निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले लक्ष्य पूरा गर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माणका लागि निजी क्षेत्रसँग छलफल गरेका छन् ।
उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाललसँग मन्त्री शर्माले छलफल गरेका हुन् ।
मन्त्री शर्माले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार आफ्नो जिम्मेवारी पूरा गर्ने दिशामा अघि बढिरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए । “मैले बजेट निर्माण थाल्नुअघि प्रधानमन्त्रीसँग छलफल गरेको छु” उनल भने, “सरकारलाई अहिलेसम्मकै सफल र जनताको नजरमाा लोकप्रिय हुने हिसाबले बजेट बनाउन सुझाव दिनुभयो ।”
बजेटमा व्यवसायीको मात्र नभई दुरदराजका सर्वसाधरणको पनि कुरा सुनिने उनले बताए । “अहिले तपाईहरु (निजी क्षेत्र) सँग सुझाव लिएको छु । केही दिनमै कर्णालीदेखी झापासम्मका नागरिकको पनि सुझाव लिन्छौं र यसपटकको बजेट सबैलाई अपनत्व हुने गरी सार्वजनिक गर्छौं ।” मन्त्री शर्माले भने ।
शोधानान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको कमीलाई सरकारले नियमन गर्न खोजेपनि बाह्य कारणाले गर्दा अप्ठ्यारो परेको उनले बताए । मन्त्री शर्माले राजनीतिज्ञ, कर्मचारी, व्यवसायी र आम उपभोक्ताले देशको हित सोच्दा आफ्नो स्वार्थको कुरा हेर्न नहुने बताए । साथै, व्यवसायीको समस्या अर्थ मन्त्रालयले हल गर्ने बताउँदै जुनसुकै समस्या लिएर आउन पनि उनले आग्रह गरे ।
“निजी क्षेत्रको समस्याको संरक्षकत्व गर्ने ठाउँ यही हो । यो भन्दा अरु ठाउँ नै छैन” उनले भने, “त्यसैले आफ्नो स्वार्थलाई अलि पर राखेर देशलाई फाइदा हुने कुरा लिएर आउन म आग्रह गर्छु ।” उनले अर्थतन्त्र र व्यवसायीक क्षेत्रका बारेमा चिन्ता प्रकट गर्नु सकारात्मक भएको भन्दै यसमा राजनीतिक स्वार्थ भने नराख्न सुझाव दिएका थिए ।
“बिना स्वार्थ देशको अर्थतन्त्रलाई माथी उठाउन म तयार छु । तपाईहरु पनि तयार भएर आउनुस्” उनले भने ।
छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले अल्पकालिन, मध्यकालिन् र दीर्घकालिन सुझाव पेश गरेका थिए । उनले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमता भन्दा बाहिरको विषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको बताए ।
“अहिले हामी जुन समस्याबाट गुज्रिरहेका छौं । यो नियन्त्रण गर्ने कुरा भनेको सरकारको क्षमतता भन्दा बाहिर छ” उनले भने, “त्यसैले निजी क्षेत्रको मनोबल पनि धेरै खस्केको छ ।
उद्योग परिसंघका अध्यक्ष अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिए । उनले ऊर्जामा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेको भन्दै पीपीए रोक्ने काम ठीक नभएको धारणा राखे ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमैत्री वातावरण सृजना गर्न सुझाव दिए ।