बैंकले सुनको एउटा मूल्य कायम हुँदाखेरि मूल्यांकन गरेर दिएको कर्जाको रकम यसको धितोको मूल्यमा हेरफेर हुनासाथ जोखिम बढ्न जाने हुन्छ
सुनको भाउ अकासिनुका कारण

रूस र युक्रेनबीच भएको तनावका कारण सुनको विश्व बजार उच्च भएको छ । यसरी चालू आर्थिक वर्षमा सुनमा बढाएको भन्सारका कारण नेपाली बजारमा अन्तर्राट्रिय बजारको तुलनामा सुनको मूल्य अझ बढी हुन पुगेको हो । तसर्थ हाल सबै क्षेत्र खस्किँदा पहेंलो धातु सुनको मूल्य भने इतिहासमै सबैभन्दा उच्चतम बिन्दुमा पुगेको छ । यसरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यो भाउ बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ । फलतः फागुन २७ गते भने केही सुनको भाउमा कमी आई १ लाखभन्दा केही बढी हुन आएको छ । यसरी सुनको भाउमा दिनप्रतिदिन उतारचढाव भई नै रहेको छ । वि.सं. २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्यधिक बढ्दा मूल्य अकासिएको थियो । फागुन २३ गते अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्य २ हजार डलर नाघेको छ । केही दिनअगाडिदेखि चलिरहेको रूस र युक्रेनबीच भएको युद्धका कारण सेफ हेभन एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको हो । यसरी अर्कातिर हेर्ने हो भने फागुन २५ गते न्युयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔंस २ हजार ५६ डलर १ सेन्टसम्म पुगेको छ । त्यसरी हाम्रो नेपाली बजारमा भने डलरको मूल्य घटेको छ, जसले गर्दा सुनको मूल्य बढ्न गएको हो । यस पटक भने युक्रेनमाथि रूसको आक्रमणका कारण सुनको भाउ अकासिएको व्यवसायीहरू बताउँछन् ।
संसारभरि हाल मौज्दात सुन १ लाख ७१ हजार ३ सय टन रहेको अनुमान गरिएको छ । यसमध्ये सबैभन्दा बढी अमेरिका ८ हजार १ सय ३४ टन, जर्मनी ३ हजार ३ सय ६७ टन, इटाली २ हजार ४ सय ५२ टन, फ्रान्स २ हजार ४ सय ३६ टन, रसिया २ हजार २ सय ९९ टन, चीन १ हजार ९ सय ४८ टन, भारत ६ सय ४२ टन र नेपाल ६.४ टन सुन मौज्दात रहेको अनुमान गरिएको छ । कोरोनाका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेको संख्या बढेकाले मूल्य बढेको हो । मूलतः विश्वका ठूला बैंकमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताले सुन बजारलाई सुरक्षित क्षेत्रका रूपमा अँगाल्दै लगानी बढाएको दाबी सम्बन्धित क्षेत्रको रहेको पाइन्छ । यसर्थ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकासिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ । यसरी बढ्ने हो भने सुनको मूल्य २३ सयदेखि २५ सय डलरसम्म पुग्ने आकलन सम्बन्धित क्षेत्रका विज्ञहरूले गरेका छन् । २०७६ साल साउन २१ गते प्रतितोला ६८ हजार रुपैयाँमा करोबार भएको थियो । तर, विगत दुई वर्षपछि तोलामा ३७ हजार ५ सय रुपैयाँले बढेको हो । अतः नेपालीहरूको सुन किन्न सक्ने क्षमता त्यति धेरै नभएका कारण पनि उनीहरूलाई दैनिक हातमुख जोड्न नै समस्या भएको छ । यसबाट सरकारी स्तरमा समेत सुन कम आयात भएको खण्डमा भन्सार महसुलबाट अर्बौं रुपैयाँ आम्दानीबाट वञ्चित हुन पुगेको छ । विश्वमा द्वन्द्व, युद्ध, दैवी प्रकोपजस्ता घटनाले सुनको मूल्य बढ्ने गर्छ । यसले गर्दा पेपर मनी, करेन्सीतिर व्यवसायी लागेका छन् । त्यस्तै विश्वमा सुनखानीहरू रित्तिँदै गएका छन् भने नयाँ सुनखानी भेटिएका छैनन्, जसका कारण सुनको आपूर्ति घट्दै गएको छ । यिनै विविध कारण सुनको मूल्य बढ्दो व्रmममा रहेको निष्कर्ष छ । अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुन महँगो हुनुमा भने अमेरिकी डलरको भाउ, अन्तर्राष्ट्रिय आर्थिक प्रणालीमा उथलपुथल र भन्सारदर नै प्रमुख कारण रहेको छ । देशकै भन्सारका कारण प्रतिकेजी सुनमा २ लाख रुपैयाँ मूल्य बढेको छ । मूल्य बढेसँगै नेपाली बजारमा सुनको कारोबार ह्वात्तै घटेको सम्बन्धित क्षेत्रको दाबी छ । विश्वका रिजर्भ बैंकहरूमा निक्षेप धेरै जम्मा भएको कारणले गर्दा ०.