Logo

आधा दर्जन श्रम गन्तव्यसँग सम्झौताको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आधा दर्जन नयाँ तथा पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता (एमओयू) तथा श्रम सम्झदारी गर्ने तयारी गरेको छ । सरकारले पछिल्लो समय पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता नवीकरण गरेकोमा ४ वटा नयाँ गन्तव्यसँग श्रम सम्झौता र सम्झदारी गर्ने तयारी गरेको हो ।
नेपालले पछिल्लो १७ वर्षमा १० देशसँग श्रम सम्झौता तथा श्रम सम्झदारी गरेका मध्ये थप ४ वटा नयाँ श्रम गन्तव्य थपिने भएको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिकहरूको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि वढाइएको बताएका छन् । मन्त्री श्रेष्ठले संघीय संसद्को प्रतिनिधिसभा बैठकको मन्त्रालयगत छलफलमा साउदी अरेबिया तथा सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरब ईमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने कार्य प्रारम्भ गरिएको बताएका हुन् ।
यसमध्ये पनि नयाँ गन्तव्य मुलुकका रुपमा बेलायतसँग पहिलोपटक श्रम समझदारीको लागि मस्यौदा तयार भइसकेको मन्त्रालयले जनाएको छ । आगामी साता हस्ताक्षर गर्ने तयारी गरिएको छ । यो वर्ष बेलायतसहित माल्दिभ्स, सेसेल्स र इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने सम्बन्धि श्रम सम्झौताको तयारी भइरहेको जनाइएको छ । अहिले १ सय ७८ मुलुकमा नेपालीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर जान पाउँछन् भने १ सय ११ मुलुकमा संस्थागत रुपमा श्रम स्वीकृति लिएर जान पाइने छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, व्यवस्थित र आकर्षक बनाउन हाल कोरिया र इजरायलसँग सरकारी तबर (जीटूजी) माध्यमबाट कामदार पठाइने गरेकोमा बेलायतलगायत अन्य देशहरूसँग समेत सोही तवरवाट कामदार पठाउने प्रक्रिया अगाडि बढाइएको छ ।
सरकारले माल्दिभ्स, फ्रान्स, सेसेल्स तथा कतार लगायतका श्रम गन्तव्यसँग नेपाली श्रमिकमैत्री श्रम सम्झौता गर्ने गृहकार्य सुरु गरिसकेको छ । कोरोना संक्रमणका कारण आन्तरिक रोजगारीमा संकुचन आएपछि सरकारले वैकल्पिक रोजगारीका रुपमा केही श्रम गन्तव्यसँग गरिएको श्रम सम्झौता (एमओयू) लाई परिमार्जन गरी श्रमिकमैत्री बनाउने तयारी गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, ओमान, कोरिया लगायतका देशसँग गरेका समझदारी तथा सम्झौतालाई परिमार्जन तथा नवीकरणको तयारी गरेको जनाएको छ भने बेलायत, माल्दिभ्स, फ्रान्स, सेसेल्स लगायतका देशसँग नयाँ सम्झौता र समझदारी गर्ने तयारी गरेको छ ।
मन्त्रालयले पछिल्लो समय नयाँ गन्तव्य मुलुकका रुपमा माल्दिभ्स, फ्रान्स, सेसेल्स लगायत देशसँग नेपाली श्रमिक पठाउने सम्बन्धमा छलफल अघि बढाइएको जनाएको छ । यसअघि नै श्रम सम्झौता र श्रम सम्झदारी गरेर लामो समयदेखि रोकिएको दक्षिण कोरिया र इजरायलमा श्रमिक पठाउने कार्य सुरु गरिएको छ । बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने गृहकार्यको लागि यसको मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्