सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जोड

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र प्रशस्त कानुन भएपनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको बताएकी छिन् ।
सहकारी विभागले तयार पारिरहेको सहकारीको दस वर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र सम्बन्धी सरोकारवालसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी भएका व्यवस्थालाई समयानुकुल सुधार गर्दै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानु पर्ने बताइन् ।
उनले सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकाय थप्ने भन्दापनि हाल रहेका संरचनालाई पुर्नसंरचना गरी सशक्त बनाउने र कमजोरी हटाउनेतर्फ कार्यदिशा निर्दिष्ट हुनु पर्नेमा जोड दिइन् ।
विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिला भइसकेको भन्दै सरोकारवाला सबैको राय र सुझाव समेटेर यसलाई छिटो भन्दा छिटो अन्तिम रुप दिन मन्त्री श्रेष्ठले आग्रह गरिन् । कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रको सुधारका लागि आएको दस वर्षे सोचपत्रमा छलफलमा आएका विषय समेटेर अझै समृद्ध बनाएर अघि बढाउनु पर्ने बताए ।
राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले सदस्यहरुको उद्यमशिलता विकास गरी गरिवी निवारण गर्ने उद्देश्य राखेर सहकारीका कार्यक्रमहरु बनाउनु पर्ने बताए ।
सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले अवधारणा पत्रको प्रारम्भिक मस्यौदा तयार पारेको र सबैको सुझाव समेटेर यसलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।