५ प्रतिशतमा ब्याज घटिसकेको अवस्था विद्यमान छ । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ३ प्रतिशत निक्षेपकर्ताको ब्याजदरलाई ०.२५ प्रतिशतमा घटाएको कारणले गर्दा निकट भविष्यमा निक्षेपकर्ताहरूले नै बैंकमा पैसा राखेबापत ब्याज तिर्नुपर्ने गरी ब्याजदर कटौती भएको छ । सोहीबमोजिम अरू देशहरूले पनि यो नियम लागू हुन सक्ने भएकाले निक्षेपकर्ताहरूले पैसा बैंकमा नराखेर सुन किन्न लागेको हुन सक्ने विज्ञहरूको भनाइ छ । यो कारणले गर्दा पनि सुनको मूल्य वृद्धि भएको हो । त्यसैगरी संसारभरिका केन्द्रीय बैंकहरूले आ–आफ्नो देशको मुद्रा छाप्नको लागि विभिन्न मुद्रालगायत सुन राख्नुपर्ने प्रावधान रहेको छ । यस प्रावधानअनुसार पहिले किलोका किलो सुन राख्ने चलन थियो भने हाल आएर धनी देशहरूले टनका टन सुन राख्नाले सुनको भाउमा भारी वृद्धि भएको हो । यसमा जति बढी सुन राख्यो उति नै आफ्नो देशको मुद्राको क्रयशक्ति बढ्ने भएकाले यसो भएको हो । विश्वव्यापी रूपमा कोरोनाको महामारीका कारणले गर्दा उद्योगधन्दा, व्यापार, कलकारखाना बन्द भएको परिस्थितिमा लगानीकर्ताहरूले सुनमा लगानी गर्न थालेकाले सुनको मूल्य वृद्धि भएको हो । संसारभरिका रिजर्भ बैंकहरूको विश्वसनीयताको कारणले गर्दा आर्थिक प्रणाली नै परिवर्तन हुन गएको छ । मुलुकमा भने ०७६ जेठ १५ गते संशोधित आर्थिक नियमअनुसार प्रति १० ग्राम सुनको भन्सार दर रेट साढे ६ हजारबाट वृद्धि भई साढे ८ हजार कायम भएको छ ।
आर्थिक वर्ष २०५३÷०५४ देखि २०७६÷०७७ सम्म पछिल्ला २३ वर्षको अवधिमा नेपालमा सुनको आयात विभिन्न आर्थिक वर्षहरूमा गरी जम्माजम्मी ३ लाख ४१ हजार ७९ सय ९९ लाखबराबर रुपैयाँ खरिद गरी आयात भएको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित एक तथ्यांकमा उल्लेख गरिएको थियो । वि.सं. २०६६ पछि सुन आयात ठूलो परिमाणमा बढेको राष्ट्र« बैंकको तथ्यांकमा उल्लेख छ । यसमा माओवादी द्वन्द्वको समाधानपछि नेपाली मूलतः खाडी र मलेसियामा वैदेशिक रोजगारीमा जाने व्रmम बढेको थियो । वैदेशिक रोजगारीको आम्दानीले बहुसंख्यक नेपालीको व्रmय क्षमता बढेको र गरिबी दर तीव्रतर खुम्चिएको तथ्यांक विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले सार्वजनिक गर्दै आएका छन् । बढेको खरिद क्षमताको प्रभाव सुन बजारमा पनि परेको छ । यही कारण सुन आयात चुलिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । यसका अतिरिक्त अनौपचारिक माध्यमबाट पनि ठूलो परिमाणमा सुन भित्रिरहेको छ । यसमा नेपाल आयात हुने सुन सबैभन्दा बढी आर्थिक वर्ष २०६६÷०६७ मा ४ लाख १६ हजार ३ सय ५८ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम सुन आयात भएको आर्थिक वर्ष २०६२÷०६३ मा रु. २९ लाखबराबरको मात्र सुन नेपालमा आयात भएको थियो । गत सन् २०१९ मा विश्वमा सबैभन्दा ठूलो उपभोक्ताहरूको सर्वेक्षण भएको थियो । त्यसमा १८ हजार उपभोक्ताको सर्वेक्षण गरिएको