Logo

नेप्सेको समस्या समाधान गर्न निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले केही दिनअघि नेप्से बन्द भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । दोस्रो त्रैमासिक समीक्षा बैठकमा मन्त्री शर्माले त्यसको तत्काल छानबिन गर्न र समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरूलाई निर्देशन दिए ।
“केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस् । यो प्राविधिक विषय मात्र होइन जस्तो लाग्छ । यसले समग्र पुँजी बजारलाई नै असर गरेको छ,” उनले भने ।
राजस्व सचिव कृष्णहरि पुष्करले पनि सेयर बजार बन्द भएको विषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न निर्देशन दिए । सोमबार धितोपत्र दलाल व्यवसायी (ब्रोकर)को डेटा सेन्टरमा समस्या आएका कारण कारोबार सुरु भएको १ घन्टा ५३ मिनेटपछि सेयर कारोबार हुन सकेको थिएन । ब्रोकरहरुले सामूहिक रुपमा सञ्चालन गरेको टीएमएस सिस्टममा समस्या देखिएपछि दिनभर रिकभर नभएका काण कारोबार ठप्प भएको थियो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डको लाचारी तथा कानुन निर्माणमा ढिलाइका कारण पनि लगानीकर्तामाथि अन्याय भएको थियो । हाल सञ्चालित ५० वटा ब्रोकरमध्ये करिब १५ वटाले मात्रै व्यक्तिगत रुपमा डेटा सेन्टर सञ्चालन गरिरहेका छन् । बाँकी ब्रोकर कम्पनीले संयुक्त रुपमा सेयरिङ मोडेलमा डेटा सेन्टर सञ्चालन गरिरहेका छन् । जसका कारण ३० वटा ब्रोकरको टीएमएसमा समस्या देखिएपछि कारोबार बन्द भएको थियो ।
नेप्सेले २०७५ वैशाखमा ब्रोकरहरुलाई आफ्नै डेटा सेन्टर राख्न निर्देशन दिएको थियो । तर, केही ब्रोकरहरुले छुट्टाछुट्टै सर्भर सञ्चालन गर्दा बढी लागत पर्ने भएपछि सामूहिक रुपमा डेटा सेन्टर प्रयोग गर्दै आएका छन् ।
नेप्सेका अनुसार ब्रोकरलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गरी लगानीकर्तालाई सहज सेवा दिने उद्देश्यले धितोपत्र कारोबार सञ्चालन विनियमावली पनि संशोधन गरी बोर्डमा पठाइसकेको छ । तर बोर्डले ढिलाइ गरेका कारण कार्यान्वयनमा आउन सकेको छैन । लगानीकर्ता पीडित हुँदा ब्रोकरले नेप्सेलाई दोष दिने अनि नेप्सेले ब्रोकरलाई दोष दिने गरेका कारण लगानीकर्ता मारमा परेका छन् । नेप्सेले प्राविधिक समस्याको समाधान गर्न नसकेपछि लगानीकर्ता आक्रोशित भएका थिए ।
अर्थमन्त्रीले नियम कानुनले सरकारी संयन्त्रलाई बाँधेर राखेको भन्दै सच्याउन निर्देशन पनि दिएका छन् । उनले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभए पनि बिस्तारै सुधार भइरहेको पनि बताए । समीक्षामा अर्थ मन्त्रालय मातहतका महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सञ्चय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायतले चालू आर्थिक वर्ष २०७८-०७९ को दोस्रो त्रैमासिकका लागि राखिएको लक्ष्यअनुसार अधिकांश काम सम्पन्न भएको बताएका थिए ।
अर्थमन्त्रीले नीति निर्माणमार्फत अर्थतन्त्रमा सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिन पनि निर्देशन दिए । संस्था सुधार गर्ने, प्रविधिको प्रयोग गर्ने, प्रविधिको अपडेट गरिरहनेलगायतका कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
आयातमा भएको वृद्धि सरकारले लिएको नीतिअनुसार विस्तारै सुधार भइरहेको भन्दै उनले राष्ट्र बैंक अझै उदार भयो भने उक्त समस्या सुधार हुने बताए । बैंकको बढ्दो ब्याजदरप्रति चिन्ता प्रकट गर्दै उनले बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा भएका कारण हाल ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेको बताए । “यसलाई समाधान गर्ने कि हामीले यस्तै चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दिनुहोला,” उनले भने ।
मन्त्री शर्माले डलर भित्र्याउन सहजीकरण गर्नुपर्ने, रेमिट्यान्स एजेन्टको कमिसन दरबारे अध्ययन गरेर विदेशमा रहेका नागरिकको पैसा सहज रुपमा नेपाल भित्र्याउन पहल गर्ने तथा रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउन सबै प्रकारका पहलकदमी अवलम्बन गर्नुपर्ने सुझाव पनि दिए ।
राष्ट्र बैंकका अधिकारीहरुले मूल्यवृद्धिको वार्षिक लक्ष्य ६.५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५.९७ प्रतिशत रही बाञ्छित सिमाभित्रै रहेको जानकारी दिएका थिए । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि थप चर्किंदै गएकाले नेपाली बजारमा यसको असरका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बिदेशी मुद्रा सञ्चितीमा चाप बढेको भन्दै समाधानका लागि ध्यान दिन निर्देशन दिए । उनले सबै निकाय जिम्मेवार भई काम गरे वर्तमान अर्थव्यवस्थामा सुधार गरी जनतामाझ राम्रो नतिजा दिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्