मौद्रिक नीतिले अर्थतन्त्रका चुनौती समाधान गर्नुपर्छ : अध्यक्ष गोल्छा «

मौद्रिक नीतिले अर्थतन्त्रका चुनौती समाधान गर्नुपर्छ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताएका छन् ।
उनले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिले ठूला, साना, मझौला उद्योगीदेखि सर्वसाधरणको समस्यालाई समेत समेट्ने गरी आउनेमा आशावादी रहेको बताए । अध्यक्ष गोल्छाले अहिले अर्थतन्त्रमा चुनौती देखिएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने धेरै अपेक्षा रहेको बताए । उनले ५० लाख सेयर डिम्याट खाता खोलेर बसेका सर्वसाधरण समेत मौद्रिक नीतिकै आशमा बसिरहेको बताए ।
“आगामी मौद्रिक नीतिले ठूला उद्योगी व्यवसायीहरु मात्रै नभएर साना र मझौला उद्योगी व्यवसायीहरु र ५० लाख डिम्याट खाता खालेर बसेका सेयर लगानीकर्ताहरु लगायत सर्वसाधरणको समस्या समाधान हुन्छ की हुँदैन भनेर एकदमै ठूलो चासोको रुपमा हेरिरहेका छन्” उनले भने, “उद्योगी व्यवसायी मात्रै नभएर सम्पूर्ण नेपालीले राष्ट्र बैंकमाथि विश्वास गरिएको छ ।”
उनले उद्योगी व्यवसायीहरुले जीवनमा नभोगेको तरलता अभाव यस वर्ष अत्यन्तै गहन र जटिलरुपमा भोग्नु परेको पनि बताए । अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने चेतावनी दिए ।
“उद्योगी व्यवसायीहरु असारमसान्तमा आफ्नो ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहेका छन्” उनले भने, “यो तरलता समस्याको समाधान भएन भने नेपाल एउटा ठूलो मन्दीमा जानेछौं ।”
अध्यक्ष गोल्छाले बजार मूल्य ८ प्रतिशत कुरा गरेता पनि होलसेल मार्केटमा १८ प्रतिशत पुगेको जिकिर गरे । उनले ५० लाख डिम्याट खाता खोलेर बसेका साना व्यवसायी र सर्वसाधरणको ठूलो लगानी सेयर बजारमा डुबेको बताए । उनले सेयर लगानीकर्ताको अवस्था असहज भएकाले मौद्रिक नीतिले राहत देला भन्ने आशमा रहेको बताए । उनले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको सेयर बजारले समेत गतिलिन नसक्नु अर्थतन्त्रको लागि चुनौतीपूर्ण रहेको बताए ।
“अहिले हामीले ८ प्रतिशतको मूल्यवृद्धिको कुरा गरिरहेका छन् । अहिले जसरी अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ” उनले भने, “अहिले होलसेल मूल्य समेत १८ प्रतिशतले बढेको छ । जुन अहिलेसम्म बजारमा देखा परेको छैन । अब हामीले कसरी १८ प्रतिशतको मूल्यवृद्धिमा आफ्नो जीवन कसरी चलाउने हो भनेर सर्वसाधरणले हेरेका छन् ।”
अध्यक्ष गोल्छाले अहिले बैंकको ट्रेजरी बिलकोसमेत ब्याज बढेर १० प्रतिशत माथि पुगेको बताए । उनले इन्टर बैंकिङ ब्याजदरसमेत बढेर ५ प्रतिशत नागेको बताए । उनले बैंकको सिडी रेसियोको चाप बढ्न थालेको ८ महिना बढी हुँदा बजारमा तरलता समस्या सुधारको संकेत समेत नभएको दाबी गरे । उनले एकै पटक तरलताको समस्या समाधान गर्न कुनै जादुको छडी नभएको बताए । अध्यक्ष गोल्छाले बजारमा तरलताको समस्या आगामी आर्थिक वर्षसम्म पनि कायम रहनसक्ने बताए ।
“तरलता सुधार हुने संकेत छैन । व्यापार घाटा १६ खर्ब छ” उनले भने, “शोधानान्तर घाटा २० खर्ब नाघेको छ, कुनै जादुको छडी छैन एकैपटक तरलताको समस्या समाधान गर्न, इन्धनको मूल्य एक वर्षमा डबल भएको छ । आगामी आर्थिक वर्षमा पनि यसरी नै बढ्ने संकेत देखिएका छन् ।”

