पर्यटन प्रवर्द्धनमा राज्यले नबुझेको चलचित्रको भूमिका

पूर्वनिर्धारित मिति परिवर्तन नभए बलिउड सिनेमा निर्माण कम्पनी धर्मा प्रोडक्सन चलचित्र छायांकनका लागि केही समयपछि नै नेपाल आउँदैछ ।
नेपाली चलचित्र ‘प्रेम गीत–३’को लोकेसन हेरेर धर्मा प्रोडक्सन छायांकनका लागि नेपाल आउन लागेको हो । ‘प्रेम गीत–३’ का निर्माता तथा निर्देशकसमेत रहेका सन्तोष सेनले ‘प्रेम गीत–३’ कै कारण धर्मा प्रोडक्सन नेपाल आउन लागेको दाबी गरेका छन् ।
“हामीले हाम्रो चलचित्र मुम्बईको जुन स्टुडियोमा हिन्दी डविङ ग¥यौं, धर्मा प्रोडक्सनको अफिस त्यही बिल्डिङको माथिल्लो फ्लोरमा थियो,” सेन भन्छन्, “हामीले डबिङ र एडिटिङ गर्दा हाम्रो चलचित्रको सिन देखेर धर्मा प्रोडक्सनले नेपालमा चलचित्र छायांकन गर्ने निर्णय गरेको हो ।”
‘प्रेम गीत–३’को अधिकांश छायांकन मनाङमा गरिएको छ । मनाङको मनोरम दृश्यले धर्मा प्रोडक्सनलाई नेपालमा छायांकनको लागि लोभ्याएको सेनको भनाइ छ ।
यदि अन्यथा नभएमा धर्मा प्रोडक्सन नेपालमा आउने र उसले पनि केही समयअगाडि छायांकन भएको ‘उचाइ’ले जस्तै नेपालमा मोटो रकम खर्च गर्ने अपेक्षा गरिएको छ । नेपालमा छायांकनको व्यवस्थापन गरेको थ्री–ह्विलर्सका अनुसार ‘उचाइ’ले नेपालमा १६ करोड रुपैयाँ खर्च गरेको छ । धर्मा प्रोडक्सनको नेपाल छायांकनको व्यवस्थापन पनि थ्री–ह्विलर्सले नै मिलाउँदैछ ।
‘प्रेम गीत–३’ कै कारण अर्को चलचित्र छायांकनका लागि नेपाल आउनु भनेको चलचित्रको तागत हो । यसलाई पर्यटन प्रवद्र्धनका रूपमा बुझ्न सकिन्छ । “हाम्रो चलचित्रको सिन नदेखेको भए धर्मा प्रोडक्सन नेपाल आउने थिएन,” उनी दाबी गर्छन्, “चलचित्रमा पर्यटन प्रवद्र्धनको क्षमता हुन्छ भनेको यही हो । यदि राम्रो चलचित्र छ भने त्यसकै आधारमा पर्यटक आउँछन् ।”
पर्यटन प्रवद्र्धनको माध्यम बनाउने देश विश्वमा थुप्रै छन् । हिमाली क्षेत्र भएकाले चाहेको खण्डमा नेपालले यसको सहजै सदुपयोग गर्न सक्ने संभावना छ । त्यसमा पनि हिमाल, पहाड र तराई सबै भूगोल सानो क्षेत्रमा नै देख्न पाइने भएकाले नेपाली चलचित्रमार्फत विश्वभरका पर्यटकलाई नेपाल भित्र्याउन सकिने सेनको पनि बुझाइ छ ।
सरकारी भूमिकाको खोजी
नेपालमा पर्यटक भित्र्याउनका लागि आकर्षक भूगोल र समृद्ध संस्कृति मात्र उपलब्ध भएर भने हुँदैन, बरु सरकारले पनि विशेष ध्यान दिनुपर्छ । खास गरी नेपालको पर्यटन प्रवद्र्धनमा चलचित्रलाई उपयोग गर्नका लागि सरकारले चलचित्र निर्माण कम्पनीलाई सहयोग गर्नुपर्ने यस क्षेत्रको आवाज छ । उनीहरूका अनुसार, यस्तो काम अहिलेसम्म खासै भएको छैन ।
पर्यटन नै नेपालको विकासको मूल आधार हो भनेर सरकारले भनिरहेको अवस्थामा नेपाली चलचित्रले यहाँको भव्यता देखाउन सके विश्वभरका पर्यटकको ध्यान खिच्न सकिन्छ । तर, यसका लागि सरकारले मन खोलेर सहयोग गर्नुपर्नेमा सेनको जोड छ ।
