कांग्रेस पार्टी कार्यालयमा नेविसंघको प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने लगायतका माग पूरा गर्न पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्व केन्द्रिय सदस्य अनिल खनालले भविष्यमा बलियो पार्टी निर्माणको लागि आजको बलियो नेविसंघ निर्माण गर्न आवश्यक रहेको बताए । उनले नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको आवश्यक्ता भएको बताउँदै नेविसंघको विधानको पूर्ण कार्यान्वयन गराउन, सबै उमेरका विद्यार्थीहरुको प्रतिनिधित्व हुनेगरी विधानबमोजिम तदर्थसमिति गठन गर्न माग गरे । त्यस्तै नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जनाए । नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियू निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न मागसमेत गरेको छ ।