इन्धनको खपत घटाउने वैकल्पिक उपाय

रूस र युक्रेनबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएको छ । इन्धनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रभाव नेपालमा मात्र परेको छ । अहिले विश्वभर ऊर्जा संकट हुँदै गएको छ । इन्धनको मूल्य बढ्दै गएपछि आयात गर्दै व्यापारघाटा बढेर देशलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । मूल्य बढ्दै गएपछि इन्धनको कारोबार गर्दै आएको नेपाल आयल निगम आर्थिक संकटमा पुगेको छ । एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको छ । आयातित वस्तुहरूमा इन्धन पहिलो नम्बरमा रहेको छ । चालू आर्थिक वर्षको १५ चैतसम्म एक खर्ब ८७ अर्ब रुपैयाँबराबरको इन्धन आयात भएको छ । इन्धनको मूल्य बढ्दा आमउपभोक्तालाई प्रत्यक्ष असर पार्नुका साथै देशको अर्थतन्त्रलाई समेत असर पार्न सक्छ । इन्धन खपत घटाउनका लागि जोरबिजोर प्रणाली, हप्तामा शनिबार र आइतबार बिदा दिने सुझाव पेस गरिएको छ । तर, सरकारी कर्मचारी तथा राजनीतिक दलका नेता कार्यकर्तालाई दिइने सित्तैको पेट्रोलियम पदार्थको मूल्य किन नागरिकले बेहोर्ने भन्ने बारे कोही पनि बोल्न चाहन्न । ऊर्जा संकट बढ्दै गयो भने यसले समग्र अर्थतन्त्रमा असर पार्ने देखिन्छ । ऊर्जा संकटको विकल्पमा के हुनसक्छ भनेर सरोकारवाला व्यक्तिसँग कारोबारले गरेको कुराकानीको सार :
इन्धन खपत घटाउन विद्युतीय सवारी साधनमा जोड दिनुपर्छ
रविशंकर सैजू
व्यापार विज्ञ
आयातमा १५ प्रतिशतजति इन्धन रहेको छ । आयात हुने वस्तुहरूमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ रहेकाले व्यापारघाटा पनि बढ्दै गएको छ । इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो एक दशकमा गाडीको आयात धेरै नै माथि रहेको छ । सवारी साधन र औद्योगिक प्रयोजनमा इन्धन गएको छ । लोडसेडिङ घटाएर औद्योगिक क्षेत्रमा प्रयोग हुने इन्धन घटाउन सकिन्छ । यसका लागि बिजुली उत्पादन बढाउनुपर्छ । इन्धनको खपत घटाउनका लागि सवारी साधनमा कोटा प्रणाली लागू गर्नुपर्छ । इन्धनको विकल्प भनेको विद्युतीय सवारी साधनमा जोड दिनुपर्छ । सबैभन्दा धेरै इन्धन खर्च सवारी साधनमा हुन्छ । विद्युत् उत्पादन बढाएर विद्युतीय सवारी साधनमा जोड दिइयो भने इन्धनको खपत कम गर्न सकिन्छ । छिमेकी मुलुक चाइनामा मोटरसाइकल विद्युतीय नै प्रयोग भइहेको छ । नेपालमा पनि ठूलो संख्यामा विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन सकिन्छ । इन्धनको मूल्य मूल्य बढिरहेको छ । सार्वजनिक गाडीको व्यवस्था गर्न सकिन्छ । यसले गर्दा निजी सवारी साधनको प्रयोग कम गर्न सकिन्छ । सवारी साधनमाथि जोरबिजोर गर्ने भनिएको छ । यो पनि लामो समयका लागि नभएर छोटो समयको लागि हुन्छ । एउटै