विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्छाैं : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताएका छन् ।
पाँच दलीय गठबन्धनद्वारा शनिनबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गरी पारित गरिने बताए । ‘नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले खोज्यौँ। तर एमालेले गर्दै आएको संसद् अवरुद्धका कारण विधेयक पेस गर्न सकेका छैनौँ,’ उनले भने । यद्यपि अब बस्ने संसद्को बैठकमा विधेयक टेबल गरी पारित गरिने उनको भनाइ थियो । पाँच दलीय गठबन्धनलाई जोगाएर लैजानु अहिलेको आवश्यकता रहेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री देउवाले पार्टीको निर्देशन र गठबन्धनविरुद्ध जानेलाई तत्काल कारबाही गरिने बताए ।
‘पार्टीका नेता कार्यकर्ता हामी सबै अनुशासनमा बस्नुपर्छ । पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने, गठबन्धनलाई हराउन मद्दत गर्ने कुरा सह्य हुँदैन, त्यस्तालाई तत्काल कारबाही गर्छौँ,’ उनले भने ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक आवश्यकताका आधारमा गठबन्धन बनेकाले गठबन्धलाई मजबुत बनाएर लैजान सकिएमात्र मुलुकमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताए । तीनै तहको निर्वाचनमार्फत जनताको तागत लिई मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धिको नयाँ युगको थालनी गर्ने सोचका साथ पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको रक्षा गर्न, गणतन्त्रको सुदृढीकरणका लागि र जनताको इच्छा, आकांक्षा पूरा गर्नका निम्ति तीनै तहको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
सभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगामी शक्तिविरुद्ध गठबन्धन भएकाले गठबन्धनलाई इमान्दारितापूर्वक जिताउनुपर्ने बताउए ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि र प्रतिगामीका विरुद्ध गठबन्धनलाई निरन्तरता दिनुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष यादवले गठबन्धन पक्षमा देशव्यापी रुपमा जनलहर बढ्दै गएको दाबीसमेत गरे ।