Logo

जीडीपीमा शिक्षाको योगदान ८.१ प्रतिशत

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शिक्षा क्षेत्रले ८ प्रतिशतभन्दा बढी योगदान दिएको तथ्यांक केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार जीडीपीमा शिक्षाको योगदान ८.१ प्रतिशत अनुमान गरिएको छ ।
शिक्षा क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७८-०७९ मा कुल मूल्य अभिवृद्धि (जीभीए) ४.०८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरिएको छ । निजी तथा गैरसरकारी क्षेत्रहरूबाट सञ्चालित शैक्षिक गतिविधिमा भएको परिवर्तित सूचकको आधारमा तयार गरिएको अनुमानअनुसार पछिल्लो वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान गरिएको छ । मध्यवर्ती उपयोग कम भएको तर आयमा बढोत्तरी भएका कारण निजी शैक्षिक संस्थाहरूको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धिदर बढेको हो । यसमा विद्यार्थी संख्या उल्लेख्यरूपमा नबढेका कारण शिक्षा क्षेत्रको मूल्य अभिवृद्धि पनि सामान्य रूपमा मात्र वृद्धि भएको देखिएको जनाइएको छ ।
यसैगरी स्वास्थ्य तथा सामाजिक कार्यमा चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सामाजिक क्षेत्रले १.७९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रतर्फ आर्थिक वर्ष २०७७-०७८ को तुलनामा चालू आर्थिक वर्षमा ६.९१ प्रतिशतले कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । स्वास्थ्य सेवाको पहुँच विस्तारका साथ साथै मानिसहरूमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि हुनु तथा निजी स्वास्थ्य संस्थाहरूको आयमा पनि क्रमिक रूपमा वृद्धि हुनुजस्ता कारणले यस प्रकारको वृद्धि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्