परिवर्तित कर नीतिका बारेमा छलफल «

परिवर्तित कर नीतिका बारेमा छलफल

गोरखामा परिवर्तित कर नीतिका बारेमा छलफल भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा परिवर्तित कर नीति अनुसार वार्षिक १० करोड भन्दा माथि कारोवार गर्ने कारोवारीहरुले अनिवार्य रुपमा विद्युतीय कर बिजक जारी गर्नुपर्ने प्रावधानका विषयमा छलफल भएको हो ।
कार्यक्रममा आर्थिक विधेयक २०७९/०८० मा भएका कर छुट सम्बन्धी व्यवस्था अन्तर्गत कोरोना छुट सहुलियत, करको दायरामा आउनेलाई लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था, मिसम्याचका स्किम सुविधा सम्बन्धी व्यवस्थाका बारेमा आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत नारायणप्रसाद ढकालले सहजिकरण गरेका थिए ।
कार्यक्रममा आर्थिक बर्ष २०७९/०८० मा कर छुट सम्बन्धमा आन्तरिक राजस्व कार्यालय सेवा कार्यालय गोरखाका कर अधिकृत अर्चना आचार्य र कम्प्युटर विलिङका बारेमा राजस्व कार्यालय दमौलीका कम्प्युटर अधिकृत रामप्रसाद पोखरेलले कार्यपत्र प्रस्तुत गरे ।
सोही क्रममा संयुक्त उपक्रम (ज्वयन्ट भेन्चर) करदाताहरुलाई बक्यौता मूल्य अभिवृद्धि कर छुटसम्बन्धी विशेष व्यवस्था, ढुवानी साधनको भाडावापतको खर्च कट्टी सम्बन्धी विशेष व्यवस्था, दण्ड, सजाय सम्बन्धी व्यवस्था, करपाटी सम्बन्धी जानकारी साथै विद्युतीय विलिङका लागि पेश गर्नुपर्ने कागजातहरु, स्वीकृति प्राप्त भएपश्चात करदाताले गर्नुपर्ने काम, विद्युतीय विलिङ गर्दा करदातालाई हुने सुविधाका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा वार्षिक १० करोड भन्दा बढि कारोबार गर्ने जिल्लाका विभिन्न फर्मका सञ्चालक तथा लेखा हेर्ने कर्मचारीहरु, थोक व्यवसाय सञ्चालन गर्नेहरु, संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्