Logo

पातारासी पूर्णखोप पालिका घोषणा

जुम्लाको पूर्वमा पर्ने दुर्गम पातारासी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिलेदेखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई सोमबार एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चतता पालिका घोषणा गरिएको हो ।
पातारासी गाउँपालिकाका–१ देखि ७ नम्बर वडाका जन्मेदेखि एक वर्षका ३ सय ८९ र एकदेखि दुई वर्षका ३ सय ८३ जना गरी जम्मा ७ सय ७५ बालबालिकालाई बीसीजीदेखि टाइफाइडसम्मका १२ प्रकारका सबै खोप लगाइएको छ । पालिकाभित्रका दुई वर्षसम्मका ७ सय ७५ बालबालिका पूर्ण खोपको पहुँचमा पुगे पछि पालिका घोषित भएको हो । कोभिडका कारणले पूर्णखोप पालिका घोषणा एक वर्ष पछि धकेलिए पनि सबै सूचक पूरा गरेकाले पातारासीलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएको पातारासीका स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । उनका अनुसार पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको थियो । जसअनुसार ७ वडा उत्कृष्ट ७ जना स्वयम् सेविका, स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पूर्णखोप पालिका घोषणा हुनु गौरवको विषय भएको बताए । उनले भने, “यहाँका सबै बालबालिका रोगमुक्त र खोपयुक्त भएको सन्देश फैलिएको छ । अन्य पालिकाले पनि पूर्णखोप अभियान चलाउन आवश्यक छ । स्वास्थ्यमा पातरासीले गरेको प्रगति प्रशंसायोग्य छ ।”
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले दिगो विकासको मुख्य सूचक मानिने पूर्णखोप अभियानमा पातारासी सफल भएको बताइन् । बाटो खन्नु र भवन बनाउनुमात्र विकास नभई पोषणदेखि पूर्णखोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि उल्लेखनीय विकास मानिने उल्लेख गरिन् । २०३० सम्म नेपाललाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इट्टा थपेको छ । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, “दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ । पोषणस्थिति सुधारदेखि औषधि आपूर्ति, नियमित स्वास्थ्य जाँचको सवालमा पालिका नीतिगत ढंगमा अघि बढ्ने छ ।”

प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले घोषणा गर्नु मात्र ठूलो कुरा नभई प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको बताए । विगत दुई वर्षको मेहनतले पूर्णखोप पालिका घोषणा भएको र यसको कार्यान्वयनमा आमसरोकारवाले साथ दिन उनको अनुरोध छ ।
खोप बालबालिकाको नैसर्गिक अधिकारभित्र रहेको पूर्णखोपलाई सरकारले विशेष प्राथमिकता दिएको जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाको भनाइ छ । पातारासी अझै शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेकाले पालिकादेखि प्रदेश शिक्षा स्वास्थ्यको विकासमा जोड दिनुपर्ने नागरिक अगुवा राजनीति दलको सुझाव छ । पातारासी पूर्णखोप सुनिश्चितता पालिका घोषणा भएको भन्दै जिसस प्रमुख, गापा अध्यक्ष, प्रमुख जिल्ला अधिकारीदेखि राजनीतिक दललगायत स्थानीयले हस्ताक्षरसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्