‘पशुपतिको यात्रा सिद्राको व्यापार’ भने झैं चलचित्रको पनि व्यापार पनि हुने पर्यटन पनि प्रवद्र्धन हुने तथ्य निर्विवाद छ । यसलाई पहिचान गरेर अगाडि बढ्न सके अपेक्षित पर्यटक नेपाल भित्र्याउन सकिने संभावना पर्याप्त छ । तर, यत्रो संभावना भएको क्षेत्र भएर पनि सरकारले अहिलेसम्म चलचित्रको क्षमतामा विश्वास गरिनसकेको यस क्षेत्रको गुनासो छ । सरकार आफैंले यो माध्यमलाई उपयोग गर्न अग्रसर हुनुको सट्टा चलचित्रकर्मीहरूले हारगुहार गर्दासमेत सरकारले नजरअन्दाज गर्ने गरेको उनीहरूले अनुभव गरेका छन् ।
चलचित्रमार्फत नेपालका मुख्य गन्तव्यहरू विश्वलाई देखाउन सके ट्रेकिङ, हिमाल आरोहण, जंगल सफारी, ताल र झरनाको अवलोकन, संस्कार र संस्कृतिको अध्ययनका लागि विश्वभरका पर्यटकको ध्यान नेपालतर्फ केन्द्रित हुन सक्छ । चलचित्र पटक–पटक हेर्न सकिने भएकाले पनि यो तुलनात्मक रूपमा प्रभावशाली माध्यम हुन्छ । तर, यो वास्तविकतालाई सरकारले नजरअन्दाज गरिरहेसम्म नेपाली गन्तव्यको समुचित उपयोग हुने कुरै भएन ।
“चलचित्रमार्फत आएका पर्यटकले गरेको खर्च हामीलाई राज्यले दिनुपर्ने होइन । सरकारको राजस्व नै बढ्ने हो । तर, पनि किन सरकारले यो तथ्यलाई बुझ्दैन वा बुझ्न खोज्दैन ?,” आश्चर्य मिश्रित प्रश्नसहित सेन भन्छन्, “नेपालको पर्यटन प्रवद्र्धनलाई सहयोग पुग्ने चलचित्रको सबै निर्माण लागत सरकारले व्यहोरोस् भन्ने पनि हाम्रो माग होइन । केही प्रतिशत आर्थिक सहयोग तथा आवश्यक सहजीकरण सरकारले गरोस् भन्ने मात्रै हाम्रो चाहना हो ।” यति काममा सरकारले मुठ्ठी फुकाउन नसक्दा सरकारले पर्यटन प्रवद्र्धनको सबैभन्दा सशक्त माध्यमलाई गुमाइरहेको छ ।
मलेसिया, दुबई, कतार, रसिया, सिंगापुरजस्ता देशहरूले पछिल्लो समय बलिउड चलचित्र निर्माणलाई आकर्षित गर्न विभिन्न सुविधा र सहजता प्रदान गर्दै आएका छन् । “यस्तो व्यवस्था गर्नबाट नेपाल पनि चुक्नु हुँदैन र यसका लागि आवश्यक काम गर्नुपर्छ’, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अध्यक्ष दीपकराज जोशीको धारणा छ ।
आम मानिसको नजरबाट हेर्दा त चलचित्र बनाउनका लागि त्यो देशको सरकारले करसँग सम्बन्धित बाहेक अरू काममा त खासै के भूमिका हुन्छ र भन्ने जस्तो पनि लाग्न सक्छ । तर, कुरा राज्यले उठाउने विभिन्न खाले करका कुरामा मात्र सीमित छैन । ठूला बजेटका चलचित्र र चर्चित कलाकारहरू समावेश चलचित्र निर्माणका क्रममा अनेक त्यस्ता काम आइपर्छन् जो राज्यको तहबाट मात्रै सम्भव छ ।
राज्यको भूमिकाको खोजी गर्दा देशका राजमार्गहरू केही समय खालि गराउनुपर्ने हुनसक्छ । पर्यटकीय स्थलमा विशेष व्यवस्था मिलाईदिने गर्नुपर्छ । सुरक्षादेखि स्वागत र सम्मानको विशेष कार्यक्रम गर्ने जस्ता कामहरू पनि पर्छन् । यस्ता गतिविधिबाट चलचित्र निर्माण गर्न निर्माताहरूलाई आकर्षित गर्न सकिन्छ । जोशी पनि विभिन्न देशमा यस्तो हुने गरेको बताउँछन् ।
