Logo

नार्पाभुमीका उपाध्यक्षमा एकल उम्मेदारी

मनाङमा २ सय ९ जना उम्मेदवार


लमजुङ -स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २ सय ९ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका जनप्रतिनिधिमा २ सय ९ जनाको उमेदवारी परेको हो ।
चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागिमात्रै ९ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।
२८ वडा रहेको मनाङमा मनाङका वडाअध्यक्षका लागि ४८ जनाको उमेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलित महिला सदस्यका लागि २२ जना र खुला सदस्यका लागि ८२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २६ जना, चामे गाउँपालिकामा ४२ जनाको उमेदवारी परेको छ । नासों गाउँपालिकामा ६८ जनाको उमेदवारी परेको छ भने ङिस्याङ गाउँपालिकामा ७३ जनाको उमेदवारी परेको छ ।
मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामाको एकल उम्मेदवारी परेको छ । निर्विरोध लामा यसअघि वडा नं. २ को अध्यक्ष थिए । एमालेले अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उनले उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्षमा कांग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामा र स्वतन्त्र उम्मेदार कृष्ण लामाले पनि उम्मेदवारी दिएका छन् ।
नार्पाभूमिको वडा नं. १ मा कांग्रेसका फुर्वा ठेले लामाको एकल उम्मेदारी परेको छ । नेकपा एमाले समर्थित तर, स्वतन्त्रबाट वडा नं. ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेजे लामाको मात्र मनोनयन दर्ता भएको छ ।
सो बाहेक मनाङको चामे गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेका खड्कजंग गुरुङ सहित एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विकको एकल उम्मेदारी परेको छ । यस्तै वडा नं. २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट एकल उम्मेदारी परेको छ ।
यस्तै नासो गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा नं. ५ को वडाअध्यक्षमा थुतेन लामा, वडा नं. ६ को अध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नं. ७ को वडाअध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदारी परेको छ । नासोङमा वडा नं. ५ को काँग्रेसको दुईजना वडा सदस्य, एक एमाले र एक स्वतन्त्र सदस्य समेतको एकल उम्मेदारी परेको छ । नासोङको वडा न. ६ र ७ मा पुरै सेट नेपाली काँग्रेसबाट निर्विरोध भएका हुन् । वडा नं. ६ मा दलित महिला सदस्य नहुँदा वडा कार्यसमितिका लागि चारजनाको मात्रै उम्मेदारी परेको थियो ।
त्यसैगरी निस्याङ गाउँपालिकाको वडा नं. ३ को वडा अध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नं. ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङ वडा अध्यक्षमा एकल उम्मेदारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्