चिनी आयातमा थप तीन महिना प्रतिबन्ध

सरकारले चिनी आयातमा थप तीन महिना प्रतिबन्ध लगाएको छ । आयातित चिनीका कारण स्वदेशी चिनी बिक्री नभएको भन्दै उद्योगी व्यवसायीले गुनासो गरेपछि सरकारले चिनी आयातमा प्रतिबन्ध लगाएको थियो । यसअघि चिनी आयातमा प्रतिबन्ध लगाएसँगै बजारमा मूल्य अकासिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २५ गते चिनी उद्योगीले आफूलाई भुलभुलैयामा पारेर चिनी आयात नियन्त्रण गर्न प्रेरित गरेको बताएका थिए । तर, त्यसको एक सातापछि नै सरकारले तिनै उद्योगीको हितमा निर्णय लिएको पाइएको छ ।
सरकारले चिनीको आयातमाथि लगाएको परिमाणात्मक बन्देजको अवधि ३ महिना थपेको छ । गत भदौबाट चैतसम्म लगाइएको बन्देजलाई असार मसान्तसम्म विस्तार गरिएको हो ।
सरकारले एक वर्षमा एक लाख मेट्रिक टन चिनी मात्रै विदेशबाट आयात गर्न सकिने गरी वैशाखसम्मका लागि बन्देज लगाएको थियो । आयातको सस्तो चिनीले स्वदेशी उद्योगी मर्कामा परेको भन्दै सरकारले सो कदम चालेको थियो । २ बैशाखमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकालेको राजपत्र अनुसार निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी परिमाणात्मक बन्देजको अवधिलाई थप तीन महिना निरन्तरता दिने निर्णय भएको छ । मन्त्रिपरिषद्बाटै बन्देज अवधि बढाउने निर्णय भएको आपूर्ति मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।
परिमाणात्मक बन्देज लगाएको करिब आठ महिनापछि व्यवसायीविरुद्ध उत्रिएका प्रधानमन्त्री ओलीले आयातमा लगाइएको सीमाको समय थपिदिएका हुन् । यो निर्णयसँगै अब असार मसान्तसम्ममा कुनै पनि आयातकर्ताले विदेशबाट चिनी आयात गर्न पाउने छैनन् ।
सरकारले तोकेको सीमा बराबरको चिनी नेपाल आयात भइसकेपछि बन्देज लगाइएकाले प्रक्रिया अघि बढाएको साल्ट ट्रेडिङ कर्पोरेसनबाहेक निजी क्षेत्रका व्यवसायीले त्यसयता चिनी आयात गर्न पाएका छैनन् । सरकारले स्वदेशी चिनी उद्योगको संरक्षणका लागि भन्दै गत भदौमा चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएको निर्णय गरेको थियो ।