नेपालले विदेशका ब्यापार मेलाहरूमा भाग लिएर नेपालमा व्यवसायको सम्भावना र क्षेत्रबारे प्रचार गर्दै लगानीका लागि आकर्षण गर्ने गरेको छ । यो नेपालको व्यापार प्रवद्र्धनका लागि गरिएको काम हो । ठीक त्यसैगरी विश्वमा हुने प्रमुख चलचित्र प्रदर्शनीहरूमा समेत सहभागिता जनाएर नेपालमा चलचित्र छायांकनका लागि आकर्षण गर्ने काम गर्न सकिन्छ ।
चलचित्र छायांकनका लागि नेपाल भौगोलिक रूपमा उपयुक्त स्थान रहेको, सरकारले सुरक्षा र सहजीकरण गर्ने गरेको र कर लगायतका विषयमा छुट र सुविधा रहेको भन्ने जस्ता कुराहरू समावेश गरेर प्रचार गर्न सके धेरै सम्भावना र आशा गर्न सकिने ठाउँ जोशीले पनि देखेका छन् । पर्यटन प्रवद्र्धनका लागि चलचित्र गतिलो माध्यम भएकामा कुनै द्विविधा नरहेको बताउँदै यसलाई समुचित सदुपयोग गर्न सके नेपालले पर्यटनमार्फत अथाह आम्दानी गर्न सक्ने संभावना पनि जोशीले देखेका छन् ।
स्विट्जरल्यान्डमा यश चोपडा
चलचित्रले पर्यटक आगमनमा कसरी वृृद्धि गराउँछ भन्ने गतिलो उदाहरण स्विट्जरल्यान्ड पनि हो । विश्वभर बजार रहेको बलिउड चलचित्रमार्फत स्विट्जरल्यान्डको पर्यटकीय स्थानको प्रचार र प्रवद्र्धनमा सघाएकोमा सन् २०१६ मा स्विट्जरल्यान्डले भारतीय चलचित्र निर्देशक यस चोपडाको शालिक नै निर्माण गरेर सम्मान गरेको छ । सन् २०१२ मा डेङ्ग्युका कारण मृत्यु भएका चोपडाको ३५० किलोको शालिक स्विस सहर इन्टरलाकेनको बर्न क्यान्टनको कुर्शाल गार्डेनमा रहेको छ । यो मुम्बईमा रहेको चोपडाको फिल्म स्टुडियोमा रहेको एउटा प्रतिकृति हो । पतिको शालिक अनावरण गर्न उनकी श्रीमती पामेला चोपडा बुहारी रानी मुखर्जीसहित पुगेकी थिइन् ।
त्यति मात्र नभएर चोपडाको मृत्यु हुनुभन्दा अघिल्लो वर्षअघि त्यहाँको इन्टरलाकेन सरकारले उनलाई ‘इन्टरलाकेनको राजदूत’ को मानार्थ उपाधिले सम्मानित गरेको थियो भने जंगफ्राऊ रेलवेले उनको नाममा एक रेलको नामसमेत राखेको थियो । यसअलावा, इन्टरलाकेनमाएक पाँच तारे विक्टोरिया जंगफ्राउ ग्रान्ड होटल एन्ड स्पाले चोपड़ाको नाममा एक सुइटको पनि नाम राखेको छ । जंगफ्राऊ रेलवेकाप्रमुख कार्यकारी अधिकृत उर्स केसलरले ढुक्कसँग भनेको पाइन्छ, ‘चोपड़ाले स्विट्जरल्यान्ड तथा भारतमा जंगफ्राउ क्षेत्रको सफलताका लागि धेरै महत्वपूर्ण भूमिका निभाएका छन् ।’
उक्त कदमपछि स्विट्जरल्यान्डमा बलिउड चलचित्र निर्माण थप बढ्नुका साथै भारतीय र समग्र विदेशी पर्यटक आगमनमा वृद्धि भएको स्विट्जरल्यान्ड सरकारको ठम्याइ छ । भारत भ्रमण गर्ने कैयौं पर्यटकहरूका भारतीय चलचित्र इतिहासमा सबैभन्दा सफलमध्येमा गनिने चोपडाको सन् १९९५ को फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’हेरेर भारत पुग्ने गरेका हुन्छन् ।
