पूर्व प्रधानन्यायाधीशद्वारा मतदान केन्द्र निरीक्षण «

पूर्व प्रधानन्यायाधीशद्वारा मतदान केन्द्र निरीक्षण

पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टोलीले मतदान केन्द्रको निरीक्षण गरेको छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीसहित पूर्वआयुक्त ईला शर्मासहितको पर्यवेक्षण टोलीले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो । मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिइन् । उनले मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टै ठाउँ बनाएर मतदान गर्ने व्यवस्था मिलाएको पनि बताइन् । उनले मतदानस्थलमा पानी परेमा ओत लाग्ने गरी लाइनको व्यवस्था मिलाएर मतदान केन्द्रलाई व्यवस्थित बनाएको बताइन् ।
स्थानीय तहको निर्वाचन आज (शुक्रबार) देशभर एकसाथ हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा र मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिरहेको छ । आजसम्म स्थानीय तहको निर्वाचनका लागि सबै तयारी सक्ने र भयरहीत वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदान दिन जाँदा मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्ज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ । त्यस्तै आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरूले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्