Logo

पुँजी पलायनका कारक तथा नियन्त्रणको आवश्यकता

मध्यम वर्ग समाज, जो आफ्ना छोराछोरीलाई विदेश पठाउन उन्मुख रहेका छन्, उनीहरू पुँजी पलायनको प्रमुख कारक बन्दै आएका देखिन्छन् ।

विश्व बजारको आकार ठूलो भइरहेको यस समयमा वास्तवमै भन्नुपर्दा पुँजी पलायन रोक्न असम्भव छ । एकातर्फ हामी हाम्रै पुँजीलाई भरपर्दो बनाउन सकिरहेका छैनौं, अनुदान र ऋणमा भर पर्दै गर्दा हाम्रो आफ्नो पुँजीलाई बलियो बनाउन आवश्यक उत्तिकै छ ।

सम्पत्ति वा रकम एउटा मुलुकबाट बाहिरिने प्रक्रियालाई पुँजी पलायन भनी बुझिने गरिएको छ । सामान्यतया पुँजी पलायन एउटा आर्थिक कारणले हुने विश्लेषण गरिएको भेटिन्छ । कर वृद्धिको कारण, बढ्दो महँगी वा अर्थतन्त्र अनिश्चित हुँदाको अवस्थामा पुँजी पलायन विश्वव्यापी रूपमा हुँदै गएको भेटिन्छ । १९९० ताका समयमा एसियन र ल्याटिन अमेरिकी मुलुकमा देखिएको पुँजी पलायनको भय, २००१ मा अर्जेन्टिनाको अर्थतन्त्रले स्पष्ट पारिदियो । २००१ मा अर्जेन्टिनामा भएको आर्थिक संकटको कारण नै पुँजी पलायन भनी भनिरहँदा अहिले विकासोन्मुख मुलुकहरूको मुख्य समस्या र डर पुँजी पलायन हुनु सायद स्वाभाविक हो ।
नेपालमा हाल देखिएको तरलतासम्बन्धी समस्याको प्रमुख कारणमध्ये एक पुँजी पलायन नै रहेको स्पष्ट बुझ्न सकिन्छ । हुन त तरलताको पछाडि अन्य कारणहरू, जस्तो— समयमा सरकारी खर्च नहुनु, अनुत्पादक क्षेत्रमा लगानी बढ्नु आदि पनि रहेका छन्; यद्यपि अहिलेको यस समस्याको पछाडि एउटा महत्वपूर्ण कारण भनेको पुँजी पलायनसमेत हो ।
अहिले नेपालबाट पुँजी पलायन हुने तीन प्रमुख स्रोत र कारण रहिआएको देख्न सकिन्छ । पहिलो कारण त, अहिले उच्च संख्यामा नेपाली युवाहरूले आफ्नो भविष्य तेस्रो मुलुकमा देख्नु हो । मूलतः अध्ययन शुल्क नै उच्च रहेको ती विदेशी मुलुकहरूमा स्वदेशबाट शुल्कको नाममा बाहिरिने रकम आफैं पुँजी पलायन हो । त्यसबाहेक जब ठूलो संख्यामा नेपाली युवाहरू नेपालमा भन्दा भविष्य तेस्रो मुलुकमा देख्न थाल्छन्, स्वाभाविक रूपले उनीहरूको मनसाय त्यतै बसोबास गर्नेतिर उन्मुख हुन पुग्छ ।
उनीहरू दिगो रूपमा यताको सम्पत्ति बेचेर त्यतै बसोबास गर्ने नीतितर्फ लाग्छन् र यहाँ बेचेको घरजग्गाको रकम त्यतै घरजग्गा किन्ने बहानामा विदेशतर्फ लैजान्छन् । यसले गर्दा मध्यम वर्ग समाज, जो आफ्ना छोराछोरीलाई विदेश पठाउन उन्मुख रहेका छन्, उनीहरू पुँजी पलायनको प्रमुख कारक बन्दै आएका देखिन्छन् ।