बलिउडसँगै हलिउड चलचित्रको निर्माणपछि स्विटजरल्याण्ड विश्वभरका पर्यटकको अहिले आकर्षक गन्तव्य बनेको छ । उसो त स्विट्जरल्यान्ड जस्तो विकसित देश नेपाल होइन नि त भन्ने तर्क पनि उठ्न सक्छ । तर, चोपडा शहरी क्षेत्र खोज्दै त्यहाँ पुगेका थिएनन् । सन् १९७० मा हनिमुन मनाउन त्यहाँ पुगेका उनले सन् १९८५ मा पहिलो फिल्म ‘फासले’ छायांकन गरेको चार वर्षपछि आधाभन्दा बढी गीत र डान्स सिक्वेन्सहरू स्विट्जरल्याण्डकै राखेर ब्लकबस्टर फिल्म ‘चाँदनी’ बनाएका थिए । उनी त वास्तवमा शहर नभएर स्विट्जरल्यान्डका ग्रामीण क्षेत्रलाई क्यामरामा कैद गर्न चाहन्थे । ग्रामीण क्षेत्रको दृश्य उतार्नुको कारण खुलाउँदै एनडीटीभीको एउटा अन्तर्वार्तामा उनले भनेकै छन्– यो असाध्यै शान्तिपूर्ण, ज्यादै रोमान्टिक र धेरै सुन्दर हुन्छ ।
स्विट््जरल्यान्डको जस्तै भौगोलिक समानता नेपालको पनि छ भने नेपालमा झन धेरै सांस्कृतिक र धार्मिक विविधतासहित मनोरम र विशाल हिमश्रृंखला छन् । त्यसैले नेपालमा पनि चलचित्रमार्फत पर्यटन प्रचार प्रसार गरी पर्यटक आगमनमावृद्धि गर्न सकिन्छ भन्ने बुझ्न सकिने चलचित्र निर्देशक छिरिङ रितार शेर्पालाई लाग्छ ।
विदेशीका क्यामेरामा नेपाल
निर्देशक एरिक भ्यालीले सन् १९९९ मा ‘क्याराभान’ चलचित्रमा डोल्पाको सुन्दर दृश्य र उत्कृष्ट प्रस्तुति गरेका थिए । त्यसपछिका वर्षहरूमा नेपालमा फ्रान्सेली पर्यटक आगमनमा वृद्धि भएको देखिन्छ । ‘क्याराभान’ प्रदर्शनपश्चात सन् २००४ सम्म फ्रान्सेली पर्यटक आगमन वृद्धि भएको र त्यसपछि सुस्ताएको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ ।
सन् १९९९ मा करिब ६ हजारको सेरोफेरोमा रहेको फ्रान्सेली पर्यटक आगमन बढेर सन् २००४ मा १८ हजार ९३८ पुगेको थियो । तर, त्यसपछि हालसम्म त्यो मात्रामा फ्रान्सेली पर्यटकको आगमन वृद्धि भएको पाइँदैन । ‘क्याराभान’को प्रभाव फ्रान्सेली पर्यटक आगमनमा कतै न कतै परेको सुवेदीको निष्कर्ष छ । चलचित्रको प्रभाव घट्दै जाँदा पर्यटक आगमन पनि सुस्ताएको हुन सक्ने कुरामा दीपकराज जोशी पनि सहमत छन् ।
नेपाल सानो देशभित्र भएर पनि सबै खाले मौसम र भौगोलिक विविधता रहेको बताउने जोशीका विचारमा पनि हामीले चलचित्रमार्फत हाम्रा कस्ता कुराहरू प्रचार र प्रवद्र्धन गर्न सक्छौं भन्ने छनोट गर्न सकेका छैनौं । “चलचित्र छायांकनका लागि आउँदा विदेशीहरूले ठूला उपकरणहरू ल्याउनुपर्ने हुन्छ । त्यस्ता ठूला र महँगा उपकरण लिएर आउँदा त्यसको सुरक्षाका लागि धेरै धनराशी डिपोजिट गराउनुपर्ने व्यवस्था छ”, जोशी भन्छन्, “यसले पनि उनीहरूलाई नेपालमा चलचित्र छायांकनका लाग आउनमा असर पारिरहेको छ । यसलाई सहज बनाउनुपर्छ ।”
