Logo

पार्टीभित्र अन्तर्घात गर्नेलाई कारवाही हुन्छ

पोेखरा-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले देशमा भ्रष्टाचार गरी जनतालाई आर्थिक विकास र समृद्धिको नारा मात्र बाँडेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको तेश्रो राष्ट्रिय सम्मेलनको बिहीबार पोखरामा उद्घाटन गर्दै देउवाले अहिलेको सरकारले जनतालाई एउटा नारा दिँदै हरेक क्षेत्रमा भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी एउटा पनि राम्रो काम गर्न नसकेको बताए । उनले भने, “अहिलेको भ्रष्टाचार, महँगी, हत्याहिंसा विरुद्ध हामीले वैशाखदेखि आन्दोलन सुरु गर्ने भएका छौं, त्यसको लागि सबै नेता तथा कार्यकर्ताले तयारी सुरु गर्नुहोला ।” दुई तिहाइको कम्युनिष्ट सरकारले सर्वसत्तावाद लाद्न सेना र विभिन्न आयोगमा समेत हस्तक्षेप गरेको सभापति देउवाको भनाइ थियो । वरिष्ठ नेतादेखि केन्द्रीय सदस्यहरुको पार्टीभित्र रहेको गुटउपगुट अन्त्य गरी पार्टी एकीकरण गर्र्न आग्रह गर्दै सभापति देउवाले पार्टीभित्र अन्तर्घात गर्नेउपर कारवाही गर्ने बताए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति नभई समृद्धि हासिल गर्न नसकिने भन्ने विषयमा बोलेको भन्दै त्यसको विषयमा प्रष्ट पार्न आग्रह गरे । उनले भने, “दुई तिहाइको सरकारले राष्ट्रिय सहमति भनेको के हो मैले बुझिन, कि कांग्रेस सरकारमा आवश्यक भएको भन्नुभएको हो ? यस विषयमा प्रचण्डले प्रष्ट पार्नुप¥यो ।” समृद्धिको लागि अहिलेको सरकारले सिन्को पनि नभाँचेको उनले आरोप लगाए । उनले भने, “अहिलेको सरकारले समृद्धिको सिन्को पनि भाँचेको छैन, खाली उद्घाटन गर्न मात्र मन्त्रीहरु दौडिएको देखिएकोे छ । शिलान्यास गरेको भने कुनै कुरा सुनिएको छैन ।” आफू गण्डकी प्रदेशकै भएको बताउँदै नेता पौडेलले गण्डकी प्रदेशका मुख्य मन्त्रीले आफ्नै जिल्लामा पनि पहिलाका सडकका योजनालाई पूरा गर्न नसकेको सडक अलपत्र परेको जनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोगजस्ता संवेदशनशिल क्षेत्रमा केपी शर्मा ओलीका मान्छेहरु रहँदा देशमा अधिनायकवाद हावी हुने उनको भनाइ थियो । महामन्त्री शशांक कोइरालालाई पार्टीभित्रको कुरा पार्टी कार्यालयमै गर्न वरिष्ठ नेता पौडेलले आग्रह गरे ।
कांग्रेसका महामन्त्री डा. कोइरालाले अहिलेको दुई तिहाइको सरकार भनेको ठूलो कुरा भएको बताउँदै संविधानसमेत संशोधन गर्न सक्ने भएकोले कांगे्रस गम्भिर हुनुपर्नेमा जोड दिए । सरकारले समृद्धिको कुरा गरेपनि हालसम्म कुनै काम गर्न नसकेको दाबी गर्दै उनले आगामी ४ वर्षमा पनि कुनै चमत्कार गर्न सम्भव नभएको जनाए । कांग्रेस एक ढिक्का भएर अघि बढे अबको निर्वाचनमा पहिलो पार्टी हुने उनको भनाइ थियो ।
उक्त सम्मेलनमा ६० भन्दा बढी जिल्लाका कोषाध्यक्षहरुको सहभागिता भएको समितिका कोषाध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । आर्थिक श्रोतलाई सृदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन, विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न पार्टीमार्फत् सरकारलाई दबाब दिने, महँगी, हत्या, हिंसा, बलत्कार, भ्रष्टाचारलगायतको मुद्दालाई अघि बढाउन सरकारविरुद्ध विरोध गर्न सम्मेलन केन्द्रित हुने समितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्