Logo

बारामा एनआरएनएले सुरु ग-यो राहत वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बारा र पर्साका हावा हुरी पीडितलाई राहत वितरण सुरु गरेको छ । एनआरएनएले आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई प्रभावित क्षेत्रमै पुगेर राहत वितरण सुरु गरेको हो ।
अध्यक्ष भवन भट्टको निर्देशनमा उपाध्यक्ष कुमार पन्त तथा सल्लाहकार रामेश्वर शाहलगायत राहत वितरणमा खटिएको बताइएको छ । उक्त टोलीले बाराको पुरिया गाउँका ५ सय घरधुरीलाई प्रतिपरिवार २५ किलो चामल, ५ किलो आलु २ किलो दाल र १ लिटर तेल वितरण गरेको थियो ।
संघले हावाहुरीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ । संघले विज्ञप्ती जारी गर्दै प्राकृतिक प्रकोपका कारण भएको क्षतिले संघलाई निकै मर्माहत एवं स्तब्ध बनाएको जनाएको छ ।
“हावाहुरीका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरी भएको घटनामा धेरै व्यक्तिको निधन भएकोमा संघ गहिरो शोक व्यक्त गर्दछ,” संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दै संघ घटनामा परी घाइते भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।”
प्राथमिक चरणको आवश्यक राहतका लागि संघ जुटिरहेको जनाइएको छ । यसका साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद्लगायत अभियन्ताहरुमा राहत कार्यका लागि तुरुन्त जुट्न तथा सहयोग गर्न आग्रह पनि गरेको छ । यसरी नै संघले यस विपद्को घडीमा सबै सरोकारवालाहरुलाई राहत कार्यमा सघाउन हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्