घरमा दुईवटा सवारी साधन राखेका छन् । जोरबिजोरको दुईवटा नम्बर राखेको पनि देखिन्छ । विद्युतीय सवारी साधन आयातमा कर घटाएर बढावा दिनुपर्छ । इन्धन मोटरसाइकललाई बिस्तारै प्रतिस्थापन गर्दै जानुपर्छ । औद्योगिक क्षेत्रमा प्रयोग भइरहेको इन्धनको पनि खपत कम गराउनुपर्छ । साना–साना गाडीभन्दा पनि ठूलो संख्यामा विद्युतीय सवारी साधन भए भने इन्धनको खपत क्रमिक रूपमा घट्दै जान्छ । अनावश्यक सवारी साधनको प्रयोग घटाउने । अरूभन्दा पनि गाडी खरिद गर्नका लागि ऋण पनि सस्तो छ । यसले गर्दा पनि गाडीको खरिद गर्ने क्रम बढेको छ । न्यून आए भएका व्यक्तिले पनि गाडी खरिद गरेर हिँडेका छन् । पछिल्लो समय सवारी साधन देखाउनका लागि पनि घरमा एउटा चाहिन्छ भनेर विलासिताको वस्तुका रूपमा राखिएको छ । गाडीको आयातलाई पनि विस्तारै कटौती गर्दै जानुपर्छ । नेपालमा सवारी साधन उत्पादन नहुने भएकाले पनि छिमेकी मुलुकबाट आयात हुन्छ । सवारी साधनमा भन्सार शुल्क धेरै नै भए पनि आयात भने दिनप्रतिदिन बढ्दै गएको छ ।
छिमेकी मुलुक भारत जट्रोबाट बायो फ्युल उत्पादन गरेर इन्धनको प्रतिस्थापन गरिरहेको छ । नेपालमा पनि बायो फ्युल उत्पादन गर्न सकिन्छ । चाइनामा ठूलो संख्यामा मेट्रो सिटी विद्युतीय सवारी साधन रहेका छन् । विद्युत र इन्धन दुवैबाट चल्ने गाडी चलाउन सकिन्छ । नेपालमा पनि सवारी साधन उत्पादन गर्न सकिन्छ । मास ट्रान्सपोर्टेसन सिस्टम, ल्याउनु ट्रली बस, ठूल्ठूला बसहरू सञ्चालन । बसहरू समयमा छुट्ने भएपछि निजीभन्दा सार्वजनिक गाडी उपभोक्ताले चढ्छ ।
सार्वजनिक, बैंकले भेइकल ऋण सस्तो भयो, त्यसले पनि यसको प्रयोग बढ्यो । आफूसँग भएको रकम पनि अन्य क्षेत्रमा लगानी गरेर सवारी साधन बैंकबाट ऋण लिएर पनि खरिद गर्ने चलन बढ्दै आएको छ ।
अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धनको मूल्य समायोजन नगर्दा निगम घाटामा
सुशील भट्टराई
नायब कार्यकारी निर्देशक
नेपाल आयल निगम
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएकाले निगमले थेग्नै नसक्ने गरी घाटामा गएको इन्धनको आपूर्ति सहज गराउनुको विकल्प भनेको मूल्य समायोजन गर्नु नै हो । स्वचालित मूल्य प्रणालीअनुसार तीन रुपैयाँले नभ्याउने भएकाले जति घाटा छ त्यति नै मूल्य समायोजन गर्नुपर्छ भन्ने भनेर सुझाव दिएका छौं । कानुन, संसद्ले भनेको कुरा त हामीले पालना गर्नुपर्छ । मूल्य एकैपटक समायोजन गर्दा अर्थतन्त्रलाई प्रभाव पार्न सक्छ भने त्यसमा कोको मिलेर कतिकति योगदान गर्ने । सरकारले कति रकम छोड्ने, निगमले बैंकबाट कति ऋण लिएर घाटा बेहोरिरहने । मुलुकको अर्थतन्त्रलाई नोक्सान हुन्छ भने हामी ऋण लिएर घाटा थेग्नुपर्छ । घाटा कसरी व्यवस्थापन गर्ने विषयमा छलफल हुनुपर्छ । आयात कटौती नगरिकन जति आयात हुन्छ त्यति बिक्री गर्दाको अवस्था अहिले छ ।
