औद्योगिक वस्तुको आयात घट्यो

चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ । तर, यसमा औद्योगिक वस्तुको आयात घटेको र उपभोग्य वस्तुको बढेको तथ्यांक छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सिमेन्ट आयात सबैभन्दा बढी ८४ प्रतिशतले घटेको छ । यस्तै, एमएस बिलेट आयातमा २४ प्रतिशतले कमी आएको छ भने सुगर मोलासिस आयात पनि ७२.४ प्रतिशतले घटेको छ । फागुन मसान्तसम्ममा कच्चा कटन आयातमा १७.९ प्रतिशतले कमी आएको र उपभोग्य वस्तुतर्फ नुन र चिया आयातमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।
फागुनसम्ममा ५६ करोड २५ लाख रुपैयाँ बराबरको सिमेन्ट आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५२ करोड ६१ लाख रुपैयँको सिमेन्ट आयात भएको थियो । एमएस बिलेटतर्फ फागुनसम्म ३३ अर्ब ७७ करोड ४१ लाख रुपैयाँको आयात भएको छ । गत आवको फागुनसम्म ४४ अर्ब ४५ करोड ८० लाख रुपैयाँको एमएस बिलेट आयात भएको तथ्यांक छ । यस्तै गत आवको फागुनसम्म ७४ करोड २४ लाख रुपैयाँ बराबरको सुगर मोलासिस आयात भएकोमा गत फागुनसम्म भने २० करोड ४६ लाख रुपैयाँको भएको छ ।
सिमेन्ट चुनढुंगा, एमएस बिलेट, सुगर मोलासिस लगायतका वस्तु औद्योगिक कच्चा पदार्थ हुन् । पछिल्ला महिनाहरुमा अन्तर्राष्ट्रिय रुपमा बढेको द्वन्द्व तथा आर्थिक संकट बढ्दै गएपछि उद्योगधन्दा राम्ररी चल्न नसक्दा औद्योगिक कच्चा पदार्थको आयात समेत घट्दै गएको तथ्यांकले देखाएको छ । यद्यपि, सरकारले एमएस बिलेटमा भन्सार बढाएको र कच्चा फलाम ल्याएर प्रशोधन गर्ने उद्योगलाई सहुलियत दिएका कारण यस्ता वस्तुको आयात भने २०९.२ प्रतिशतले बढेको छ । गत आवमा ४ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको स्टिल उद्योगको फलामजन्य कच्चा पदार्थ आयात भएकोमा चालू आवको फागुनसम्ममा १५ अर्ब २६ करोड ४८ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
केन्द्रीय बैंकका अनुसार भारतबाट भित्रिने टेलिकम्युनिकेसन उपकरण आयातमा ३१ प्रतिशत र चीनबाट आउने यस्ता उपकरणमा २३.७ प्रतिशतको वृद्धि भएको छ । अन्तर्राष्ट्रिय रुपमै टेलिकम्युनिकेसनको बजार बढ्दै गएको छ । भ्वाइस सेवा भन्दा डेटा बजार अबको भविष्य भन्दै कम्पनीहरूले डेटा सेवामा ध्यान दिएका छन् भने सम्वन्धित वस्तुहरूको आयात पनि बढेको छ ।
तेस्रो मुलुकबाट आउने कोइला आयात भने २८ प्रतिशतले बढेको छ । भारतबाट आउने कोइला आयात ५२ प्रतिशतले र कोल्ड्रेड सिट आयात २३.५ प्रतिशतले बढेको छ । रुस र युक्रेन युद्धको असरले इन्धनको मूल्य अकासिएको छ । इन्धनको मूल्यले चक्रिय असर पर्ने भएकाले उद्योगदेखि समग्र अर्थतन्त्रमा मुद्रास्फीतिको चाप बढ्ने देखिएको छ ।