अर्थतन्त्र कमजोर हुनुको कारण निजी क्षेत्र प्राथमिकतामा नपर्नु हो

केही समययता देशको अर्थतन्त्रको विषयलाई लिएर विभिन्न खाले आकलन भइरहेका छन् । कतिपयले गहिरो आर्थिक संकट झेलिरहेको श्रीलंकाकै जस्तो अवस्थामा नेपाल पनि पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् । हुन पनि पछिल्लो समय अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू अपेक्षा गरिएजस्ता छैनन् । देशको अर्थतन्त्र ओरालो लाग्दै जानुका कारण के–के हुन् र यसको सुधारका लागि के–कस्ता कदम चाल्नुपर्छ ? यिनै विषयमा केन्द्रित रहेर सरोकारवालासँग कारोबारकर्मीहरूले गरेको कुराकानीको सार :
आयात नियन्त्रणमा ध्यान नदिँदा अर्थतन्त्रमा संकट देखियो
उपिनकुमार राई
अध्यक्ष, उद्योग वाणिज्य संघ, खोटाङ
वास्तवमा देशको अर्थतन्त्रको विषयलाई लिएर आम जनमानसमा जसरी चिन्ता प्रकट भइरहेको छ, त्यो स्वाभाविक हो । छिमेकी देश श्रीलंका यति बेला गहिरो आर्थिक संकट झेलिरहेको छ । समयमा ध्यान नदिएकै कारण श्रीलंका अहिलेको हालतमा पुगेको हो ।
आयात नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचाल्दा नेपालको पनि अर्थतन्त्र कमजोर बन्दै गएको छ । बैंकहरूसँग लगानीयोग्य रकम छैन, आयात अत्यधिक बढेको छ । विदेशी मुद्रा भित्र्याउने दुई प्रमुख माध्यम रेमिट्यान्स र पर्यटनको आय नबढ्दा चालू खाता घाटा बढेको बढ्यै छ, जसले गर्दा विदेशी मुद्राको सञ्चिति घटेर वस्तु तथा सेवा आयात गर्ने क्षमतामा ह्रास आएको छ ।
कोरोना महामारीपछि सरकारले चालेको कदमकै कारण पनि अहिले अर्थतन्त्र समस्यामा परेको हो भन्दा फरक पर्दैन । कोरोना महामारीको पहिलो लहरका बेला सरकारले झन्डै तीन महिना सबैजसो व्यापार–व्यवसाय ठप्प हुने गरी लकडाउन ग-यो । महामारी नियन्त्रणमा सरकारले चालेको कदमका कारण नियमित आर्थिक कारोबार प्रभावित भयो । महामारीले समस्यामा परेका क्षेत्रलाई पुनरुत्थानका लागि सहयोग होस् भनेर लघु, घरेलु तथा मझौला उद्योग व्यवसाय, पर्यटनजस्ता क्षेत्रका लागि पुनर्कर्जा दिने व्यवस्था गरिएको थियो । समस्यामा परेको व्यवसायको पुनरुत्थानका लागि दिएको ऋण त्यस्ता व्यवसाय पुनरुत्थानका लागि मात्र खर्च भएन । अनुत्पादक काममा लगानी गरियो । विदेशबाट विलासी सामानको आयात बढ्यो । यसले आयात बढाउन र विदेशी विनियम सञ्चिति घटाउन भूमिका खेलिरहेको भन्न सकिन्छ । उत्पादनमूलक र कोरोना महामारी प्रभावित क्षेत्रको पुनरुत्थानमा खर्च हुनुपर्ने पैसा अन्य क्षेत्रमा गएपछि त्यसले अर्थतन्त्रलाई बिथोल्नु स्वाभाविक हो ।
