Logo

बर्ड फ्लुका कारण नेपालमा पहिलो पटक एक जनाको ज्यान गयो

कुखुरालगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण नेपालमा पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बर्ड फ्लु संक्रमणका कारण काभ्रेका २१ वर्षीय एक युवकको ज्यान गएको जनाएको छ । नेपालमा बर्ड फ्लूबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो । गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर टेकूस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भर्ना भएका उनको ५ दिनपछि उपचारकै क्रममा मृत्यु भएको थियो । मन्त्रालयले उनको मृत्यु पछि ¥याल परिक्षणको नमूना जापान पठाएको थियो । जापानको इन्फ्लून्जा सेन्टरले बर्ड फ्लूबाटै उनको ज्यान गएको पुष्टि गरेको रिर्पोट यही बैशाख १७ गते नेपाल पठाएको मन्त्रालयकी सचिव पुष्पा चौधरीले जानकारी दिए ।
मन्त्रालयले बर्ड फ्लूको संक्रमणबाट एक जनाको ज्यान गएपनि आत्तिनुपर्ने अवस्था भने नरहेको बताएको छ । मन्त्रालयले पशुपंक्षीको मासु खादा राम्रोसँग पकाएर मात्रै खान तथा फार्ममा कार्यरत कामदार, किसान एवं मासु बिक्रेता र पकाउने व्यक्तिलाई सावधानी अपनाउन अपिल पनि गरेको छ ।
यता, बर्ड फ्लु संक्रमणका कारण कुखुरालगायत पंक्षीको मासु खान हिचकिचाउन नपर्ने चिकित्सकहरु बताउन्छन् । राम्ररी पकाएको मासु खाँदा बर्ड फ्लु संक्रमणले कुनै असर नगर्ने मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्