Logo

बागी उम्मेदवारको पक्षमा प्रचार गर्नेलाई कारबाही हुँदैन

नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिने व्यक्ति पार्टी विधान अनुसार स्वतः पार्टीबाट निष्काशित हुने भएपनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन नगरिने बताए ।
उनले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरुले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकालेर प्रचारमा गएमा बिधानको व्यवस्था अनुसार नहुने उल्लेख गरे । उनले पार्टी र गठबन्धनको निर्णय अनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारहरुलाई आग्रह गरे ।
प्रवक्ता महतले स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको बताए । उनले कतिपय ठाउँमा स्थानीय अवस्थाका अनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आम रुपमा हेर्दा गठबन्धन सफल भएको बताए । उनले बागी उम्मेदवार पार्टी निर्णयको पक्षमा आउने विश्वास व्यक्त गरे ।
प्रवक्ता महतले पछिल्लो रिपोर्ट अनुसार नेपाली कांग्रेसको देशभरमा ३० हजार ६२८ जनाको उम्मेदवारी परेको बताए । जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्