अर्कातिर सरकारको जिम्मेवार पदमा रहेका मन्त्रीजस्ता व्यक्तित्वबाट अर्थतन्त्रको विषयमा गैरजिम्मेवार अभियक्ति आइरहेको अवस्था छ । यो निकै दुःखद् हो । निजी क्षेत्र सरकारको प्राथमिकतामा नपर्नुले पनि अर्थतन्त्र कमजोर बनेको हो ।
अहिले नेपालको विदेशी सञ्चित घट्नुको मुख्य कारण बढ्दो आयात, पेट्रोलियम पदार्थसहितका अन्य वस्तुको अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि र विगतमा विदेशबाट रकम आउने स्रोतमा समस्या देखिनु हो । मुलुक भित्रिने र बाहिरिने रकमबीचको अन्तर ठूलो छ । रेमिट्यान्स र पर्यटनबाट हुने आम्दानी नबढेका कारण बाह्य क्षेत्र दबाबमा छन् ।
वैशाखमा हुने स्थानीय तह निर्वाचनले आयात अझै बढाउने निश्चित छ । यसले भुक्तानी सन्तुलन थप दबाबमा पर्छ । व्यापारमा विचलन, अदृश्य कारोबार, तरलता संकट र घट्दो रेमिट्यान्स अर्थतन्त्रका मुख्य समस्या हुन् ।
अर्थतन्त्रमा सुधार ल्याउन आयातमा नियन्त्रण गर्नुपर्छ । तर सरकारले बेलैमा कदम चाल्न सकेन । आयात नगरे पनि हुने वा अहिले आयात भइरहेको भन्दा कम परिमाणमा ल्याए पनि हुने वस्तुहरूका कारण पनि अर्थतन्त्र कमजोर बन्दै गएको हो । कतिपय आयातहरू यस्ता पनि छन्, जसको मूल्य बिजकमा कम देखाइन्छ । बिजकमा देखाइएको मूल्यमात्रै प्रणालीबाट भुक्तानी हुने र अरू रकम प्रणालीभन्दा बाहिरबाट भुक्तानी भएर रकम बाहिरिने खतरा पनि उस्तै छ । खासगरी यस्तो रकम हुन्डीबाट पठाइने गरिएको छ । त्यसलाई नियन्त्रण गर्न आवश्यक छ । रेमिट्यान्स वैधानिक च्यानलबाट रकम भित्र्याउन केही प्रोत्साहन दिए हुन्डीमार्फत पठाउने रकम घटाउन सकिन्छ ।
व्यापारघाटा बढेको बढ्यै छ । वैदेशिक अनुदान आएको छैन । बैंकिङ क्षेत्रको तलरता पनि अर्थतन्त्रमा समस्याको कारक हो । कोरोनाबाट प्रभावित क्षेत्रले ऋण पाएका छैनन् । पुँजीगत खर्च भएको छैन । अर्कातर्फ सरकारले खर्च घटाउने, मितव्ययी बन्ने प्रयास नगरेका कारणले समेत अर्थतन्त्र समस्यामा परेको हो । यसको व्यवस्थापनमा तत्काल ध्यान नपु-याउने हो भने आगामी दिनमा अझ बढी जोखिम हुन्छ ।
अर्थतन्त्रमा समस्या आउन नदिन बाह्य क्षेत्रको बचत प्रयोग गर्ने, बाहिरबाट पुँजी ल्याउने, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेलगायत काम सरकारले गर्नुपर्छ ।
प्रस्तुति : पवन खड्का
आयात कम गरेर आन्तरिक उत्पादन बढाउनुपर्छ
नवलकिशोर काबरा
उपाध्यक्ष, नेपाल उद्योग परिसंघ, प्रदेश–१
