आईएमएफले विश्व वृद्धि प्रक्षेपण बढायो

अन्तर्राष्ट्रिय मुद्रा कोषले २०१८-२०१९ का लागि विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण बढाएको छ । अमेरिकी कर कटौतीले विश्वकै ठूलो अर्थतन्त्रमा लगानी बढाउने सम्भावना भएको र उसका प्रमुख व्यापार साझेदारलाई पनि सहयोग गर्ने कोषले जनाएको छ ।
तर कर कटौतीले बढाउने खर्चबाट हुने लाभको अन्त्यसँगै २०२२ देखि अमेरिकी वृद्धि कमजोर हुन थाल्ने कोषले वल्र्ड इकोनोमिक आउटलुकको अद्यावधिकमा जनाएको छ ।
कर कटौतीले अमेरिकी चालू खाता घाटा बढाउने, अमेरिकी डलर मजबुत बनाउने र अन्तर्राष्ट्रिय लगानी प्रवाहलाई असर पार्ने कोषका प्रमुख अर्थशास्त्री माउसी अब्स्टफेल्डले बताए ।
धेरै मुलुकमा समस्याग्रस्त ऋणको तहमा हुने वृद्धिले भने पछिल्लो समयमा गएर प्रभाव पार्न सक्ने पनि कोषकी प्रबन्ध निर्देशक क्रिस्टिना लेगार्डले बताइन् ।
ब्याजदरमा हुने अचानक वृद्धिले केही मुलुकको ऋणको स्थायित्वमाथि प्रश्न उठ्न सक्ने अब्स्टफेल्डले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा हस्ताक्षर गरेको रिपब्लिकनको बृहत् आकारको १.५ ट्रिलियनको कर हेरफेरलाई उनको पहिलो वर्षकै ठूलो कानुनी विजय मानिएको छ ।
१९८० को दशकदेखिकै पहिलो यस किसिमको कर प्याकेजले कर्पोरेट करलाई ३५ प्रतिशतबाट २१ प्रतिशतमा झारेको छ, साथसाथै यसले कैयू मानिसको व्यक्तिगत करको बोझ पनि हटाएको छ ।
अमेरिका र चीनको वृद्धि उल्लेख गर्दै कोषले यो वर्ष र आगामी वर्ष विश्वव्यापी वृद्धि ३.९ प्रतिशतले हुने जनाएको छ । यो अक्टुबरमा गरिएको अघिल्लो अद्यावधिकको तुलनामा ०.२ प्रतिशत बिन्दुले बढी हो ।
अमेरिकी अर्थतन्त्रमा लगातार वृद्धि भइरहेको छ, तर २००७–२००९ को पछिल्लो महामन्दीदेखि वार्षिक वृद्धि भने ओरालो लागेको छ । कोषले यो वर्ष अमेरिकी अर्थतन्त्र २.७ प्रतिशतले विस्तार हुने जनाएको छ । यो वृद्धिदर कोषले नै अक्टोबरमा गरेको प्रक्षेपणको तुलनामा धेरै उच्च हो । आगामी वर्ष अमेरिकी वृद्धि २.५ प्रतिशत हुने पनि कोषले जनाएको छ ।
कोषले युरो क्षेत्र विशेष गरी जर्मनी, इटाली र नेदरल्यान्ड्सको वृद्धि पनि समीक्षात्मक रूपमा बढाएको छ । यसले आन्तरिक र बाह्य रूपमा पनि माग बलियो भएको प्रतिनिधित्व गरेको छ ।
यद्यपि कोषले यो वर्ष स्पेनको वृद्धि प्रक्षेपण ०.१ प्रतिशत बिन्दुले कटौती गरेको छ । क्याटालोनिया क्षेत्रको स्वतन्त्रताले व्यावसायिक मनोबल र मागमा असर पार्न सक्ने र यसले राजनीतिक स्थायित्वमा असर पार्न सक्ने बताउँदै कोषले स्पेनको वृद्धि प्रक्षेपण कटौती गरेको हो ।
कोषले यो वर्ष र अगामी वर्षका लागि जापानको वृद्धि प्रक्षेपणलाई समीक्षाकृत रूपमा बढाउँदै क्रमशः १.२ र ०.९ प्रतिशतले वृद्धि हुने जनाएको छ । कोषले यस वर्षका लागि बेलायतको वृद्धि १.५ प्रतिशत कायम गरेको छ । कोषले चीनको वृद्धि यो वर्षका लागि ६.६ प्रतिशत र आगामी वर्ष ६.४ प्रतिशत हुने जनाएको छ ।