Logo

अमेरिकाद्वारा नेपाललाई करिब ८० अर्ब अनुदान

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे ।
निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने यो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे ।
अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताए ।
अर्थ मन्त्रालयका अनुसार यो सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । सहायता रकमलाई सरकारको बजेट प्रणाली (रातो पुस्तक)मा अभिलेख गरेर पारदर्शी रूपमा कार्यान्वयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्