अहिले मुलुकको आर्थिक अवस्था निकै नाजुक अवस्थामा पुगेको छ । औद्योगिक वातावरण छैन । लोडसेडिङका कारण उत्पादनशील क्षेत्र निरुत्साहित भएको अवस्था छ । बैंकको चर्को ब्याजदर र तरलता अभावका कारण नयाँ उद्योगहरू थपिन सकेका छैनन्, जसका कारण दिन–प्रतिदिन आयात बढ्दै गएको छ । नेपालको अर्थतन्त्र आयातमुखी भएको छ । आयातमा निर्भर भएकै कारण अहिले समस्या देखिएको छ । कृषिजन्य उत्पादनमा समेत नेपाल परनिर्भरता हुनु दुःखद् हो । अहिले रूस र युक्रेनबीचको युद्धका कारण महँगी बढेको छ । विदेशी मुद्रा सञ्चिति पनि बढ्दो क्रममा छ । नेपालको आर्थिक अवस्था पनि श्रीलंकाको जस्तै त हुँदैन भन्ने धेरैमा त्रास देखिएको छ । श्रीलंकाकै जस्तो आर्थिक संकट बेहोर्नुपर्ने हो कि भन्ने आमजनतामा भय छ । सरकारले बेलैमा कडा कदम चाल्नुपर्छ । अहिले विलासिताका वस्तुहरूको आयातमा रोक लगाउनुपर्छ । महँगा गाडी, सुन, चाँदीजस्ता वस्तुको आयातमा कडाइ गर्नुपर्छ । पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय चुल्होको प्रयोगलाई राज्यले नै प्रोत्साहित गर्नुपर्छ । यससँगै अति आवश्यक काममा मात्रै गाडी चलाउनुपर्छ । सकेसम्म पेट्रोलियम पदार्थको खपत कम गर्नुपर्छ, किनभने धेरै विदेशी मुद्रा पेट्रोलियम पदार्थ खरिद गर्दा नै बिदेसिने गरेको छ । अनावश्यक इलेक्ट्रोनिक्सका सामान आयातलाई निरुत्साहित गर्नु आवश्यक छ । विदेशबाट आउने रकमलाई पनि हुन्डीबाट नभई बैंकिङ प्रणालीबाट आउने व्यवस्था मिलाउनुपर्छ । जतिसक्दो धेरै स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ । अहिलेको अवस्थामा विदेश भ्रमण जानुभन्दा आन्तरिक भ्रमण गर्दा उपयुक्त हुन्छ । फलफूलको आयातलाई पनि कडाइ गर्दा हुन्छ । फलफूल अति आवश्यक वस्तु होइन । दुःखको कुरा कृषिप्रधान मुलुक भनिए पनि आलु, टमाटर, धनियाँ, प्याज, लसुन, गाँजरलगायत पनि आयात गर्नुपरिरहेको छ । यस्ता वस्तुको उत्पादनमा स्वयम् आमनागरिकले ध्यान दिनुपर्छ । करेसाबारी बाँझै राख्नुभन्दा धनियाँ, टमाटर, खुर्सानीलगायत उत्पादन गर्न सकिन्छ । त्यस्ता वस्तु आफैंले उत्पादन गरेर आयातलाई निरुत्साहित गरिनुपर्छ । सरकारले तत्कालै कडा कदम नचाले निकै ठूलो आर्थिक संकट आउने संकेत देखिँदै छ । अहिलेको आर्थिक संकटबाट मुलुकलाई पार लगाउन सरकारसँगै जनताको पनि हात छ । सबैले मिलेर यो संकटबाट देशलाई पार लगाउनुपर्छ ।
प्रस्तुति : मीनकुमार नवोदित
अत्यावश्यक बाहेकका विलासी वस्तुको आयात रोक्नुपर्छ
दिनेश अधिकारी
सहायक क्याम्पस प्रमुख, धनकुटा बहुमुखी क्याम्पस धनकुटा
नेपालको अर्थतन्त्र अहिले पूर्ण रूपले बिग्रिसकेको अवस्था होइन, यसो भन्दै गर्दा अर्थतन्त्रमा कुनै समस्या नै नआएको पनि होइन । अहिले वस्तु तथा सेवाको मूल्यवृद्धि अस्वाभाविक रूपमा बढ्दै गएको छ । बजारमा हरेक वस्तुमा मूल्यवृद्धि भइरहेको छ । वस्तु तथा सेवा लिनका लागि धेरै मुद्राको आवश्यकता पर्दै गएको छ । स्वाभाविक रूपमा नेपालको अर्थतन्त्र आत्मनिर्भर नभएका कारण हामीले धेरै सेवा र वस्तुका लागि अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने अवस्था छ, जसले गर्दा हाम्रो पुँजी बाहिरिरहेको छ । आयात र निर्यातको अवस्था ज्यादै असन्तुलन भएको हुँदा अर्थतन्त्रमा त्यसको प्रभाव नेपालको हकमा खराब देखियो । त्यसमा पनि पछिल्लो समयमा रूस र युक्रेनको युद्धका कारण ऊर्जा क्षेत्रमा भएको मूल्यवृद्धिले समग्र वस्तु तथा सेवाको मूल्य बढाएको छ । ऊर्जा क्षेत्रमा बढेको मूल्यवृद्धिले नेपाल मात्र नभएर अन्य देशहरूमा पनि त्यसको असर देखिएको छ, जसले गर्दा अन्य देशबाट हाम्रो देशमा आयात हुने वस्तुको मूल्य बढेका कारण भुक्तानी असन्तुलन हुन गयो, योचाहिँ अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो खतरा हो । यसको असर बजारमा पनि देखियो ।
रेमिट्यान्सले धानेको हाम्रो जस्तो मुलुकमा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा रोजगारीको अवसर पनि कम हुँदै गयो, जसले गर्दा विदेशमा गएका युवाहरूले कतिपयले रोजगारी गुमाई स्वदेश फर्कनुप-यो भने कतिपय युवाले पाइरहेको रोजगारीमा समेत कटौती भयो । त्यसको प्रभाव रेमिट्यान्समा देखियो । रेमिट्यान्स घटेकै कारण मुद्रा सञ्चिति कम हुँदा त्यसले देशको अर्थतन्त्रमा प्रभाव प-यो । अब सरकारले पनि नेपालको अर्थतन्त्रलाई योभन्दा बढी बिग्रन दिनु हुँदैन । त्यसका लागि सरकारले अल्पकालीन र दीर्घकालीन आर्थिक योजना र नीति ल्याउनुपर्छ । तत्काल सरकारले महँगी कसरी वृद्धि भइरहेको छ भन्ने कुराको अनुगमनको पाटोलाई ध्यान दिनुपर्छ । वस्तु तथा सेवाको मूल्य साँच्चिकै बढाउनुपर्ने अवस्था हो कि अफवाहको रूपमा बजारमा महँगी बढिरहेको छ भन्ने कुरामा सरकारले बजार अनुगमनलाई ध्यान दिनुपर्छ, साथै नेपालमा विलासी वस्तुहरूको उपयोगसमेत धेरै बढेको छ र त्यस्ता विलासी वस्तुको खरिदका लागि हाम्रो देशको ठूलो रकम विदेशिरहेको छ, त्यसले गर्दा विलासी वस्तुको आयात रोक्ने हो कि ? त्यसमा कर बढाउने हो कि ? भन्ने कुरामा सरकारले तत्काल कदम चाल्नुपर्ने देखिन्छ । देशको अर्थतन्त्रलाई जोगाउनका लागि नागरिकहरूले पनि अत्यावश्यकबाहेकका विलासी वस्तुको खरिद नगर्ने, विदेश वस्तु विदेशबाट आयात भए पनि उपभोक्ताहरूले विदेशीभन्दा पनि स्वदेशी वस्तुको उपभोग बढाएमा त्यसले देशको अर्थतन्त्रमा सकारात्मक सन्देश दिन्छ, साथै राष्ट्र बैंकले समेत वित्तीय व्यवस्थापनका लागि नीति ल्याउनुपर्छ र सरकारले त्यसको अवलम्बन गर्ने हो । बैंकहरूले समेत घरजग्गा, गाडीलगायतका अनुत्पादक क्षेत्रमा लगानी रोक्ने वा कडाइ गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ, जसले गर्दा नेपालमा देखिएको आर्थिक समस्या केही हदसम्म नियन्त्रण हुन्छ भन्ने मलाई लाग्छ ।