इन्धनको खपत घटाउनका लागि प्रभावकारी भनेको सवारी साधन जोरबिजोर गर्ने हुने देखिन्छ । सार्वजनिक यातायात, ढुवानीका साधनमा जोरबिजोर गर्न मिल्दैन । यसले अर्थतन्त्र चलायमानमा समस्या पार्छ । जोरबिजोर लागू गर्ने भनेको निजी पेट्रोलको गाडीमा हो । पेट्रोलको तुलनामा डिजेलको खपत चार गुणा बढी छ । जोरबिजोर गर्दा निगम नाफामा जाने भन्ने होइन, यसले खपत कम गर्ने मात्र हो । विदेशी मुद्रा आएन, नेपाल राष्ट्र बैंकसँग डलर नै नहुने भयो भने निगम नाफामा भए पनि आयात गर्न नमिल्ने हुन्छ । गाडीको आयात गर्ने, विलासिताका वस्तुको एलसी नखोल्ने भनेर भनिएको छ । यो भनेको विदेशी मुद्राको सञ्चितिलाई सन्तुलनमा राखिराख्नका लागि गरिएको कुरा हो । विदेशी मुद्रा सञ्चितिलाई सन्तुलन राख्नका लागि घाटा–नाफा जे भए पनि आयात कटौती गर्नुपर्छ । अहिले निगमलाई परेको समस्या भनेको रकम व्यवस्थापन नै हो । तेल खरिद गर्नका लागि मूल्य स्थिरीकरण कोषमा भएको १४ अर्ब रकम सकियो । निगमको सञ्चिति कोषमा भएको १९ अर्ब मुनाफा सकियो । अहिलेसम्म भएको घाटा यहींबाट व्यवस्थापन गरेका छांै । इन्धनको परिणाम आयात बढेको छैन, तर मूल्य बढेको छ । मार्च महिनामा मात्र २९ अर्बको इन्धन आयात भएको छ । इन्धनको आयात बढेर नेपालबाट पुनः भारत गयो भनिन्छ । एक महिनाअघि सीमा मूल्य एकदम न्यून थियो । डिजेलमा तीन रुपैयाँ र पेट्रोल ५० पैसा नेपालमा महँगो भएको थियो । यसअघि बोर्डर मूल्य ५० रुपैयाँसम्म फरक थियो । त्यति बेला तेल भारत गयो भनेर गाली खाएनौं । अहिले सीमा मूल्य बराबर हुँदा पारि गयो भनेर गाली खाइरहेका छौं । स्वचालित मूल्य प्रणाली पनि विगतमा केही चलाउने, कहिले रोक्ने भयो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि विद्यार्थी संगठनले विरोध गरेपछि तीन महिनासम्म स्वचालित मूल्य प्रणाली लागू गर्न तीन महिनाजति रोकियो । म निमित्त कार्यकारी निर्देशन हुँदा मूल्य बढे पनि पनि तीन पटक मूल्य बढाएन । त्यतिबेला मूल्य नबढाएकाले पनि अहिले चाप बढी प¥यो । एक वर्षअघि पूर्वप्रधानमन्त्रीले संसद् भंग गरेको बेला पनि मूल्य बढेर आए पनि हामीले मूल्य समायोजन गरेका थिएनौं । स्वचालित मूल्य प्रणाली समयमा पूर्ण रूपमा लागू भएन । अब स्वचालित मूल्य प्रणालीलाई स्वतन्त्र रूपमा छोड्नुपर्छ । गत वर्ष दुई महिना स्वचालित मूल्य प्रणाली रोकिएकाले ६० करोड घाटामा गयौं । सुरुदेखि नै स्वचालित मूल्य प्रणाली निरन्तर रूपमा लागू गरेको भए पनि निगमले यति धेरै घाटा बेहोर्नुपर्ने थिएन । इन्धनमा लागत बढ्दै गएपछि नाफा घट्दै गयो । निगममा रिजर्भ फन्ड आवश्यक छ । आन्तरिक ऋण भए पनि अहिलेसम्म निगम बाह्य ऋणमा गएको छैन । निगमसँग कोषमा भएको रकम सकिएपछि तेल खरिद गर्नका लागि ऋण लिनुपर्ने अवस्था आएको छ । अब बैंकबाट ऋण लिने अथवा मूल्य समायोजन गर्नुको विकल्प छैन ।