सन् २०१५ मा दक्षिण कोरियाली चलचित्र निर्देशक ली सियोक हून निर्देशित एडभेन्चर ड्रामा फिल्म ‘द हिमालयाज्’ प्रदर्शन भयो । उम होङ् गिलको वास्तविक जीवनमा आधारित पर्वतारोहणसँग सम्बन्धित दुखान्त कथा समेटिएको यो फिल्म दक्षिण कोरियामा लोकप्रिय बनेको थियो । यो चलचित्रको प्रभावका कारण पनि हुनसक्छ, सन् २०१४ मा केवल १८ हजार ११२ दक्षिण कोरियाली पर्यटक आगमन भएको नेपालमा सन् २०१५ मा त्यो संख्या बढेर २५ हजार १७१ पुगेको थियो । सन् २०१६ मा पनि यो वृद्धि जारी रहेर ३४ हजार ३ सय १ पुग्यो । तर, त्यसपछि पर्यटक आगमन वृृद्धि क्रमशः सुस्ताएको तथ्यांकले देखाउँछ ।
यसबाट कतै न कतै चलचित्र प्रदर्शनअघि पर्यटक आगमन कम हुनु, प्रदर्शनको केही वर्ष वृद्धि हुन र पुनः सुस्ताउनु संयोग मात्र नभई यसले पारेको प्रभाव हो भन्न सकिन्छ ।
दक्षिण कोरियाली फिल्म ‘द हिमालयाज्’को यो उदाहरणसँग ठ्याक्कै मेल खान्छ, चलचित्र ‘एभरेष्ट’ । वाल्टासार कोर्माकुर निर्देशित यो सर्भाइभल एड्भेन्चर बेलायती अमेरिकी चलचित्र सर्वोच्च शिखर सगरमाथामा सन् १९९६ मा ८ जना पर्वतारोहीको ज्यान जाने गरी भएको दुर्घटनाको विषयलाई लिएर बनाइएको छ । व्यापारको दृष्टिकोणले चलचित्रले घाटा व्यहोरेको बताइए पनि प्रदर्शित चलचित्रको प्रभावका कारण नेपालमा पर्यटक आगमन बढाएको तथ्यांकले देखाउँछ ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार ‘एभरेष्ट’ चलचित्र अमेरिका, बेलायत, जापानसहित एक दर्जनभन्दा बढी ठूला बजार क्षेत्र रहेका देशमा प्रदर्शन भएको थियो ।
अमेरिका, बेलायत र जापानबाट मात्रै सन् २०१५ मा यो चलचित्र प्रदर्शन भएपछि पर्यटक आगमनको वृृद्धि उत्साहजनक रहेको देखिन्छ ।
उदाहरणका लागि सन् २०१३ को तुलनामा २०१४ मा घटेको पर्यटक आगमन सन् २०१५ देखि २०१७ सम्म आशालाग्दो गरी वृद्धि भएको थियो । सन् २०१७ बाट भने त्यो गति सुस्ताएको छ । रोचक कुरा त के भने नेपालमा बिनासकारी महाभूकम्प यही समयमा गए पनि त्यसले संख्यात्मक रूपमा पर्यटन आगमनमा त्यतिधेरै असर पारेको देखिँदैन ।
सन् २०१४ बाट २०१८ सम्म अमेरिकाबाट पर्यटक आगमन क्रमशः ४२ हजार ६८७, ५३ हजार ६४५, ७९ हजार १४६, ९१ हजार ८९५ र ९३ हजार २१८ रहेको छ । बेलायतबाट यही अवधिमा पर्यटक आगमन २९ हजार ७३०, ४६ हजार २९५, ५१ हजार ०५८, ६३ हजार ४६६ र ६१ हजार १४४ रहेको छ । यसैगरी जापानबाट १७ हजार ६१३, २२ हजार ७९७, २७ हजार ३२६, २९ हजार ८१९ र ३० हजार ५३४ रहेको छ । यी तथ्यांकहरूले कतै न कतै सन् २०१४ सम्म न्यून रहेको पर्यटक आगमन वृद्धि भएको र चलचित्रको प्रभाव घट्दै जाँदा ती देशबाट पर्यटक आगमन सुस्ताउन पुगेको देखाउँछ ।
होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहको एयरपोर्ट होटलमा नै सन् २०१३ ताका करिब ३ महिना हिरो, हिरोइन्, निर्देशक तेङ हुवाताओ लगायतको टिम नै बसेर नेपालका विभिन्न क्षेत्रमा चिनियाँ भाषामा बनेको ‘अप इन द विन्ड’ फिल्म सुटिङ गरिएको थियो । नेपालको कथावस्तु जोडिएको सो चलचित्र चीनमा धेरै राम्रो चलेको थियो ।