प्रस्तुति : विकास घिमिरे
आर्थिक संकट हटाउन अर्थविद् नै अर्थमन्त्री बन्नुपर्छ
दीपक नेपाल
उद्योग वाणिज्य संघ, पाँचथर
निवर्तमान अध्यक्ष
पछिल्लो समय नेपाल पनि आर्थिक संकटमा फस्दै गएको सत्य हो । खासमा हाम्रो देश हरेक कुरामा परनिर्भर रहनु नै यसको कारण हो जस्तो मलाई लाग्छ । नीति बनाउने ठाउँमा विषय विज्ञ मानिस चाहिने रहेछ भन्ने मलाई लागेको छ । अर्थ मन्त्रालयमा विज्ञ मानिसहरू मात्र भए पनि समस्या सामाधान हुने देखिन्छ । हाम्रो अर्थतन्त्र पूर्णतया निर्वाहमुखी नै रहँदै आएको छ ।
अब अर्थतन्त्र सुधार गर्न आन्तरिक तथा बाह्य ऋण परिचालन गरी लगानी बढाउने, प्रत्यक्ष रूपमा नगद वितरण आदि गर्न सकिन्छ । अर्थतन्त्रमा मुद्राको मात्रा बढाउने, ब्याजदर घटाउने, कर्जा प्रवाहमा सहजीकरण गर्न आवश्यक छ । सरकार नागरिकहरूलाई विलासिताका वस्तु किन्न रोक लागाउने अनि आफूचाहिँ करोडौंको सवारी साधनहरू खरिद गर्न रोक्न लगाउनुपर्छ, अनावश्यक विदेश भ्रमण रोक्नुपर्छ । देशमा उत्पादन बढाउन सरकारले प्रोत्साहन गर्नुपर्छ ।
वस्तु उत्पादकले उत्पादन गरेको वस्तु बजारमा पु-याउने क्षमता गुमाएपछि आपूर्तिको शृंखला बिथोलिन्छ, जसले अर्थतन्त्रलाई नै गहिरो धक्का पुग्छ । बजारमा वस्तु पु-याउन अवरोध आएपछि उत्पादकले थप उत्पादन गर्ने क्षमता गुमाउँछ, यतातिर पनि सरकारले ध्यान दिनुपर्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको देशको भुक्तानी सन्तुलन बिग्रिएपछि उसले विदेशमा तिर्नुपर्ने ऋण तिर्न सक्दैन । त्यसका कारण कच्चा पदार्थ विदेशबाट ल्याएर वस्तु उत्पादन गर्ने तथा आपूर्ति गर्ने क्षमता घट्छ । आपूर्ति क्षमता घटेर उत्पादन कम भएपछि बेरोजगारी बढ्छ । बेरोजगारी बढेपछि माग कमजोर हुन्छ, जसले फेरि उत्पादन घट्ने दुश्चक्र सिर्जना गर्छ । यस्ता कुरा विज्ञहरूलाई मात्र थाहा हुन्छ, त्यसैले नीति बनाउने ठाउँमा विज्ञहरू नै रहनुपर्छ ।
कोरोनाले गर्दा पर्यटन क्षेत्रमा समष्टिगत माग घटेका कारणले धराशायी बनेको हो । होटल, रेस्टुराँ, यातायात, हवाई उडानजस्ता क्षेत्रले दिने सेवाको समष्टिगत माग कम भयो । यसले हाम्रो पर्यटन क्षेत्रमा अप्ठ्यारो निम्त्यायो । पर्यटन क्षेत्रमा धक्का लागेपछि हजारौंले रोजगारी गुमाए अब पर्यटन क्षेत्रलाई उकास्नेतर्फ सरकारले ध्यान दिने हो भने अर्थतन्त्रमा सुधार गर्न सकिन्छ ।
अब सरकारले रोजगारी बढाउने कार्यक्रम ल्याउनुपर्छ । जब मानिसहरूको हातमा पैसा पुग्छ, जसले गर्दा होटल तथा वस्तु सेवाको माग बढाउँछ र उत्पादन बढाउँछ । त्यसैले सरकारले वित्त घाटा बढाएर भए पनि पुँजीगत खर्च बढाउनेतर्फ ध्यान दिई अर्थतन्त्र सुधार गर्नुपर्छ ।
प्रस्तुति : दिपक बोहरा