एमालेद्वारा रेसुङ्गा नगरप्रमुखको उम्मेदवार पत्रकार सम्मेलन मार्फत घोषणा

गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेको तर्फबाट नगरप्रमुखका उम्मेदवारलाई पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको छ । नेकपा एमाले रेसुङ्गा नगर कमिटीले पत्रकार सम्मेलन गरेर इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेयलाई एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार बनाएको घोषणा गरेको हो ।
‘हामीले रेसुङ्गा नगरपालिकामा अत्याधिक मतअन्तरले विजयी हासिल गछौं ।’ नगर कमिटीका अध्यक्ष हरिप्रसाद पोखरेलले भने,“पार्टीको नीति र व्यक्तिको दृष्टिकोणको कारणले निर्वाचनमा विजय हुने कुरामा कुनै पनि शंका छैन् ।” इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेय हरेक दृष्टिकोणबाट सक्षम रहेको हुँदा नेकपा एमाले ठूलो मतअन्तरले विजयी हुने नगर कमिटी अध्यक्ष पोखरेलले दाबी गरे ।
पाँच वर्षको कार्यकालमा नेकपा एमालेले रेसुङ्गा नगरपालिकालाई देशको नमुना नगरपालिकाका रूपमा काम गरेकाले अहिले पुनः एमालेले जित्ने नगर कमिटी अध्यक्ष पोखरेलले बताए । नेकपा फुटको कुनै पनि असर रेसुङ्गा नगरपालिकामा नपरेकाले गठबन्धनलाई सजिलै पराजित गर्ने उनको भनाइ छ ।
एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेयले नगरमा आफ्नो पार्टीको संगठन बलियो भएको, अघिल्लो निर्वाचनमा देखिएको मतपरिणाम र आफू सबै कुरामा सक्षम रहेका कारण आफूले सजिलै जित्ने बताए । थुप्रै सम्भावना रहेर पनि विकास निर्माणाका काम नभएको रेसुङ्गामा बसाइँसराइ रोक्नु आफ्नो पहिलो प्राथमिकता रहेको पाण्डेयको भनाइ छ ।
‘आधारभूत विकास निर्माणका काम भएमा बसाइँसराइ रोक्न सकिन्छ ।’ नगरप्रमुखका उमेदवार पाण्डेयले भने, “शिक्षा, स्वास्थ्य र रोजगारी भएमा बसाइँसराइ हुँदैन ।” आन्तरिक रोजगारी सिर्जनमा गर्नेमा उनको जोड छ । रोजगारी सिर्जनाका लागि आफ्ना थुप्रै योजना रहेको पाण्डेयले बताए । तराईसँग नजिकको दूरीमा रहेको गुल्मी सडकका कारण आवत–जावतमा दिन बित्ने समस्यालाई अन्त्य गरेर तराईबाट दुई देखि साढे दुई घण्टामा गुल्मीको सदरमुकाम तम्घासमा आउन सक्ने गरी सडक बिस्तार गर्नुपर्नेमा आफू केन्द्रित रहेको उनले बताए । आफू नगरप्रमुखका बिजयी भएपछि त्यो सम्भव हुने उनको प्रतिक्रिया छ । सदरमुकाम तम्घासलाई पु-याउने लयमा फर्काउन सुविधासम्पन्न होटल र सडकको विस्तार मुख्य रहेको उनले बताए । प्रकृतिले दिएको सुन्दर ठाउँ गुल्मीलाई विकासबाट पछाडि पारिएकोले आफू कर्मचारीबाट अवकाश भई खुल्ला राजनीतिमा लागेको पाण्डेयको भनाइ छ । स्थानीय चुनावमा दलभन्दा ब्यक्तिलाई छान्ने भएका कारण कांग्रेस कार्यकर्ताले पनि आफूलाई मत हाल्नेमा ढुक्क रहेको बताउँदै सचेत नागरिकले आफूलाई रोज्ने पाण्डेयको दाबी छ ।
उनले स्थायी कर्मचारीका रूपमा ३२ वर्ष ४ महिना इन्जिनियरको क्षेत्रमा अनुभव संगालेका छन् । ५६ वर्षीय पाण्डेय रेसुङ्गा नगरपालिका–१ का स्थायी बासिन्दा हुन् । उनी कक्षा ६ मा पढ्दा अनेरास्ववियु पाँचौंको महेन्द्र माध्यमिक विद्यालयको कमिटीमा उपाध्यक्ष भएका थिए । २०४० मा एसएलसी दिएपछि इन्जिनियरीङ कमिटीमा ३ वर्षसम्म रहेर काम गरे । तत्कालिन खानेपानी तथा ढल निकास कार्यालयबाट जागिर सुुरु गरेका पाण्डेयले २०४६ मा स्थायी जागिरमा नाम निकालेका थिए । २०४८ मा भएको कर्मचारी आन्दोलनमा बाँके जिल्लामा कार्यरत हुँदा २८ दिन हिरासतमा समेत बसेको उनी आन्दोलनको सिलसिलामा पुनः २ दिन हिरासतमा बसेका थिए । आफु जागिरबाट ६ महिना निलम्बन समेत भएको उनले बताए । २०५० गुल्मीमा कर्मचारीको रुपमा काम गर्न आए । नेपाल निजामती कर्मचारी संगठन गुल्मीको ४ वर्ष अध्यक्ष बने । त्यसपछि उनी कर्मचारी संगठनको केन्द्रीय प्रतिनिधिका रूपमा रहे ।
२०६२ मा इन्जिनियरीङ पास पछि तत्कालीन आवास तथा भौतिक मन्त्रालयमा इन्जिनियरको रुपमा नाम निकाले । कर्मचारीको रुपमा सेवा गर्दै २०७८ माघ १८ गते राजीनामा पछि खुला राजनीतिमा आफू क्रियाशील रहेको नगरप्रमुखका उमेदवार पाण्डेयले बताए । रेसुङ्गा नगरपालिमा अन्य राजनीतिक दलहरुले भने नगरप्रमुखको उमेदवार घोषणा गरेका छैनन् ।