त्यसो त केही चलचित्रहरू विभिन्न अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनीमा समेटिने गरेका छन् । तर, तिनले मात्र नेपालको वास्तविक पर्यटनलाई प्रवद्र्धन गर्न नसकेको ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल(टान)का अध्यक्ष सुवेदीको बुझाइ छ ।
आकर्षक प्याकेज अत्यावश्यक
चलचित्र पर्यटन प्रचार र प्रवद्र्धनको सशक्त माध्यम हो, सफल चलचित्रमा समेटिएका केही सेकेन्डको दृश्य मात्रले पनि कुनै स्थान विशेषको पर्यटन प्रवद्र्धनलाई अभूतपूर्व सघाउन सक्छ । यही तथ्यलाई आत्मसात गरेर हलिउडदेखि बलिउडमा भएका चलचित्र विशेष कार्यक्रम र प्रदर्शनीमा स्टल राखेर प्रचार–प्रसार गरिरहेको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको भनाइ छ । उही माध्यमले पनि विदेशी चलचित्र निर्माताहरूलाई नेपालमा चलचित्र छायांकन गर्न आकर्षण गर्ने अपेक्षा पनि उनले राखेका छन् ।”
अध्यक्ष दाहाल यति मात्र प्रयासले भने विदेशी चलचित्र निर्माता नेपाल आउन उत्साहित हुने ठाउँ नरहेको ठान्छन् । “हामीले नेपालमा चलचित्र निर्माणका लागि कुन–कुन स्थान उपयुक्त छन् भनेर देशभरिका ६३ वटा त्यस्ता स्थानको छनोट गरी ‘फिल्मिङ नेपाल’ नामको पुस्तकनै प्रकाशित गरेका छौं र अनलाइन पनि राखेका छौं”, उनी भन्छन्, “यसको माध्यमबाट विदेशीहरूले नेपालमा चलचित्र निर्माण गर्न स्थान छनोट गर्नेदेखि त्यस स्थानको महत्व, अवस्था र विशेषता थाहा पाउन सनून् भन्ने हाम्रो प्रयास हो ।”
उनले भनेको पुस्तकमा सगरमाथा बेस क्याम्पदेखि बेनी, कीर्तिपुर, घले गाउँ, पुनहिल, पोखरा, गोसाइँकुण्ड, लाङटाङ हुँदै बडिमालिका, लुम्बिनी, स्वर्गद्वारीलगायतका क्षेत्र समेटिएका छन् । चलचित्र निर्माताले रोजेको ठाउँसहज रूपमा छनोट गर्न सकून् भनेर त्यहाँ समेटिएका स्थानहरूलाई पनि हिमाल, पहाड क्षेत्र, निकुञ्ज, धार्मिक स्थल जस्ता क्षेत्र विशेष गरेर छुट्ट्याइएको छ ।
स्वदेशी होस् वा विदेशी सबैखाले चलचित्र निर्माणले अप्रत्यक्ष रुपमा अल्पकालिन रूपमा रोजगारी सिर्जना र आर्थिक आम्दानी बढाउँछन् । दीर्घकालीन रूपमा विदेशी चलचित्रले समग्र देशकै आम्दानी वृृद्धि गरी दीर्घकालीन रोजगारी सिर्जना गर्नमा सहयोग पु¥याउन सक्छन् । यसका साथै नेपाली चलचित्रले विशेषतः आन्तरिक पर्यटन प्रचार र आर्थिक गतिविधिलाई चलायमान बनाउन सघाउने दाहाको धारणा छ ।
नीतिगत रूपमा विदेशी चलचित्र निर्माताहरूलाई नेपालमा आउनका लागि भने आकर्षक प्याकेज ल्याउन अत्यावश्यक भइसकेको महसूस भएको छ । यसका लागि सम्वन्धित मन्त्रालयहरूसँग छलफल चलिरहेको दाहाल बताउँछन् । छलफलमा नेपालमा चलचित्र निर्माणका लागि आएको टोलीले गरेको खर्चको भ्याट फिर्तादेखि, चलचित्र छायांकनका लागि अनुमति दिने प्रक्रियालाई एकद्वार बनाउनुपर्ने सम्मका कुरा उठेका छन् ।
सुटिङका लागि एकद्वार नीति
