Logo

मन्त्री–प्रधानमन्त्री बन्ने पालो अब युवाको : देउवा

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ५३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका हुन् ।
‘गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौं, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन । निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने ।
सभापति देउवाले जबसम्म गाउँ र स्कुल तहमा नेविसंघ गठन हुन सक्दैन, तबसम्म नेविसंघ बलियो हुन नसक्ने बताए । ‘नेविसंघको संगठन देशभरका कलेज र क्याम्पससम्म फैलिएको छ, तरपनि हामी किन स्ववियु निर्वाचनमा हारिरहेका छौँ, यसबारे नेविसंघ गम्भीर हुनुपर्छ । स्कुल जित्न सकेमात्र कलेज र क्याम्पसमा जित्न सक्छौँ,’ उनले भने । गाउँगाउँ र स्कूल स्कूलसम्म नेविसंघ बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।
सभापति देउवाले पार्टीभित्र भागवण्डामा झगडा हुने भएकाले नेविसंघको कार्यसमिति विस्तारमा समस्या हुने गरेको बताए । उनले आफू नेविसंघको अध्यक्ष भएर प्रधानमन्त्री भएको बताउँदै अब मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने पालो युवा विद्यार्थीको भएको बताए । ‘राजनीति गरेर मात्र अब चल्दैन पढाइ समेतमा योग्य हुनुपर्छ,’ सभापति देउवाले भने । कांग्रेस एक भएर अगाडि बढे आगामी निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दावी समेत उनले गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताए । उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर्तन र संविधान रक्षाका लागि गठबन्धन भएको स्पष्ट पारे ।
‘अहिलेको गठबन्धन जो छ यो सत्ताका लागि होइन, व्यवस्थाका लागि गठबन्धन हो, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र नभई लोकतन्त्र र नेपालको परिवर्तनलाई बचाउनका लागि भएको हो, नेपाललाई अग्रगामी रुपान्तरण गर्नका लागि यो गठबन्धन भएको हो,’ उनले भने । गठबन्धनलाई आफ्नो हैसियतअनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । वरिष्ठ नेता पौडेलले राजा महेन्द्रले संसद् भंग गरेर तानाशाही व्यवस्था लागू गरेको अवस्थामा नेविसंघ जन्मेको भन्दै लोकतन्त्रको बाटोमा नेपाललाई अगाडि बढाउन नेविसंघको ठूलो भूमिका रहेको बताए ।
कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिक इतिहासमा नेविसंघको ठूलो भूमिका रहेको बताउँदै नेविसंघलाई आगामी दिनमा विद्यार्थीको अभिभावक संगठनका रुपमा अगाडि बढाउन वर्तमान नेतृत्व लाग्नुपर्नेमा जोड दिए । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि गठबन्धन सरकार बनेको बताउँदै आवश्यकताका आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुनुपर्ने उल्लेख गरे । नेविसंघलाई आगामी दिनमा सशक्त बनाएर अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले नेविसंघ बलियो भएमात्र कांग्रेस बलियो हुने भन्दै नेविसंघलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।
कांग्रेस प्रवक्ता एवम् केन्द्रीय सदस्य प्रकाशशरण महतले इतिहास बोकेको संगठन नेविसंघभित्र लोकतान्त्रिक विधि, संस्कार र पद्धति हुनुपर्ने बताए । महतले नेकपा सरकारले दुईपटक सरकार सञ्चालन गर्न नसकेर संसद् विघटन गरेकाले कांग्रेसले सरकारको नेतृत्व लिन बाध्य हुनुपरेको बताए । कांग्रेस केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेविसंघको ठूलो भूमिका रहेको बताए । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु समाजवादीका अध्यक्ष सुदेश पराजुली लगायतले लोकतन्त्र र संविधानको रक्षा गर्दै विद्यार्थी आन्दोलनमा देखिएका चुनौती चिर्न विद्यार्थी संगठनहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्