लगानीमैत्री वातावरण बन्न सकेन : देउवा

दाङ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने नसकेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
“सरकारले हालै लगानी सम्मेलन सम्पन्न गरेको छ । देशको विकासका लागि लगानी सम्मेलन आवश्यक रहे पनि सरकारले लगानी गर्ने वातावरण बनाउन सकेन,” देउवाले भने । नेपालमा लगानी गर्न दाताहरु उत्साहित भए पनि लगानीको सुरक्षा हुन नहुनेमा लगानीकर्ताहरु ढुक्क हुन नसेको उनले बताए । सरकारले सम्मेलन गरे पनि नीति बनाउन नसकेको उनको भनाइ थियो । “सम्मेलन मात्र गरेर हुँदैन, लगानी भित्र्याउनका लागि नीति बनाउन आवश्यक छ,” देउवाले भने । लगानीकर्तालाई ढुक्क हुने बातावरण सरकारले बताउन नसकेको समेत उनको आरोप छ । “देशको समृद्धिका लागि लगानी आवश्यक छ तर लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न वातावरण निर्माण हुन सकेको छैन,” सभापति देउवाले भने । नेपालमा अहिले भएका लगानीकर्तासमेत बाहिरीने अवस्थामा रहेको उनको भनाइ छ ।
सभापति देउवाले सरकारले एक वर्षको समयमा कुनै पनि उपलब्धीमूलक काम गर्न नसकेको बताए । सरकारले विकास र समृद्धिका ठूला कुरा गर्ने गरे पनि देखिने गरि एक वर्षको अवधिमा केही काम गर्न नसकेको उनले दाबी गरे । संसद्मा कांग्रेसले प्रतिपक्षको भूमीका खेल्न नसकेको हो भन्ने पत्रकारहरुको प्रश्नमा देउवाले आफूहरु प्रतिपक्षको स्पष्ट भूमिकामा रहेको बताए । उनले रेलिङ भाँच्ने र तोडफोड गर्ने प्रतिपक्षको काम नभएको बताए । “हामीले प्रतिपक्षका रुपमा सशक्त रुपमा कुरा उठाएका छौं, रेलिङ भाँच्ने काम गरेका छैनौं,” देउवाले भने । नेपाली कांग्रेस हिंसात्मक कार्यमा नलाग्ने उनले बताए । अनुशासन समितिमा आफ्नाविरुद्ध परेको अनुशासनहिन काम गरेको भन्ने उजुरी भ्रमपूर्ण रहेको उनले बताए ।