Logo

पानीको स्रोत व्यवस्थित नभए हैजा अझै फैलिने

पानीको गुणस्तर कम हुँदा हैजा फैलिरहेको भन्दै सरुवा रोग विशेषज्ञले पानीको स्रोत व्यवस्थित नभए अझै हैजाको प्रकोप फैलन सक्ने बताएका छन् । केही सातादेखि काठमाडांै उपत्यकालगायत केही जिल्लामा देखिएको हैजा नियन्त्रण हुन नसकेको भन्दै विज्ञहरुले दूषित पानीको स्रोत पहिचान गरेर व्यवस्थापन नगरेसम्म हैजा फैलने खतरा अझै बढ्न सक्नेमा सचेत गराएका छन् ।
वर्षाको समयमा पानीको स्रोत बढी दूषित हुने गरेको र पानीको गुणस्तर परीक्षण गरेर वितरण गर्ने प्रणाली चुस्त हुन नसक्दा समस्या उत्पन्न भएको उनीहरूको भनाइ छ । नेपालको संविधानले नै स्वच्छ पानी पिउन पाउनु जनताको मौलिक हकको रुपमा व्यवस्था गरे पनि आम जनताले भने आफ्नो मौलिक हक प्रत्याभूति गर्न पाइरहेका छैनन् । दूषित पानीका कारण फैलिएको हैजाको प्रकोपले जनमानसमा त्रास सिर्जना गरेको छ ।
यदि दूषित पानीको स्रोतको पहिचान गरेर व्यवस्थापन नगर्ने हो भने हैजा फैलन सक्ने भन्दै समयमा नै सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको बताउँछन् सरुवा रोग विशेषज्ञ डा. अनुप प्रसाद बाँस्तोला । “वर्षाको समयमा खानेपानीका स्रोतहरू बढी संक्रमित हुन सक्छन् अथवा खानेपानीको स्रोतहरू नै दूषित हुन सक्छन्,” उनले भने, “यदि कुन खानेपानीको स्रोत दूषित छ त भनेर पहिचान गर्न सकेनौं भने पनि सर्वसाधारण दूषित पानी पिउन बाध्य हुनेछन् र समाजमा हैजा जस्ता प्रकोप फैलने डर बढ्न सक्छ ।”
उनले हैजाजस्ता प्रकोप फैलन नदिन र हैजाबाट जोगिन जथाभावी पानी नपिउने, उमालेको पानी वा सरकारद्वारा व्यवस्थित पानी मात्रै पिउन आग्रह गरेका छन् ।
खुला ठाउँमा शौचालय गर्दा अन्य पानी पनि संक्रमित हुन सक्ने भन्दै डा. बाँस्तोलाले आम सर्वसाधरणमा जनचेतना जोगाउन समेत सुझाव दिएका छन् । “भूकम्पपछि पनि यो समस्या देखिएको थियो, फेरि हैजाको समस्या देखिन थालेको छ । जसलाई हैजाको लक्षण देखिएको छ, तत्काल उपचार गर्नुपर्छ र बस्तीमा नै पानीको स्रोत दूषित भएकाले व्यवस्थित गर्नुपर्छ,” उनले थपे, “काठमाडौं उपत्यकामा पानीको स्रोत धेरै छन् । पानीमा दिसामा पाइने किटाणु (इकोली तथा कोलिफर्म) भेटिएकाले संक्रमणको स्रोत जति छिटो पत्ता लगायो, त्यति छिटो हैजा न्यूनिकरण गर्न सकिन्छ ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ असारसम्म हैजाका २३ केस भेटिएको छ । “धाराको पानी, जमिनमुनिको पानी र पानीको जारमा नै कोलिफर्म जिवाणु भेटिएको छ । ६२ वटा पानीको नमुनामा ४१ वटामा कैफियत भेटिएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विभिन्न स्थानहरूमा पानीको नमुना संकलन भइरहेको छ । निरन्तर निगरानी र सरसफाइको गतिविधि बढाइएको छ ।”
पानीको गुणस्तर मापन गर्न र समाजमा हैजा नियन्त्रण गर्ने जिम्मेवार निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीहरू नै आन्दोलनमा छन् । केयूकेएलमा क्रियाशील पाँच कर्मचारी युनियनहरू आन्दोलनमा छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी कल्याण परिषद् र काठमाडौ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघ सम्बद्ध कर्मचारीहरूको अन्दोलनले पनि गुणस्तर मापन तथा चनचेतनाको कार्यक्रम प्रभावित भएको छ । उनीहरूले कम्पनीको वार्षिक साधारणसभा गर्न, साधारण सेयर (आईपीओ) जारी गर्न, स्वतन्त्र सञ्चालक नियुक्त गर्न, नतिजा समयमा नै प्रकाशन गर्नुपर्ने लागायतका माग राख्दै आन्दोलन थालेका थिए । कर्मचारीले २०४० सालदेखि नै कर्मचारीको सेवा सुविधामा वृद्धि नभएको भन्दै असन्तुष्टि पोखेका छन् ।
वार्तामार्फत समाधान खोज्ने भएपछि अव आन्दोलन रोकिने र पानीको गुणस्तर मापनलाई प्रथामिकता दिइने बताउँछन् केयूकेयलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य । “गुणस्तर बढाउन पानी प्रसोधन केन्द्रमा केमिकल बढाउने, अनुगमनमा कडाइ गर्ने, धाराको पानी स्याम्पल टेस्टलाई व्यापकता दिने योजनासहित एक्सन प्लान बनाइसकेका छौं,” उनले भने ।

बक्स
संखुवासभामा डेंगुबाट एकको मृत्यु
संखुवासभा, २३ असार (कास)ः डेंगु संक्रमणका कारण संखुवासभाको खाँदबारी अस्पतालमा एक जनाको मृत्यु भएको छ । डेंगुबाट चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको मृत्यु भएको खाँदबारी अस्पतालका डाक्टर पंकज गुप्ताले जानकारी दिए ।
जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षिया न्यौपानेको बिहीबार मृत्यु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचार गर्न जिल्ला अस्पताल खाँदबारी ल्याइएकोमा परीक्षणका क्रममा उनमा डेंगु रोग पुष्टि भएको अस्पतालले जनाएको छ ।
उच्च ज्वरो, रुघाखोकीको समेत लक्षण देखिएको उनको उपचारमा ढिलाइ हुँदा ज्यान गएको बताइएको छ । डेंगुसँगै उनमा निमोनिया पनि देखिएको डाक्टर गुप्ताले जानकारी दिए । असार महिनाभित्र मात्रै संखुवासभामा १७ जनामा डेंगु संक्रमण भएको र उपचारपछि उनीहरू निको भएर फर्किएको अस्पताल प्रसाशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्