डिजेलको विकल्पका रूपमा हाइड्रोजन ग्यास
डा. विराज थापा
प्रमुख
हाइड्रो ल्याब
काठमाडौं विश्वविद्यालय
ऊर्जा भनेको समाज विकासका लागि चाहिन्छ । ऊर्जाबिना कुनै पनि प्रगति हुन सक्दैन । औद्योगिक, भान्सा, यातायातका लागि पनि ऊर्जा चाहिन्छ । समाजको कालखण्डमा विभिन्न किसिमको ऊर्जाको प्रयोग गर्दै आएका छौं । अहिले पेट्रोलियम ऊर्जाको प्रयोग गर्दा वायुप्रदूषण भएर यसले वातावरणको इको सिस्टम नै खलबलाएर प्राणीहरूको अस्तित्वमा असर परेको थाहा भयो । वैज्ञानिकहरूले इन्धनको खपतलाई कम गरेर वैकल्पिक ऊर्जा हेर्नुपर्छ भनेर भन्ने गरेको थियो । वर्तमानमा सस्तो सुलभ, धनी हुने ऊर्जा चाहिएकोमा इन्धन नै सस्तो भएर गयो । पेट्रोलियम पदार्थको प्रयोगले जनस्वास्थ्य, वातावरणमा अत्यन्त असर पर्ने देखिएपछि विश्वबाट यसको विकल्प खोज्नुपर्छ भनिएको छ । सन् २०५० सम्ममा सारा संसारले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने भनेर प्रतिबद्धता जाहेर भएको छ । अहिले जति पनि पेट्रोलियम पदार्थ प्रयोग गर्छौं । अहिले त्यसको विकल्प खोजिसक्नुपर्ने हुन्छ । भन्सा, उद्योगमा प्रयोग हुने इन्धनको विकल्प खोज्नुपर्ने हुन्छ । नेपालमा पानीबाट बिजुली उत्पादन गर्छौं । भारतले ७० प्रतिशत बिजुली कोइलाबाट निकाल्छ । भन्सा, उद्योगमा, यातायातमा जुन तेल प्रयोग हुन्छ त्यसको पनि विकल्प खोज्नुपर्छ । विज्ञानले यसका धेरै विकल्प देखाएको छ । पहिलो विकल्प भनेको यातायात क्षेत्रमा साना तथा हलुका सवारी साधनका लागि पेट्रोलले चल्छ । कार, जिप, मिनीबस अहिलेको लागि ब्याट्रीबाट चलाउने विकल्प आएको छ । सरकारले नीति बनाएर पेट्रोलको विकल्पमा हलुका सवारी साधनमा ब्याट्री हुनसक्छ भनेर चार्चिङ स्टेसन बनाउनुपर्छ । पेट्रोलको विकल्पमा विद्युतीय सवारी साधन अगाडि सारिएको छ । यसको प्रयोगलाई बढाउँदै जानुपर्छ । तर लामो दूरीमा चल्ने बसका लागि डिजेल प्रयोग हुन्छ । यसको विकल्प के हो त भनेर धेरै अनुसन्धान भए । डिजेलको विकल्प पनि विद्युतीय गाडी नै हो । विद्युत प्रवाह गर्ने यन्त्र ब्याट्री होइन, हाइड्रोजन हो भनेर त्यहाँसम्म आइपुगेको अवस्था छ । हाइड्रोजन ब्याट्रीभन्दा चार सय गुणा विद्युतलाई भण्डारण गर्न सक्छ । एक किलोग्राम ब्याट्रीमा जति बिजुली भण्डारण हुन्छ त्यति किलोग्राम हाइड्रोजनमा चार सय बढी गुणा बिजुली भण्डारण हुन्छ । त्यस कारणले गर्दा लामो दूरीको गाडीमा हाइड्रोजन प्रयोग हुन्छ । उपयोगी हुन्छ । हाइड्रोजन पानीलाई टुक्र्याएर निकालिन्छ । अक्सिजन र हाइड्रोजनलाई विद्युत् प्रवाह