नेउवा महासंघ मधेस प्रदेशको साधारणसभा, १५ बुँदे जनकपुर घोषणापत्र जारी
वीरगञ्ज पथलैया कोरिडोरमा थप औद्योगिक क्षेत्रको आवश्यकता

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभा १५ बुँदे जनकपुर घोषणा पारित गर्दै बुधबार सम्पन्न भएको छ । प्रदेश २ मा औद्योगिकीकरणका लागि कम्तीमा ३ स्थानमा औद्योगिक क्षेत्र स्थापना हुनुपर्ने प्रस्ताव पारित भएको छ ।
अहिले वीरगञ्ज पथलैया क्षेत्रमा अधिकांश औद्योगिक प्रतिष्ठान केन्द्रित रहेको र सो कोरिडोरमा नयाँ उद्योगका लागि जग्गाको प्राप्ति कठिन काम बन्दै गएकाले थप औद्योगिक क्षेत्रको आवश्यकता परेको महासंघको ठहर छ ।
बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिनुलाई महासंघले दुर्भाग्यपूर्ण भनेको छ । कानूनी अड्चन फुकाएर विमानस्थल निर्माणको कामलाई अघि बढाउन महासंघले माग गर्ने भएको छ ।
बाराको सिमरा विमानस्थलको स्तरोन्नति र भारतका विमानस्थलसँग जोड्नुपर्ने प्रस्ताव महासंघले पारित गरेको अध्यक्ष गणेशप्रसाद लाठले जानकारी दिए । प्रदेशमा सौर्य उर्जा उत्पादन र त्यसको व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता र प्रसारणका पूर्वाधारको विस्तारका लागि महासंघले पहल गर्ने भएको छ ।
जयनगर जनकपुर रेलमार्गलाई बर्दिबास हुँदै पथलैयासम्म विस्तार, राजस्व न्यायाधीरणको स्थापना, दक्ष कामदार उत्पादनको लागि पोलिटेक्निक इन्स्टिच्यूटको स्थापना, हुलाकी सडक निर्माणको गति, भारतीय पर्यटकले भारतीय रुपयाँ ल्याउँदा भोग्नु परेको हैरानीको समाधान, कृषि बजारको स्थापना, श्रमिक अस्पताल निर्माणलगायतका प्रस्ताव पारित भएको छ ।