संसद बैठकपछि नेताहरूको प्रतिक्रिया «

संसद बैठकपछि नेताहरूको प्रतिक्रिया

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरे ।
मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सम्मानित नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बताए । उनले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको बताए । आगामी दिनमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ । उनले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, त्यो त्यस्तो उत्साहजनक छैन । गठबन्धन त अब जे उद्देश्यको निम्ति बनेको थियो त्यो उद्देश्य पूर्ति हुँदै गएको छ । गठबन्धनको बारेमा अब कसरी जान्छ भन्ने बारेमा हामी छलफल गरेर टुंगो गर्छौ ।’
उनले आगामी बजेट जनमुखी हुनु पर्ने बताए । आगामी बजेटमा कृषि, औद्योगिकिकरण, पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यलाई केन्दबिन्दुमा राखिनुपर्ने उनले बताए । उनले भने, ‘आगामी बजेट जनमुखी आउनुपर्छ । देशको विकासलाई केन्द्रबिन्दुमा राखेर आउनुपर्छ । कृषि क्षेत्रलाई विकास गर्ने कुराहरूलाई केन्द्रबिन्दुमा राखेर आउनुपर्छ । देशलाई औद्योगिकरण गर्ने दिशामा केन्द्रीत भएर आउनुपर्छ । कृषिको विकास, औद्योगिकरणको विकास, पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यको विकास, यातायातलाई व्यापक बनाउने विकास यि कुराहरूलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्छ ।’
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका सांसद डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको बताए । आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उहाँले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको बताए । उनले गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको बताए । उनले भने, ‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, यो स्थानीय तहका मुद्दाहरू, स्थानीय जनतालाई पार्टी नेताहरूलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुंगो लाग्ने विषय यो होइन । त्यसैले हामीले जुन अलिकति अभ्यास गर्न खोजियो त्यो सफल भएन । केही दलहरूलाई खासगरी कांग्रेस र माओवादीलाई उनहरूले अलिकति सेटिङ गर्नुभयो केही लाभ भयो । तर त्यो पनि उहाँहरू आपसमा तल मिलेजस्तो देखिएन । जे सिद्धान्त अपनाइएको थियो, त्यो कसैले पनि पालना गरेन । त्यस अर्थमा पनि स्थानीय चुनावमा गठबन्धन गर्नु उपयुक्त छैन भन्ने मेरो राय हो त्यसमा म अहिले पनि दृढ छ ।’
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताउनुभयो । निर्वाचनमा धाँधली हुँदा समेत निर्वाचन आयोग मुग्दर्शक भएर बसेको उनले आरोप लगाए । निर्वाचन निष्पक्ष र स्वतन्त्र हुन नसकेको उनले जिकिर गरे । उनले भने, ‘यति धाँधली भएको छ, गठबन्धनको चुनावले गर्दाखेरी । निर्वाचन आयोग मुग्दर्शक भएर बसेको छ । यो सम्पूर्ण कारणले तलमाथि परिणाम त परि नै राखेको छ । जुन किसिमको हामीले सोचेका थियौं निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित त्यो देखिएन । पैसाको यति प्रभाव भयो, मलाई लाग्छकि भोकमरीको अवस्थामा पाँच/सात दिन, एक महिना मान्छेले खान पायो ।’
उनले निर्वाचनमा पैसाको व्यापक प्रभाव परेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्