अधिकांश उमेदवारले चुनावी खर्च विवरण बुझाएनन्, खर्च विवरण बुझाउने उमेदवार ५८ जनामात्रै «

अधिकांश उमेदवारले चुनावी खर्च विवरण बुझाएनन्, खर्च विवरण बुझाउने उमेदवार ५८ जनामात्रै

लमजुङका स्थानीय तह निर्वाचनका ५८ जना उमेदवारले मात्र चुनावी खर्च विवरण बुझाएका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उमेदवार बनेका एक हजार ४१ जना उमेदवारमध्ये निर्धारित समयमा ५८ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार निर्धारित समयमा जिल्लाका स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन÷तीन जनाले खर्च विवरण बुझाएका हुन् । सोबाहेक खर्च विवरण बुझाउनेमा १४ जना वडाध्यक्षका उमेदवार रहेका छन् भने ३८ जना सदस्य पदका उमेदवार रहेका छन् ।
चुनावी खर्च विवरण बुझाउने पालिका प्रमुखहरूमा सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण कोइराला, क्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्य गुरुङ र बेसीसहरमा नगरप्रमुख उमेदवार बनेकी कुलुमाया गुरुङ छन् । कोइराला नेपाली कांग्रेसबाट सुन्दरबजार नगरप्रमुखमा निर्वाचित भएका हुन् भने सूर्य गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी कुलुकुमारी गुरुङ मंगोल नेसनल अर्गनाइजेसनबाट बेसीशहर नगरप्रमुखमा उम्मेदार बनेकी थिइन् ।
त्यस्तै उपप्रमुख वा उपाध्यक्षतर्फ क्होलासोँथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, बेसीशहर नगरपालिकामा उपप्रमुखमा उम्मेदार बनेका हरिजङ तामाङ र पदममाया गुरुङ रहेको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । गमीमाया गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन भने तामाङ नेकपा माओवादी केन्द्रबाट बेसीशहर नगर उपप्रमुख पदमा उम्मेदार बनेका थिए । त्यसैगरी पदममाया गुरुङ मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट बेसीशहर नगर उपप्रमुखमा उम्मेदार बनेकी थिईन ।

निर्वाचन कार्यालयका सुचना अधिकारी जिवाखर शर्माका अनुसार खर्च विवरण बुझाउने अन्य जनप्रतिनिधिमा विभिन्न स्थानीय तहमा विभिन्न पार्टीबाट उम्मेदार बनेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, मस्र्याङदी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट कुनै पनि पनि उमेदवारको खर्च विवरण नआएको सूचना अधिकारी शर्माले बताए ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिना भित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । अहिलेसम्म खर्च विवरण बुझाउने मध्ये पनि केही उमेदवारको विवरण अपुष्ट रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । खर्च विवरण बुझाएका उमेदवारमध्ये केहीले निर्वाचन कार्यालयले दिएको फारममा खर्च उल्लेख गरेको तर सोहीअनुसार बिल तथा भर्पाई भने उपलब्ध नगराएको कार्यालयले जनाएको छ ।
जिल्लामा विभिन्न तहका तीन सय ९१ पदका लागि एक हजार ४१ जना उमेदवार रहेका थिए । निर्वाचन आयोगले तोकिदिएको अधिकतम रकमभन्दा बढी खर्च भएकाले उमेदवारलाई विवरण बुझाउन कठिनाइ भएको अनुमान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्