अहिले कुनै एउटा चलचित्रले देशको विभिन्न स्थानमा छायांकन गर्न चाहेमा बिमानस्थल, वन, प्रदेशदेखि गाउँपालिकासम्मको छुट्टै अनुमति लिनुपर्ने झन्झटिलो र लामो प्रक्रिया छ । यसले कोही पनि चलचित्र निर्मातालाई नेपाल आउन उत्साहित बनाउँदैन । यदि यसलाई एकद्वार नीतिमा समेट्न सकियो र सबै काम छिटोछरितो रुपमा गर्न सकिने प्रक्रिया भयो भने विदेशी चलचित्र निर्माताहरू नेपालमा छायांकनका लागि आउन उत्सुक देखिएका छन् ।
सरकारी समन्वय नहुदाँ सुटिङका लागि धेरै झन्झटिलो प्रक्रिया रहेको छ । यो समस्या समाधान गर्दै सरकारले एकद्वार माध्यमबाट सुटिङका लागि अनुमति दिने व्यवस्था गरेको खण्डमा सहज हुने नेपाल पर्वातारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको ठम्याइ छ । सरकारी तबरमा नीतिगत प्रष्टता नहुदाँ नेपालमा चलचित्र सुटिङमा आउन चाहानेहरूलाई सहजीकरण गर्न नसकेको शेर्पाको गुनासो पनि छ ।
नेपालमा अन्य देशको तुलनामा कम खर्चिलो, केही दूरीमा नै पाइने भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक मौलिकता अन्त नपाइने भएकाले विदेशी चलचित्र निर्माताहरू नेपालमा छायांकनका लागि आउन उत्सुक देखिएका छन् । “जुन कुरा विश्वले हेर्न चाहेको छ, जसलाई चलचित्रको माध्यमबाट कलात्मक ढंगमा देखाउन सकिन्छ, त्यसो गर्न सकेमा चलचित्रलाई लोकप्रिय बनाउन सघाउनुका साथै नेपालको पर्यटन प्रचार र प्रवद्र्धन हुने कुरामा दुई मत छैन”, दाहाल भन्छन्, “तर, यसबारे अपेक्षित नीति नै ल्याएर सरकारले पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा चलचित्रलाई लिनुपर्छ ।”
सरकारलाई चलचित्रको यो महत्व र प्रभावबारे आफूहरूले बुझाउने प्रयास गरिरहेको पनि दाहालको दाबी छ । तत्काल चलचित्रको यो प्रभाव क्षमता नबुझे पनि ढिलो चाँडो यसलाई सरकारले अवलम्बन गर्नैपर्ने उनको दृष्टिकोण पनि रहेको छ ।
हुन पनि विकासशील देशमा चलचित्रलाई मनोरञ्जनको माध्यमका रूपमा मात्रै बुझ्ने गरेको पाइन्छ । दीपकराज जोशीका विचारमा चलचित्रको प्रभाव क्षमताबारे बुझेको मान्छे राज्यको उच्च तहमा पुगेको खण्डमा चलचित्रलाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउन सकिन्छ । अहिले चलचित्रको महत्व बुझ्ने व्यक्ति र बौद्धिकस्तरको नेतृत्व उच्च तहमा नरहेकै कारण यसको उचित मूल्यांकन उपयोग नभएको उनको बुझाइ छ ।
हिमाल आरोहण गर्न आएकाहरूले केही सानोतिनो डकुमेन्ट्री तयार गर्ने गरेका र यसबाट पनि नेपालको हिमशृंखलाहरूको प्रचार–प्रसार हुँदै आएको उनको विश्वास छ । नेपालको बारेमा प्रचार–प्रसार गर्न प्रत्येक वर्ष काठमाडौं इन्टरनेसनल माउन्टेन्ट फिल्म फेस्टिभल हुँदै आएको छ । यसबाट पनि नेपालको प्रचार प्रसारमा सहयोग पुगेको उनको विश्वास छ । काठमाडौं माउन्टेन फिल्म फेस्टिभलल(किम्फ)जस्ता गतिविधिले पनि चलचित्रमार्फत नेपालको पर्यटन विकासमा सहयोग पुग्र्दै आएको पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पाको भनाइ रहेको छ ।
