Logo

भ्वाइस सेवामा नगण्य, इन्टरनेट सेवामा आशालाग्दो

दूरसञ्चार क्षेत्रमा ग्राहक वृद्धिदर सुस्त

मुलुकमा दूरसञ्चार क्षेत्रका सेवाग्राहीको वृद्धिदरमा सुस्तता देखिन थालेको छ । नेपालको कुल जनसंख्याभन्दा बढी संख्यामा मोबाइल सिम वितरण भइसकेकाले भ्वाइसतर्फ दूरसञ्चार सेवा लिनेको संख्या उल्लेख्य बढ्न नसकेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल जनसंख्याको अनुपातमा १३९.८७ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको छ भने ब्रोडब्यान्ड इन्टरनेट सेवा पनि जनसंख्याभन्दा बढी वितरण भएको छ । प्राधिकरणका अनुसार हालसम्म १२२.५१ प्रतिशतमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ ।
प्राधिकरणले प्रत्येक महिना निकाल्ने दूरसञ्चार क्षेत्रको विस्तृत तथ्यांक एमआईएस प्रतिवेदन अनुसार अघिल्लो महिना ४ करोड २० लाख १ हजार ४ सय २३ को संख्यामा दूरसञ्चार सेवा प्रवाह भएकोमा गत पुससम्ममा ४ करोड २२ लाख ८२ हजार ६सय ५८ को संख्यामा सेवा प्रवाह भएको छ । पछिल्लो एक महिनाको अवधिमा नेपाल टेलिकमको जीएसएम सेवा लिनेको संख्या २ लाख ४१ हजार ८ सय ३५ ले बढको छ । सोही अवधिमा एनसेलको जीएसएम मोबाइल सेवा लिनेको संख्या भने ३५ हजार ४ सय ५२ को संख्यामा मात्र वृद्धि भएको देखिन्छ । यसै अवधिमा स्मार्ट टेलिकमका जीएसएम सेवाग्राही जम्मा ८ सय ९१ जनाले मात्र बढेका छन् ।
प्राधिकरणका अनुसार नेपाल टेलिकमका पीएसटीएन, एफटीटीएच भ्वाइस, भिस्याट, सीडीएमए लगायतका सेवामा २ करोड ३० लाख ३३ हजार २ सय २९ सेवाग्राही रहेकोमा एनसेलका १ करोड ६८ लाख ७७ हजार २ सय १६ र स्मार्टका २३ लाख ६९ हजार २ सय २७ सेवाग्राही रहेको तथ्यांक छ । एनसेल र स्मार्टले जीएसएम सेवामात्र प्रवाह गर्छन् ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल पछिल्लो समय दूरसञ्चार सेवा मुलुकका अधिकांश क्षेत्रमा पुगिसकेको र एकपटक सेवा लिएपछि उपभोक्ताले बारम्बार सेवा लिइरहनु नपर्ने भएकाले ग्राहक आधार वृद्धिमा सुस्तता देखिनु स्वाभाविक भएको बताउँछन् । यद्यपि, इन्टरनेट सेवामा भने अझै बजार विस्तारको क्रम रहेकाले सेवाग्राहीको वृद्धिदर बढ्दै गएको उनको भनाइ छ ।

इन्टरनेटमा एकै महिना १० लाख बढे
दूरसञ्चार क्षेत्रको भ्वाइस टेलिफोनी क्षेत्रमा सेवाग्राहीको वृद्धिदर सुस्त देखिए पनि ब्रोडब्यान्ड इन्टरनेटमा भने तीव्र वृद्धि भइरहेको छ । प्राधिकरणका अनुसार गत पुसमा अघिल्लो महिनाको तुलनामा झन्डै १० लाख ग्राहक थपिएका छन् । मंसिरसम्ममा ३ करोड ६० लाख ४१ हजार १०६ को संख्यामा ब्रोडब्यान्ड सेवा प्रवाह भएकोमा पुससम्ममा ३ करो ७० लाख ३५ हजार ८४९ को संख्यामा सेवा पुगको छ । यसरी एकै महिना ९ लाख ९४ हजार ७४३ को संख्यामा सेवा प्रवाह विस्तार हुँदा अघिल्लो महिना ११९.४९ प्रतिशत रहेको जनसंख्या र ब्रोडब्यान्ड इन्टरनेटबीचको अनुपाल पुसमा १२२.५१ प्रतिशत पुगेको छ ।
ब्रोडब्यान्ड सेवामा पनि मोबाइल ब्रोडब्यान्डको तुलनामा फिक्स्ड (वायरलेससमेत)को हिस्सा भने नगण्य छ । प्राधिकरणका अनुसार मोबाइल ब्रोडब्यान्डको पहुँच ९०.९० प्रतिशत रहेकोमा फिक्स्ड ब्रोडब्यान्डको पहुँच ३०.९२ प्रतिशतमा सीमित रहेको छ । यो सेवातर्फ पनि सरकारी स्वामित्वको नेपाल टेलिकम नै अग्रणि देखिएको छ । मोबाइल ब्रोडब्यान्डअन्तर्गत टेलिकमका २ करोड ४ लाख ५५ हजार ३ सय ६३ सेवाग्राही रहेकोमा एनसेलका ८२ लाख २३ हजार ६ सय ८२ र स्मार्टका १ लाख ६४ हजार ८ सय ४८ सेवाग्राही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्