ति वा संस्थाले प्राधिकरणलाई भुक्तानी गरेको रकम नियमानुसार लाग्ने शुल्कभन्दा बढी भएकोमा वा दोहोरो भुक्तानी हुन गई ननअपरेटिभ खातामा जम्मा हुन आएकोमा त्यस्तो रकम भुक्तानी गर्ने व्यक्ति वा संस्थाले पुष्ट्याइँ हुने कागजातसहित निवेदन दिएमा प्राधिकरणले हिसाब मिलान वा रकम फिर्ता गर्न सक्ने कानुनी व्यवस्था नियमावली ०७८ मा रहेको छ । बक्यौता रकमको छुट कसैलाई पनि दिन सक्ने कानुनी व्यवस्था छैन तर मन्त्रिपरिषद्मा प्रस्ताव लगेर भने छुट हुन सक्ने प्रवक्ता निरौलाले बताए ।
विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छुट दिने व्यवस्था विमानस्थलले गरेको छ । त्यस्तै ३० दिनभित्र रकम तिरेमा कुनै पनि जरिवाना शुल्क तिर्नु पर्दैन । ३० दिनदेखि ४५ दिनसम्म ५ प्रतिशत जरिवाना लाग्ने गरेको छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ । ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्ने नियमावलीमा व्यवस्था छ ।
नयाँ नियमावली ०७८ मा भने हरेक महिनाको ५ तारिखभित्र वायुसेवा सञ्चालक संस्थाको नाममा बिल जारी गर्नुपर्ने र सो बिल २५ तारिखभित्र सम्बन्धित विमानस्थल कार्यालय वा प्राधिकरणले तोकेको कार्यालयमा बुझाउनु पर्नेछ । यस्तो रकम नबुझाएमा प्रत्येक दिनको लागि मूल्य अभिवृद्धि कर बाहेकको बिल रकममा ०.१ प्रतिशतको दरले विलम्ब शुल्क लाग्नेछ र बुझाउनेको हकमा भने एक प्रतिशत छुट पाउने छन् । तर अघिल्लो महिना यात्रु सेवा सुविधा शुल्क नबुझाएका वायुसेवा सञ्चालकले त्यो छुट पाउने छैनन् ।
विमानस्थलले विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा काउन्टर, होडिङ बोर्ड, विमानस्थलभित्र सञ्चालन गरेको पसल, भण्डारण, यात्रुलाई सेवाप्रवाह गरेको संस्थाले लिएको विमानस्थलभित्रको सेवा शुल्क उठाउने गरेको छ ।