गरेर टुक्रिन्छ । हाइड्रोजन ऊर्जा संवाहक हो । ऊर्जा चाहिएको बेला उत्सर्जन गर्ने गर्छ । यो पनि एक किसिमको ब्याट्री हो । सफा टेम्पोमा चलाउने, गाडीमा हाल्ने ब्याट्रीहरूमा ऊर्जा भण्डारण गर्न सकिँदैन । तर हाइड्रोजनले अक्सिजन भेट्टाएपछि त्यही बिजुली निकाल्छ । विद्यतीय गाडीमा ब्याट्री हाले बिजुली निकाल्छ । ब्याट्रीको भण्डारण क्षमता कम हुन्छ । त्यही विद्युतीय गाडीमा ब्याट्रीको सट्टामा हाइड्रोजन लगाएर ब्याट्रीभन्दा ४ सय गुणा शक्तिशाली हुन्छ । छिमेकी मुलुक भारतमा पनि हाइड्रोजनबाट बस चल्न थालेको छ । नेपालमा पनि इन्धनको विकल्पमा हाइड्रोजनको प्रयोग गर्न सकिन्छ । डिजेलको विकल्प खोज्नुपर्छ । किनभने पेट्रोलभन्दा डिजेल तीन गुणा बढी खपत हुन्छ । डिजेलको विकल्पको रूपमा हाइड्रोजन रहेको छ । इन्धनको विकल्पमा विद्युतीय सवारी साधन ल्याएझैं हाइड्रोजनलाई पनि अगाडि ल्याउनुपर्छ । हाइड्रोजन चल्ने बसहरू राखेर यसका बारेमा सबैलाई जानकारी दिन सकिन्छ । यसको फाइदा–बेफाइदाका बारेमा बुझ्छन् । यसको फाइदा–बेफाइदा जानकारी हुन्छ । सरकारले सबै हाइड्रोजन बस चलाउन नसक्ने भएकाले निजी क्षेत्रलाई पनि चलाउन सक्छ । यसका लागि हाइड्रोजन हाल्नका लागि रिफिलिङ स्टेसन बनाउनुपर्छ । यसका लागि भौतिक संरचनाको विकास गर्नुपर्छ भनेर भनिरहेका छौं । देशमा हाइड्रोजनबाट चल्ने बसहरू अन्य देशमा गुडिरहेका छन् । जापानले हाइड्रोजन हाल्ने कार बनाएको छ । त्यस कारमा पाँच किलोग्राम हाइड्रोजन हालेपछि १३ सय किलोमिटर गुड्छ । भारतले पाँच किलोग्राम हाइड्रोजनले १३ सय किलोमिटर चल्ने कारलाई भारतमा ल्याउने लागेको छ । यस्तै भारतले एक डलरमा प्रतिग्राम हाइड्रोजन उत्पादन गर्न लागिरहेको छ ।
इन्धनको खपत घटाउन बिजुलीको प्रयोग बढाउनुपर्छ
अमृतमान नकर्मी
ऊर्जा विज्ञ
इन्धनको विकल्प भनेको विद्युतीकरण हो । नेपालमा संकटको बेला मात्र कुरा गरिन्छ । संकट नभएको बेला यस विषयमा कुनै कुरा नै हुँदैन । संकटको बेला मूल्य बढाउनुको अरू उपाय छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर गइरहेको छ । नेपालमा उत्पादन हुँदैन, सबै बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । इन्धनको आयात रोक्दा अर्थतन्त्रका साथै जीवनयापन नै चल्दैन । इन्धनको खपत कम गर्नुपर्छ । अन्तर्राष्ट्रिय मूल्यअनुरूप मूल्य बढ्यो भने उपभोक्ताले इन्धनको खपत पनि घटाउँदै जान्छन् । सरकारले घाटा खाएर सस्तोमा इन्धन बिक्री ग-यो भने प्रचुर मात्रामा खपत बढ्दै जान्छ । मैले पाँच वर्षअघि नै भनेको थिएँ । नेपालमा भारतमा भन्दा इन्धन मूल्य सस्तो छ । भारतले पेट्रोलियम पदार्थमा कर बढायो, तर नेपालले बढाएन । नेपालमा मूल्य सस्तो मूल्य भएकाले भारतमा तेल जाने गर्छ । विराटनगरमा दैनिक पाँचवटा ट्रक र ट्यांकर कच्चा पदार्थ लिएर आउँछन् । तिनले नेपालबाटै तेल हालेर जाने गर्छन् । भारतले कर बढाएर करबाट आएको पैसा नवीकरणीय ऊर्जामा लगानी गरिरहेको छ । नवीकरणीय ऊर्जा सोलारको विस्तार भइरहेको छ । सन् २०१५ पेरिस सम्झौतामा संसारमा हरित ग्यास उत्पादनमा सबैभन्दा बढी योगदान गर्ने पेट्रोलियम पदार्थ हो । यसको खपतलाई न्यूनीकरण गर्ने भनिएको छ । इन्धनमा कर बढायो भने महँगो हुन्छ र खपत घट्छ । यसरी न्यूनीकरण गरेर लैजानुुपर्ने हो तर नेपालले गर्न सकेको छैन । आफ्नै देशमा उत्पादन भएको सामान प्रयोग नगर्ने, बाहिरबाट आयात गरेको प्रयोग गर्ने छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अहिले चार गुणा बढेको छ । डिजेलमा प्रतिलिटरमा २८ रुपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १ हजार रुपैयाँ घाटा छ । बिजुलीमा खाना पकाउँदा ५० प्रतिशत सस्तो पर्छ । आफ्नो देशमा उत्पादन भएको बिजुली प्रयोग गर्ने, आयात गरेर ल्याएको ग्यास प्रयोग गरेपछि घाटा बढ्दै जान्छ । इन्धनको आयात बढिरहेको छ । यसले इन्धनको संकट आई अर्थतन्त्र धान्न कठिन हुन्छ भनेर मैले १० वर्षअघि नै भनेको थिएँ । यस्तो अवस्थामा साना सवारी साधन मोटरसाइकल, कार धेरै भएका छन् । साना सवारी साधनको आयातमा रोक लगाई ठूल्ठूला बसहरू चलाउनुपर्छ । मोटरसाइकल, कारको आयात गर्नुभन्दा ठूला सार्वजनिक यातायात चलाइयो भने मानिसहरूले बस नै चढ्छन् र इन्धनको खपत पनि कम गर्न सकिन्छ । निजी बैंकले व्यक्तिगत ऋण भनेर मोटरसाइकल कार किन्न पनि ऋण दिने भएकाले रकम विदेश बढी जान्छ । इन्धनको खपत घटाउन विद्युतीय सवारी साधनमा जोड दिनुपर्छ । सरकारलाई मैले पाँच वर्षअघि नै मूल्य नबढाएर कर बढाउन सुझाव दिएको थिएँ, तर बढाएन । त्यतिबेला प्रतिलिटरमा नेपाल आयल निगमले १० रुपैयाँ नाफा खाइरहेको थियो । भारतले जस्तै कर बढाएर नवीकरणीय ऊर्जामा लगानी गर्नुपथ्र्यो । हाइड्रोपावर, सोलारमा लगानी गर्छ । इन्धनको खपत घटाउन बिजुलीको प्रयोग बढाउनुपर्छ । ग्यासमा खाना पकाउनुको सट्टा बिजुलीमा खाना पकायो भने बिदेसिने रकम नेपालमै रहन्छ । उपभोक्तालाई फाइदा पनि हुन्छ । नेपालमै पैसा रहन्छ । बिजुली र नवीकरणीय ऊर्जामा जोड दिनुपर्छ । घाटा खाएर तेल बेचिरहन हुँदैन, यसले अर्थतन्त्रमा प्रत्यक्ष असर पार्छ । निगम मासिक ९ अर्ब घाटामा छ । खरिद मूल्यभन्दा सस्तोमा बिक्री गर्दा घाटा स्वाभाविक हुुन्छ । अन्तर्राष्ट्रिय मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य बढ्दै गयो भने इन्धनको खपत पनि क्रमिक रूपमा घट्दै जान्छ । नाफा हुँदाखेरि स्वचालित मूल्य प्रणाली लागू नगर्ने र घाटा हुँदा मात्र स्वचालित मूल्य प्रणालीको कुरा गर्ने गर्छन् ।