Logo

उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती

अर्थविद्हरूले सरकारले मुलुकभित्रै उत्पादन वृद्धि गर्न नसके अर्थतन्त्रमा चुनौती थपिँदै जाने बताउँदै आएका छन् । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको बताएका छन् ।
शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष २०७९÷०८०को बजेट विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले निर्माण सामग्री, पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर, यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौतीहरू थपिँदै जाने बताए । उनले सरकारले आगामी आर्थिक वर्षमा आयात प्रतिस्थापन गरेर निर्यातलाई दोब्बर गर्ने नीति ल्याएको भने पनि सम्भव नभएको दाबी गर्दै हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले हाम्रो कुनै पनि उत्पादन प्रतिष्पर्धी नहुने र निर्यात दोब्बर हुन नसक्ने बताए ।
यस्तै, आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन नसक्ने दाबी पनि उनले गरे । ८ प्रतिशतको आर्थिक वृद्धि हुँदा धेरै आयात गर्नुपर्ने हुन्छ भन्दै डा. खतिवडाले वर्तमान सरकारले पाँच वर्षमा मुलुकको व्यापार सन्तुलन ल्याए सबैले सम्मान गर्र्ने बताए । उनले आर्थिक वृद्धिदर ५ प्रतिशत माथि जाने बित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको पनि बताए । ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने बाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जाने भन्दै उनले सरकारलाई यसमा हेक्का राख्नुपर्ने सुझाव दिए ।
पूर्वमन्त्री खतिवडाले सरकारलाई आर्थिक स्थायित्व कायम गर्ने, उच्च आर्थिक वृद्धि गरिहाल्ने र कि त अर्थतन्त्र समाप्त पार्ने तीन वटा मात्रै विकल्प रहेको बताए । उनले अर्थतन्त्र संकटोन्मुख भएकाले सरकार संयम हुनुपर्नेमा पनि जोड दिए । पूर्व अर्थमन्त्री खतिवडाले सरकारले बजेटमार्फत आर्थिक वृद्धिलाई ठिक्कको तहमा अनुमान गरेर मूल्यवृद्धि पनि तल राखेर वित्तीय स्थायित्व कायम गर्दै बाह्य क्षेत्रको स्थिरता कायम गरी निजी लगानीको वातावरणलाई सहज बनाउने, लगानी निर्यातमूलक क्षेत्रमा लगाएर बाह्य क्षेत्र सन्तुलन हासिल गर्दै जानेतर्फ जानुपर्नेमा उल्टो बाटोमा गएको आरोप पनि लगाए ।

कालोबजारी र पुँजी पलायनमा पैसा हराएर बैंकहरूमा नफर्किएकाले बजारमा तरलता अभावको समस्या भएको भन्दै उनले ११० प्रतिशतसम्म कर्जा विस्तार भएर मात्रै बजार तरलता अभाव नभएको बताए । तरलता समस्याका विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग र गृह मन्त्रालयले अध्ययन गर्नुपर्ने भन्दै उनले हुण्डी मार्फत डलर बाहिर गएकाले त्यसलाई सरकारले रोक्नुपर्ने बताए ।
यसैगरी, नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मुुलुकको अर्थतन्त्र आयातमुखी भएकाले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप संकट निम्तिने बताए । उनले नेपाल आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको स्मरण गराउँदै यस्तो अवस्थालाई सुधार गरेर अहिलेको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नुपर्ने बताए ।
डा. श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताए । उनले पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा पछिल्ला तीन महिनाको रेमिट्यान्स बढ्दै गएको जानकारी दिए । नेपालबाट विद्युत निर्यात हुन थालेको तथा नेपाली सिमेन्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दबाब कम हुन सक्ने आकलन गरिएको उनको भनाइ छ । उनले अर्थतन्त्र दबाबमा रहे पनि तत्काल आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।
त्यस्तै अर्थविद् डा. गोविन्द नेपालले अत्यधिक मूल्यवृद्धिका कारण आगामी आर्थिक वर्षमा ८ लाख मानिस गरिबीको रेखामुनी पुग्ने बताए । उनले सरकारले आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरूलाई गरिबीको रेखमाथि पु¥याउने भने पनि अहिलेको अर्थतन्त्र र मूल्यवृद्धिको कारण ठिक उल्टो हुने देखिएको भन्दै पछिल्लो समय बढ्दै गएको नीतिगत भष्टाचार नियन्त्रण गर्न नसके अर्थतन्त्र समाप्त हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्