दोस्रो प्रमुख कारण अहिले देखिने भनेको ठूला लगानीकर्ताको ट्याक्स हेवन मुलुकप्रति आकर्षण रहेको बुझ्न सकिन्छ । यस्ता ट्याक्स हेवनमा करको फाइदा हुने भएको हुँदा आकर्षणको केन्द्र बन्नु स्वाभाविक हो । स्वतन्त्र बैंकिङ प्रणाली भएर न्यून सञ्चालन र उत्पादन खर्च हुने भएको हुँदा यहाँ ठूला–ठूला लगानीकर्ताको आँखा जाने गरेको पाइन्छ । नेपालजस्तो मुलुक जहाँबाट बाहिर लगानी गर्न कठिन हुने गरेको भेटिन्छ, त्यहाँबाट बाहिर लगानी गर्नुपर्दा गैरकानुनी माध्यम नै प्रयोग गर्नुपर्ने बाध्यता रहन्छ, जसको पुष्टि प्यानमा पेपर्सले गरिसकेको छ । विनोद चौधरीकै लगानी त्यता भएको देखिँदा हाम्रो स्वदेशमा हुनुपर्ने लगानी त्यतै आकर्षित भएको सरह देखिने गरेको भेटिन्छ । हामी विदेशी लगानी आकर्षित गरेर आर्थिक रूपमा अब्बल हुनुपर्ने ठाउँमा झन् कमजोर बन्दै गएको देखिन्छ ।
स्वाभाविक रूपले बाटो सहज हुँदा लगानीकर्ताहरूले बाहिर लगानी गरिरहेको भेटिन्छ, जसले एउटा ठूलो मात्रामा पुँजी पलायनको सहयोगी भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ ।
भ्रष्टाचारिताबाट कमाइएको धन नेपालमा राख्दा विभिन्न झन्झट हुने हुँदा त्यसबाट आर्जित रकम पनि विदेशमै पठाइदिने परिपाटी हावी रहेको देखिन्छ । हुन्डी प्रयोग गरी सहजै पठाइने त्यस्ता रकम आजभोलि विदेशमा रहेका आफन्तलाई पठाइदिने परिपाटी रहिआएको भेटिन्छ । उताबाट सोही रकम कानुनी मापदण्ड पूर्ति गरेर विप्रेषणको रूपमा आउने गरिएको बेलाबखत देखिने गरे तापनि कतिपय अवस्थामा त्यतै हराउने गर्छ । त्यसबाहेक नेपालीहरूले अहिले स्वीस बैंकमा गर्ने गरेको निक्षेप पनि सोही विषयको प्रमाण हो । दक्षिण एसियामै चौथो ठूलो निक्षेपकर्ता भनी चिनिएको नेपालमा यस वर्ष मात्र १ सय ५ प्रतिशतले वृद्धि भएको तथ्यांकले यहाँबाट ठूलो रकम बाहिरिएको तथ्य देखिन्छ नै । गैरकानुनी माध्यमबाट आर्जित ठूलो रकम विदेशतर्फ पलायन हुने यस अवस्थामा पुँजी पलायनको प्रमुख कारकसमेत बनेको पुष्टि भएको देखिन्छ ।
यसबाहेक नियमित रूपमा हुने आयातको मात्रा नेपालको निमित्त पुँजी पलायनको कारक बनेको देखिन्छ । हामीले बिहान उठेपछि प्रयोग गर्ने दन्तमन्जनदेखि बेलुका सुत्ने खाटको तन्नासम्म, दिउँसो चढ्ने मोटरसाइकलदेखि त्यसमा प्रयोग हुने इन्धनसम्म आयातित हुने हाम्रो मुलुकमा एउटा ठूलो रकम आयातकै कारण बाहिरिन्छ ।
नेपालमा गुणस्तरीय उत्पादन नहुँदा विभिन्न रियालिटी शोको शुल्कमार्फत होस् या कुरकुरे वा भुजिया खरिदको मार्फत होस्, रकमहरू दैनिक बाहिरिन्छ ।
विश्व बजारको आकार ठूलो भइरहेको यस समयमा वास्तवमै भन्नुपर्दा पुँजी पलायन रोक्न असम्भव छ । एकातर्फ हामी हाम्रै पुँजीलाई भरपर्दो बनाउन सकिरहेका छैनौं, अनुदान र ऋणमा भर पर्दै गर्दा हाम्रो आफ्नो पुँजीलाई बलियो बनाउन आवश्यक उत्तिकै छ । तत्कालीन अवस्थाका लागि पुँजी पलायनको निमित्त लिइएको प्रतिपत्रमा मार्जिन रकमबारे नीतिले केही रोकथाम गर्ने जस्तो देखिए तापनि दिगो नीतिबारे समयमै बहस गरी एक दृढ निष्कर्षमा पुग्न आवश्यक छ । देशकै ढुकुटी रित्तिने गरी हुन थालेको पुँजी पलायनमा समयमै अर्थमन्त्रालय, योजना आयोग र नेपाल राष्ट्र बैंकबीच दृढ सहकार्य तत्कालीन आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्