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा सबैतिर देखिएका समस्याको भार निजी क्षेत्रलाई परको बताए । उनले चालु आर्थिक वर्षको सुरुवात अर्थात ८ महिनादेखि बजारमा तरलता अभाव, बैंक ब्याजदर उच्च भएकाले निजी क्षेत्र निराश रहेको बताए । उनले सरकारले आयात प्रतिवन्ध गर्ने वस्तुको सूची लामो हुँदासमेत आयात नघटेको भन्दै चिन्ता व्यक्त गरे । उनले राष्ट्र बैंकले ल्याउन आगामी आर्थिक वर्षको मौद्रिक नीति समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको अवस्थालाई हेरर मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताए । आगामी मौद्रिक नीतिमा बैंकमा लागू गरिएको सिडी रेसियो परिमार्जन गर्न उनले सुझाव दिए ।
अध्यक्ष गोल्छाले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन प्रोत्साहन गरिएको १ प्रतिशत थप ब्याज दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारबाट फर्केर आउने र हालको सहुलियतपूर्ण कर्जा सुविधाको विदेशमा रहेकै अवस्थामा रेमिट्यान्स पठाउँदा परिवारको सदस्यलाई प्रदान गर्नसक्ने व्यवस्था मौद्रिक नीतिमा गन सुझाव दिए । उनले आयात गर्ने धेरै वस्तुमा प्रतिवन्ध लगाउँदा अवैध व्यापार बढ्दा राजस्व समेत गुम्न थालेको भन्दै आयात प्रतिबन्ध नीतिलाई सोच्नुपर्ने बताए ।
“निर्यातमा प्रोत्साहन दिँदा त्यसमा भ्यालु अडिसनलाई पेस गरेर गर्नुपर्छ । आयात प्रतिवन्ध भएका वस्तुहरुको सूची बढ्दै गएको छ । यसले व्यापारीक नाकाहरुमा अनाधाकृत आयात सुरु भएको छ” उनले भने, “यसबाट सरकारले राजस्व गुमाइरहेको छ । यसबाट विकृति पनि आइरहेको छ । यसको समाधानको लागि केही उपायहरु सोच्नुपर्नेछ ।”
अध्यक्ष गोल्छाले विदेशी लगानी आकर्षित गर्न स्वचालित प्रणाली लागू गरी तत्काल नियमावली बनाउनुपर्ने बताए । उनले मौद्रिक नीतिमार्फत कन्ट्री रेटिङ गर्न एक्सरसाइज गर्न सुझाव दिए । अध्यक्ष गोल्छाले नेपाल सरकारले भन्सार प्रयोजनको लागि प्रयोग गरेको आइपीएस प्रणाली भुक्तानी २० लाखको थ्रेसहोल्डमा वृद्धि गरे व्यवसायीलाई राहत पुग्ने बताए । उनले पहिला व्यवस्था रहेको उत्पादनमुलक उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ र मेसिन आयात गर्दा युसेन्स एलसीको सुविधा निरन्तरता हुनुपर्ने बताए । उनले निजी क्षेत्रले विदेशबाट ऋण ल्याउन प्रोत्साहन गर्ने नीति ल्याउन माग गरे । अध्यक्ष गोल्छाले बढ्दो ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने बताए । गोल्छाले बाह्य कारणले समस्या भएकाले मौद्रिक नीतिको ठूलो चुनौती रहेको भन्दै विगतमा प्रभावित क्षेत्रलाई दिएको पुनर्कर्जालाई निरन्तरता दिनुपर्ने बताए ।
अध्यक्ष गोल्छाले सेयर धितोकर्जामा गत वर्ष लागू गरिएको ४÷१२ को नीति ले निराशा छाएको भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने बताए । उनले डिम्याट खाता खोलेर बसेका लाखौं सार्वसाधारणको ठूलो लगानी सेयरबजारमा डुबेकाले मौद्रिक नीतिमा त्यस्ता समस्या समेट्न माग गरे । अध्यक्ष गोल्छाले उद्योगी व्यवसायीहरु उद्योगमा लगानी गर्न निरुत्साहित भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्