नेपालको प्राकृतिक सौन्दर्य सबैलाई थाहा भए पनि नेपालमा चलचित्रमार्फत पर्यटनको प्रवद्र्धन गर्न राष्ट्रिय नीतिको खाँचो छ । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहका विचारमा नेपालमा सुटिङको समन्वयको लागि सरकारी तबरबाट नै सहजीकरण गर्नु जरुरी छ र त्यसो भएको खण्डमा नेपालमा चलचित्रको माध्यमबाट पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
न पूर्वाधार, न कथा, न त सीप
पूर्वाधारको अभाब रहेको कारणले गर्दा यहाँ चलचित्र छायांकन गर्दा धेरै खर्च हुने गरेको छ । यसतर्फ पनि सरकारले ध्यान दिन सकेको खण्डमा थप सहज हुने देखिन्छ । दोलखाको । दोलखाको डाँङडुँङे डाँडामा फिल्म सिटी बनाउन कलाकार मदनदास श्रेष्ठ लागि रहेका छन् । यसलाई सरकारले केही वर्ष अगाडि बजेटमा पनि छुट्ट्याएको थियो फिल्म सिटी बनाउन भन्दै बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिकामार्फत ३ करोड ५० लाख रकम विनियोजन भई कामसमेत सुरु भइसकेको थियो । मन्त्रिपरिषद्ले आयोजना स्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एक सय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको थियो । यहाँ उद्यम सिटी बनेको खण्डमा अन्य मुलुकका साथै भारत र चीन गरी दुवै छिमेकीलाई आकर्षित गर्न सकिने श्रेष्ठको विश्वास छ । एकै ठाउँमा फिल्म सुटिङ गर्ने ठाउँ फिल्म सिटीमा उपलब्ध हुँदा चलचित्रको बजेट घट्ने थियो भने विदेशीलाई धेरै ठाउँ जानु नपर्दा धेरै निकाय र स्थानमा अनुमति लिने झन्जट पनि कम हुने थियो । यो झन्जट कम हुँदा पनि विदेशी निर्माता आकर्षित हुने थिए । नेपाली चलचित्रको बजेट पनि घट्ने थियो । तर, तारबार लगायत केही काम भइसकेको उक्त ठाउँमा तीन वर्षयता सरकारले बजेट विनियोजना नगर्दा फिल्म सिटी बन्नेमा नै शंका उब्जिएको छ ।
नेपाली चलचित्रको प्रचार–प्रसारमा पनि सरकारले ध्यान दिने हो भने नेपालमा चलचित्रमार्फत पर्यटक आकर्षित गर्न सकिन्छ । यसो गर्दा सरकारको राजस्वर रोजगारी वृद्धि हुन्छ । यसरी चलचित्रको माध्यमबाट पर्यटन उद्योगमा टेवा पुग्नुका साथै नेपालको संस्कृति र प्रकृतिको पनि प्रचार हुन्छ । तर, त्यसका लागि चलचित्रको कथावस्तु पनि महत्वपूर्ण हुन्छ । ‘कथावस्तु कस्तो छ भन्ने कुरामा भने हामी सचेत हुनैपर्छ’, शाहको सुझाव छ ।
प्राकृतिक, परम्परागत वा धार्मिक सम्पदाहरूलाई चलचित्रमा कसरी प्रस्तुत गर्ने भन्ने तौरतरिका वा दर्शकको रुचिअनुसार प्रस्तुत गर्ने सीप र क्षमता नभएका कारण पनि नेपाली चलचित्र निर्माताहरू चुकिरहेका छन् । टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार सुनलाई गहना बनाएर सजाए जस्तै नेपालको प्राकृतिक सौन्दर्यलाई पनि कुशलतापूर्वक चलचित्रमा समेटिएमा छोटा दृश्यले मात्रै पनि नेपाली पर्यटनको प्रभावकारी प्रवद्र्धन गर्न सकिन्छ ।