मोवाइल नेटवर्कको पहुँच बढ्दै

रुकुम पश्चिममा टेलिफोन नेटवर्कको पहुँच बढ्दै गएको छ । जिल्लाभर हाल १६ वटा टेलिफोन टावरमार्फत नेपाल टेलिकम रुकुम पश्चिमले फोन सेवा प्रदान गरिएको छ ।
नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमका अनुसार ५ वटा टावर केहीदिन अघि मात्र सञ्चालन आएका छन् । टेलिकम कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माका अनुसार आठविसकोट नगरपालिकाको नेटीलेक, त्रिवेणीको पेउघा, चौरजहारी नगरपालिकाको खोलागाउ, त्रिबेणी गाउँपालिकाको खौला, मुसीकोट नगरपालिकाको चौखावाङमा टावर हालै सञ्चालनमा रहेका छन् । टावर सञ्चालनमा आएपनि त्यस क्षेत्रका सेवाग्राहीलाई गुणस्तरीय मोवाईल प्रयोगमा सहजता भएको छ ।
“जिल्लाका अझै दुई ठाउँमा मोवाइल टावर सञ्चालनमा आउन बाँकी छ” प्रमुख शर्माले भने, “यस आर्थिक वर्ष भित्रै सानीभेरीको दुली र आठविसकोटका दुई टावर पनि सञ्चालनमा आउँछन् ।” नेपाल टेलिकमका साथै साथै नीजि सेवाप्रदायक संस्था एनसेलले पनि जिल्लाका विभिन्न ठाउँमा टावर विस्तार गरेर सेवा दिइरहेको छ ।
जिल्लामा नेपाल टेलिकम मार्फत मोवाइल सेवाका लागि विभिन्न ठाउँमा टावर निर्माण गरेर सञ्चालन गरेपनि ल्याण्डलाइन, एडिएसएल तथा फाइवर नेटको माग उच्च भएपनि पूर्ति गर्न क्षमता विस्तार गर्न सकेको छैन । नेपाल टेलिकम मार्फत हाल सदरमुकाम खलंगामा ४ सय ३१ वटा ल्याण्डलाइन र एडिएसएल वितरण गरिएको छ । त्यस्तै सोलाबाङ र चौरजहारीमा पनि केही ल्याण्डलाइन वितरण गरेको छ । जिल्ला सदरमुकाम खलंगानै ल्याण्डलाइन र एडिएसएलको माग भएपनि क्षमता नभएको भन्दै कार्यालयले प्रदान गरेको छैन ।
पछिल्लो समय फाइवर इन्टरनेटको समेत माग बढेपनि सल्यानसम्म पुगेपनि रुकुम सदरमुकाम सम्म अझै पुगेको छैन । जिल्ला सदरमुकाम खलंगासम्म टेलिकमको फाइवर इन्टरनेट विस्तारका लागि टेन्डर आह्वान भइरहेको भएपनि छिटोछरितो काम हुन नसकेको हो । ल्याण्डलाइन तथा इन्टरनेटको माग जिल्ला सदरमुकाम संगै स्थानीय तहका केन्द्रहरुमा रहेको छ । जिल्लामा भएको क्षमता अनुसार ल्याण्डलाइन र एडिएसएल वितरण गरिसकेको र बाँकी क्षेत्रमा विस्तारलागि टेलिकमको केन्द्र तथा प्रदेश कार्यालयबाट क्षमता विस्तारका लागि पहल गर्नुपर्ने कार्यालयले बताएको छ ।