Logo

सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन जोड


सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन सरोकारवालाले जोड दिएका छन् । अन्तर्राष्ट्रिय गल्र्स इन आइसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।
दिवसको अवसरमा डुब्लुआईआईटीले ‘सेफर इन्टरनेट एक्सेस फर गल्र्स’ सम्मेलन आयोजना गरेको हो । सुरक्षित इन्टरनेट पहुँचको नारामा बोकेर सम्पन्न भएको कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा आवद्ध करिब ५० महिला सहभागी थिए ।
सूचना प्रविधि क्षेत्रमा स्थापित अब्बल महिलाले सुरक्षित इन्टरनेट पहुँचका विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । जसमा साइबर सुरक्षा कम्पनी मुनाल टेक प्रालिकी संस्थापक सीईओ मोना न्याँचो, एनसेलको इन्फर्मेसन सेक्युरिटी यूनिट हेड यास्मिन भट्टराई र नेपाल प्रहरीकी प्राविधिक तथा इन्जिनियर दिपा भट्टराईले साइबर सुरक्षाका विविध आयाम, थ्रेट र जनचेतनामुलक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी २०२० की आईसीटी आईकन प्राध्यापक तिमिला यामी थापाले आईसीटी क्षेत्रको आफ्नो यात्रा अनुभव सुनाएकी थिइन् । कार्यक्रममा साइबर सुरक्षामै आधारित रहेर एउटा प्यानल छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो । उक्त प्यानलमा साइबर सेक्युरिटी कम्पनी ईमिनेन्स वेजकी विजनेस डेभलपमेन्ट हेड निशा उपाध्याय, नेपाल बैंककी इन्फर्मेसन सेक्युरिटी अफिसर आईएसओ बन्दना शर्मा, नेपाल टेलिकमकी निर्देशक विनिता श्रेष्ठ र साइबर सुरक्षा सेवाप्रदायक कम्पनी लगपोइन्टकी सेक्युरिटी अनुसन्धानदाता शुस्मा शर्मा रहेका थिए ।
क्यान महासंघकी वरिष्ठ उपाध्यक्ष तथा डब्लुआईआईटीकी कार्यकारी सदस्य रत्न तारा वैद्यले मध्यस्तता गरेकी थिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल उपस्थित थिए । सचिव अर्यालले आईसीटी क्षेत्रमा महिलाको सहभागिता बढाउन र साइबर सुरक्षा कायम गर्न आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेत व्यवस्था गर्ने बताए । त्यसका लागि आईसीटी क्षेत्रका विज्ञ महिलाहरुको परामर्शको खाँचो मन्त्रालयलाई सदैव रहेको उनले जानकारी गराए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आईसीटीमुलक कार्यक्रमहरु शहर केन्द्रित भएको भन्दै उपत्यका बाहिरका क्षेत्रमा समेत यस्ता किसिमका कार्यक्रम पु-याउन सुझाव दिँदै प्राधिकरण सहयोगका लागि तयार रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा डब्लुआइआईटीले देशव्यापीरुपमा आयोजना गरेको ग्राफिक्स डिजाइन प्रत्योगिताका तीन विजेतालाई समेत सम्मान पुरस्कार प्रदान गरेको थियो । जसमा प्रथम हुने सेन्ट जेभियर्सकी सरिता शाक्यले १० हजार, दोस्रो हुने इस्लिङटन कलेजकी स्तुती श्रेष्ठले ५ हजार र तेस्रो हुने अरनिको उच्च माध्यमिक विद्यालयकी प्रतीक्षा प्रधानले ३ हजार रुपैयाँ राशीको पुरस्कार र सम्मानपत्र प्राप्त गरेका थिए ।
साथै डब्लुआईआईटीले १८ वैशाखमा साइबर सुरक्षा क्षेत्रमा आवद्ध महिलाका लागि बगभीसँगको सहकार्यमा ईस्लिङ्टन कलेजमा लाइभ ह्याकाथन पनि आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्