Logo

दुर्गमको शिक्षाका सारथि ‘लेजामी द लाप्राक’

“म लाप्राक पहिलो पटक सुनार र केहि फ्रान्सेली मित्रहरूसँग अप्रिल १९९८ मा आएको हुँ । पहाडको काखमा रहेको सुन्दर गाउँ, अतिथि सत्कार र यहाँका हसिला केटाकेटीमाथि मेरो मन बस्यो, जो स्कुल नियमित जान सक्दैन थिए । त्यसपछि हामीले गरिब १५ केटाकेटीलाई स्कुल पठाउने स्पोन्सर कार्यक्रम सुरु ग¥यौ,” गोरखाको दुर्गममा दुई दशकदेखि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको फ्रान्सेली संस्था लेजामी द लाप्राकका संस्थापक क्रिस्टिनोको भनाइ हो यो । लेजामी द लाप्राक फ्रेन्च शब्द हो, नेपालीमा यसको अर्थ हुन्छ, लाप्राकका साथीहरू । २० वर्ष अघि क्रिस्टिनोको अगुवाईमा स्थापित यो संस्थामा अहिले ७ शय फ्रान्सेली नागरिक आवद्ध छन् । सात समुद्र पारीका यि विदेशीलाई आफ्नो गाऊँसम्म तान्न नेपालकै पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त पर्यटन गाइड सुनार गुरुङको मुख्य भूमिका रह्यो । आफ्नो परीवारलाई दिएको सहयोग उनले समुदायमा पु¥याए ।
लाप्राकको मणिकामदेवि माध्यामिक विद्यालयमा १५ विद्यार्थीलाई स्पोन्सर गरेर शुरुवात भएको सहयोग कार्यक्रम अहिले सो क्षेत्र आसपासका विद्यालयमा पनि छरिएको छ । बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन लेजामी द लाप्राकले विद्यालयको भवन, प्रयोगशाला, छात्रावास निर्माण, शिक्षक तलब लगायत विद्यार्थीलाई स्टेशनरी, पोशाक वितरणका कार्यक्रम गर्दै आएको छ । गणेश हिमाल एसोसियसनसँगको सहकार्यमा संस्थाले लाप्राक, गुम्दा, लप्सिबोट, उहिया, बालुवा, मान्द्रे, बारपाक, केरौजा, रुन्चेत, माछाखोला, थालाजुङ र खोर्लामा विद्यालय निर्माणका लागि आर्थिक सहयोग पनि गरेको थियो । संस्थाले सन् २०१५ सम्म विभिन्न विद्यालयमा ५ करोड ९३ लाख ६९ हजार रुपैयाँ सहयोग गरेको थियो । फ्रान्समा च्यारीटी शो गरेर संकलन गरेको रकम उनीहरूले गणेश हिमाल मार्फत विद्यालयमा पठाउदै आएका छन् । तर अर्थ संकलनमा समस्या हुँदै गएपछि संस्था बन्द गरेर आफ्ना कार्यक्रम स्थानिय निकायलाई जिम्मा लगाउने सोच बनाउँदा गोरखा भूकम्प गयो । सबै संरचना तहसनहस भए । लगत्तै संस्थाले उपलब्ध गराएको ५० लाख ७० हजार रुपैयाँ बराबरको सहयोगले स्थानियलाई राहत वितरण लगायतका काम गरेको गणेश हिमाल एसोसियसनले जनाएको छ ।
ध्वस्त लाप्राकको मणीकाम देवी, गण्डकी मावि आर्खेत, पार्वती प्रावि लगायतका विद्यालयमा अस्थायी टहरा तथा फर्निचरको ब्यबस्था र हिमालय मावि बारपाकमा छात्राबास मर्मत गरेको एसोसियसनका अध्यक्ष सुनार गुरुङले बताए । हाल संस्थाको आर्थिक सहयोगमा धार्चे गाउँपालिकामा चार विद्यालयको पक्की भवन यसै आर्थिक बर्ष निमाण हुँदैछ । मणीकामदेवी मावि, सूर्योदय मावि, जनजागृति आधारभूत विद्यालय र सातकन्या देवी माविमा ३३ कोठाको ११ वटा पक्की भवन निर्माण भैरहेको एसोसिएसनका अध्यक्ष सुनार गुरुङले बताए । “फ्रान्सेली दाता हरेक बर्ष नेपाल आउनुहुन्छ,” उनले भने, “सहयोग गरेको विद्यालयमा अबलोकन गर्नुहुन्छ, स्थानियसँग छलफल गर्नुहुन्छ र योजना छनोट गरी सहयोगको घोषणा गर्नुहुन्छ ।”
सुनार र क्रिस्टिनोको भेटले दुर्गमका बालबालिकाको भविष्य निर्माणमा सघाएको लाप्राकका मारसिंह गुरुङले बताए । “स्कुलको तहबृद्धिदेखि लुगा, किताब कापी सबै सहयोग पाएका छन्” उनले भने “कुनाकाप्चामा सरकारको आँखा पुगेको छैन, लेजामीको सहयोगले बालबालिका पढ्न पाएका छन् ।” दुई दशकदेखि निरन्तर सहयोग गरेको संस्था अब ५ बर्षमा विघटन गर्ने निर्णय गरेको संस्थापक क्रिस्टिनले जानकारी दिए ।“सन् २०२४ मा हाम्रो सबै उदेश्य पुरा हुन्छ” उनले भने “लामो समयसम्म सहयोग गरीरहँदा सहयोग पाउनेले आफु केहि नगरी सहयोगमा मात्र भर पर्न सक्छन् । स्थानीयलाई बढी जिम्मेवार बनाउनुपर्छ । उनीहरूले हामीलाई प्रतिस्थापन गरेर विद्यालय राम्रोसँग ब्यबस्थापन गर्न सकुन् ।”
संस्थाले सहयोग गरेको २० औं बर्षको अबसरमा लाप्राकको मणिकामदेवी माध्यामिक विद्यालयमा शनिवार एक कार्यक्रमको आयोजना गरि खुसीयाली मनाईएको छ । त्यहि खुसीयालीमा क्रिस्टिनोले भने “मैले स्पोन्सर गरेको धनबहादुर गुरुङ यहि स्कुलको प्रधानाध्यापकमा पाउँदा धेरै खुसी छु । यसलाई मैले हाम्रो उपलब्धी सम्झिएको छु” उनले भने, “शिक्षा अत्यन्त जरुरी छ । यहाँका बच्चाहरू लाप्राकका भविष्य हुन् । हामीले निरन्तर उनीहरूलाई सहयोग गरेका छौं । खुसी र गर्व पनि छ । उनीहरूको भविष्य उज्ज्वल हुनेछ, जिवन सरल हुनेछ र आशाहरू अनगिन्ति हुनेछन् भन्नेमा विश्वस्त छौं ।”

प्रतिक्रिया दिनुहोस्