आयात नियन्त्रणको अस्पष्टताले अन्योल «

आयात नियन्त्रणको अस्पष्टताले अन्योल

विदेशी मुद्रा सञ्चितीमा कमी आएसँगै सरकारले लागू गरेको आयात नियन्त्रणसम्बन्धी व्याख्या फरकफरक तरिकाको हुँदा व्यवसायीले सरकारलाई गुहार्न थालेका छन् । आयात नियन्त्रणका लागि लिइएको नीति र निर्देशिकामा उल्लेख भएभन्दा फरक रुपमा भन्सारले कडाइ गर्न लागेको उनीहरुको दाबी छ ।
नेपाल रत्न तथा आभूषण संघले राजपत्रमा प्रकाशित सूचनाविपरीत भन्सार कार्यालयले औद्योगिक कच्चा पदार्थसमेत रोकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । वैशाख १३ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार पैठारीमा पूर्ण बन्देज लगाइएको वस्तुको सूचीमा हिरा (कच्चा पदार्थ बाहेक) भन्ने स्पष्टताका साथ उल्लेख भए पनि भन्सार कार्यालयले सबै खालको हिरा भित्र्याउन रोक लगाएको संघले जनाएको छ । संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले औद्योगिक कच्चा पदार्थका रुपमा हिरा भित्र्याउन पाउने सूचना राजपत्रमा प्रकाशित भइसकेको र सोही बमोजिम स्पष्टताका लागि सरकारसँग आग्रह गरिएको जानकारी दिइन् । “सरकारी निकायहरुबीच समन्वयको कमी देखिएपछि हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा स्पष्टताका लागि लिखित आग्रह गरेका छौं,” अध्यक्ष श्रेष्ठले भनिन्, “मन्त्रालयका अधिकारीहरुमा सकारात्मकता पाएका छौं र औद्योगिक कच्चा पदार्थको रुपमा आउने हिराको सुलभ आयातका लागि चाँडै नै बाटो खुल्ने आशा गरेका छौं ।”
यद्यपि विदेशी मुद्रा सञ्चितीको व्यवस्थापनका लािग आयात नियन्त्रणको नीति लिए पनि कच्चा पदार्थ र तयारी सामानका बीचमा अस्पष्तता हुँदा अस्पष्टता देखिन्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ४४ लाख ८२ हजार रुपैयाँ बराबरको हिरा आयात भएको छ । सरकारले औद्योगिक कच्चा पदार्थका लागि हिरा आयात सूचीमा समावेश गरेको दुई एचएस कोड अनुसार यो परिमाणमा हिरा भित्रिएको हो भने उक्त अवधिमा हिरासहित अन्य गरगहनाको निकासी परिमाण ६० करोड नाघेको छ । कच्चा पदार्थको अभावबीच निर्यात बढेको उल्लेख गर्दै नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवद्र्धन समिति सभापति मनिषलाल प्रधान भन्छन्, “हामीलाई सुन, चाँदी हिरा तथा स्टोनजस्ता कच्चा पदार्थ पर्याप्त उपलब्ध गराउने हो भने निकासीमा यो क्षेत्र निकै अगाडि आउन सक्छ तर स्वदेशमा कच्चा पदार्थ नपाउने र आयातमा कडाइका कारण यो क्षेत्र खुम्चेर बस्न बाध्य छ ।” नेपाली गरगहनाको मुख्य बजार हङकङ, सिंगापुर, बेलायत, दुबई, अमेरिका जस्ता मुलुक कोभिडको महामारीबाट बाहिर आइसकेको र ती मुलुकमा माग पनि रहेको व्यवसायीको भनाइ छ । विगतदेखि नै ‘ड्युटी ड्र ब्याक’लगायतका सुविधाका लागि लबिङ गरिरहे पनि सरकारले आश्वासन मात्र दिएको व्यवसायीहरुको भनाइ छ ।
केन्द्रीय बैंकले चाँदी आयातमा यसअघि नै कोटा तोकेपछि चाँदीजन्य सामग्रीको निकासीमा पनि प्रतिकूल प्रभाव परिरहेको छ । व्यवसायीको चर्को दबाबपछि सुन आयात भने केही खुकुलो भएको छ । नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा प्रतीतपत्र (एलसी) मार्जिन रोकेको नेपाल बैंकर्स संघले झन्डै एक महिनापछि एकैपटक दश दिनको कोटा बराबर अर्थात एक सय केजी सुन आयात गर्न लागेको छ । पछिल्लोपटक ग्लोबल आइएमई बैंक र प्रभु बैंकले ५०-५० किलो सुन आयात गरेका छन् । सुनको वितरणसम्बन्धी व्यवस्था भने सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल रत्न तथा आभूषण संघको सिफारिसका आधारमा हुँदै आएको छ ।
यता, आयात उच्च वृद्धि भएर विदेशी मुद्रा सञ्चिति घटेका कारण सरकारले विलासी वस्तु मात्र होइन, विभिन्न उपभोग्य वस्तुको आयातमा समेत प्रतिबन्ध लगाएकोमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि आयात रोक्दा बजार मूल्य बढ्ने र आर्थिक वृद्धिमा चाप पर्ने बताएको छ । त्यसैले आईएमएफले हालको आर्थिक समस्या समाधान गर्न ब्याजदर बढाएर मौद्रिक नीतिलाई थप कडाइ गर्न सरकारलाई सुझाव पनि दिएको छ । आईएमएफले अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरूलाई भेटेर आयात प्रतिबन्धले मात्र अहिलेको अवस्थामा अपेक्षित नतिजा नदिने भन्दै कोरोना कहरका बेला बैंकिङ प्रणालीलाई दिइएको राहत घटाउँदै लैजानुपर्ने पनि सुझाव दिएको छ ।
नेपालले १० वटा वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएकोमा आयात बन्देजको तुलनामा ब्याजदर बढाएर आर्थिक समस्या सम्बोधन गर्न सकिने आईएमएफको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्