Logo

तरकारी खेतीबाट राम्रो आम्दानी

कालिकोटको रास्कोट नगरपालिकाका किसान तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा व्यवसायिक तरकार खेती गर्न थालेपछि किसानको जीवनस्तरमा समेत सुधार आएको छ ।
रास्कोट नगरपालिका–२ का कविराज न्यौपानेले तरकारी खेती गरे राम्रो आम्दानी हुने बताए । उनले १३ रोपनी जमिनमा विभिन्न जातका तरकारी खेती गरेका छन् । तरकारी खेतीसँगै विरुवा उत्पादन गरेर पनि उनले बिक्री गर्दै आएका छन् । कात्तिक र मंसिरमा प्याजका विरुवा बेचेरै ६० हजार रूपैयाँ आम्दानी गरेको उनले बताए । अहिले पनि उनको बारीमा करिब ३० क्विन्टल बन्दा, ३ रोपनी जमिनमा आलु खेती गरेका छन् । पोलिहाउसमा १० क्विन्टल बराबरको गोलभेडा उत्पादन गर्ने लक्ष्यअनुसार काम गरिरहेको उनले बताए ।
न्यौपानेले ३ सयभन्दा बढी अलैंचीको विरुवा लगाएका छन् । उनले लगाएको २० वटा सुन्तलाले उत्पादन दिन थालिसकेको छ । थप ५० वटा सुन्तलाका विरुवा रोपेको उनले बताए । न्यौपानेले १० रोपनी जग्गामा धान र ५ रोपनीमा मकै खेती गर्ने गरेका छन् ।
तरकारी खेती गरेरै उनले ८ रोपनी जग्गा किनेका छन् । मौसमअनुसारको तरकारी खेती गर्न सके जीवन निर्वाह गर्न कुनै समस्या नहुने उनले बताए । उनले तरकारी खेती गरेरै वार्षिक ३ लाख ५० हजार रूपैयाँ खुद नाफा गर्न सफल भएको जानकारी दिए ।

तरकारीलाई बजारको समस्या
उत्पादित तरकारी स्थानीय बजारमै बिक्री गर्नु पर्दा भने यहाँका किसानलाई समस्या छ । बजारको राम्रो व्यवस्था नहुँदा कुनै बेला भने तरकारी बारीमै कुहिने गरेको छ । न्यौपानेले आफूले २० क्विन्टल बन्दा बिक्री गर्न नसक्दा कुहिएर नष्ट भएको जानकारी दिए । स्थानीय स्तरमा उत्पादित तरकारी अन्य जिल्लामा निकासी गर्न नगरपालिकाले पहल गरिदिए समस्या समाधान हुने उनको भनाइ छ ।

नमराज योगी

प्रतिक्रिया दिनुहोस्