गैरआवासीय नेपालीको लगानीमा आशंका नगर्न आग्रह «

गैरआवासीय नेपालीको लगानीमा आशंका नगर्न आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गैरआवासीय नेपालीको लगानीमाथि आशंका गर्न आवश्यक नरहेको बताएका छन् । गैरआवासीय नेपालीहरुको लगानीसँग नेपाली डराउन नहुने भन्दै उनले एनआरएनलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालको नेतृत्व वर्गले आत्मविश्वास देखाउनुपर्ने बताए ।
आइतबार गैरआवासीय नेपाली विश्व सम्मेलनको लगानीसम्बन्धी सत्रलाई सम्बोधन गर्दै थापाले भने, “हामी नेपालभन्दा बाहिर बसेका पहिलो पुस्ताका नेपालीलाई जसरी नागरिकता दिन डरायौं, पासपोर्ट दिन डराएका छौं र अधिकार दिन डराएका छौं, त्यसैगरी कता–कता एनआरएनको लगानीसँग पनि डराएको देखिन्छ ।” बाहिरबाट आएर कमाएर फिर्ता पो लिएर जान्छन् कि भन्ने डर राख्न नहुने भन्दै उनले नेपालमा संकीर्ण मानसिकताका कारण नेपालमा यथेष्ट लगानी नआएको बताए । थापाले भने, “हामीले एनआरएनसँग केही नयाँ ढंगले साझेदारी गर्नुपर्ने छ । हामी भारतसँग वा चीनसँग, अमेरिकासँग, युरोपसँग मात्र होइन, आफ्नै दाजुभाइसँग पनि डराएर लगानी संकुचन गरिरहेका छौं ।” थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको पनि बताए । “नेपालमा अबको आठ–दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको छ,” उनले भने, “नेपालको कृषि निर्वाहमुखी छ र मानिसहरुलाई बाहिर पठाएर अर्थतन्त्रमा असर परिरहेको छ । हामीसँग भएको आन्तरिक स्रोत सम्पूर्ण रुपमा परिचालन गर्दा पनि बाहिरबाट स्रोत परिचालन नगरी हामीलाई पूर्वाधारको विकासमा अभाव हुन्छ । आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न सकिदैन ।”
नेपाललाई तत्काल लगानी आवश्यक भएकोले गैरआवासीय नेपालीले दुई वर्ष पछि लगानी गर्ने सोचेको भए आजै गर्न पनि थापाले आग्रह गरे । कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि गैरआवसीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरे । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले गैरआवासीय नेपालीको लगानी भित्र्याउन सरकार तथा केन्द्रीय बैंकले सहजीकरण गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्