थियो । त्यसबाट के कुरे पत्ता लाग्यो भने प्रमुख सुनका बजारहरूमा चीन, भारत, जर्मनी र अमेरिकाका साथै क्यानडा र रसियाका बजारहरू समेटिएको थियो । विश्वमा सुन धेरै खपत हुने देशहरूमध्ये भारत, पाकिस्तान, बंगलादेशको अवस्थाले पनि सुनको मूल्य थपघट हुने गर्छ । सुन बढी खपत हुने भारतमा अहिले यसको माग बढ्न नसकेको अवस्था छ । सुनको मूल्य तल झर्ने वा बढ्ने भन्ने निर्णय अधिकांश देशमा केन्द्रीय बैंकका कारण तय हुन्छ, किनभने केन्द्रीय बैंकले नै सुनको भण्डार गर्छ । यसको उदाहरण नोट निष्कासन गर्दा सुनचाँदीको जमानत राखिनु हो । वित्तीय क्षेत्रमा उतारचढाव, चुलिँदो व्यापारघाटाका कारण बढ्दो भुक्तानी असन्तुलन, गिर्दो विदेशी मुद्राको भण्डार आदि कारणले पनि केन्द्रीय बैंकको सल्लाहकार अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले सुन बेचेर भए पनि संकट टार्न सल्लाह दिन्छ । यस अर्थमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ तलमाथि हुने मुख्य तŒवहरू त्यो देशको वित्तीय क्षेत्रको अवस्थाका साथै केन्द्रीय बैंक र आईएमएफ निर्णायक हुन्छन् । बहुमूल्य धातु सुनको मूल्य निरन्तर रूपमा बढ्दो व्रmममा रहेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा दैनिकजसो बढिरहेकाले नेपाली बजार पनि प्रभावित भएको हो । यस वर्ष सुनको सर्वाधिक मूल्यवृद्धि भएको छ, जसका कारण विगत वर्षहरू सरकारी स्तरमा दैनिक करिब २० केजीसम्म कारोबार हुने गरेमा अब सुनको दैनिक १० केजीसम्म मात्र वाणिज्य बैंकहरूले दिन थालेका छन् । महासंघको तथ्यांकअनुसार २०७४ साउन ११ गते सुनको मूल्य प्रतितोला ५४ हजार १ सय रुपैयाँ थियो भने २०७५ साउन ११ गते ५६ हजार ५ सय रुपैयाँ थियो । २०७६ साउन ११ गते ६५ हजार रुपैयाँ थियो । २०७७ साउनको सोही अवधिमा सुनको मूल्य १ लाखभन्दा बढी पुगेको छ । सुनमा जेलिएका मुख्य चार पक्षमा व्यवसायी, उपभोक्ता, लगानीकर्ता र सरकार हुन्छन् । सबैले सुनमा सुनौलो भविष्य वा अवसर देखेका हुन्छन् । तर, विश्लेषकहरू भन्छन्, यसरी भाउ अचाक्ली बढ्दा कसैलाई पनि खुसीमात्रै भएको चाहिँ छैन । विश्वका धेरै ठाउँमा सुनको भाउ बढ्यो भने उपभोक्ताले त्यसको उपभोग नगरेर बस्न सक्छन् । तर, नेपालमा सुनका उपभोक्तालाई त्यो विकल्प कहिलेकाहीँ प्राप्त हुँदैन । यसरी जन्मदेखि मृत्यु संस्कार, बिहे, व्रतबन्ध तथा अन्य घर–व्यवहारमा सुनको प्रयोग गर्नैपर्ने अवस्थामा उपभोक्तालाई बढेको भाउले पिरोल्छ । यसमा व्यवसायीहरूचाहिँ भाउ बढ्दा घटेको कारोबारले चिन्तित छन् । सुन भनेको गैरवित्तीय सम्पत्ति हो, जुन अनुत्पादक मानिन्छ । यसमा मानिसहरूले फाइदा देखेर लगानी गर्न थाले भने त्यो राम्रो हुँदैन । देख्दा पहेंलो र सुन्दर सुनलाई अर्थशास्त्रको भाषामा भन्ने हो भने अनुत्पादक वस्तु पनि हो ।
समग्रमा भन्नुपर्दा कोरोना भाइरसको विश्वव्यापी महामारीले उत्पन्न गराएको आर्थिक मन्दी, अर्थतन्त्रबारे व्याप्त संशय र अनिश्चय, चीन र अमेरिकाबीचको बढ्दो तिक्तताका त्रास आदि सबै कारणले गर्दा अहिले विश्वमा लगानीकर्ताहरूको मन बिथोलिएको छ । मुलुकमा आयात हुने वस्तुहरूको तेस्रो सूचीमा सुन रहेको छ । पेट्रोलियम पदार्थ, मेसिनरी, सवारी साधन र पार्टपुर्जापछिको तेस्रो बढी आयात हुने वस्तु सुन नै हो । अतः आर्थिक उदारीकरण गरिएका अर्थतन्त्रमा वस्तुको मूल्य बजारको माग र आपूर्तिअनुसार नै तय हुन्छ । बजारमा वस्तुको आपूर्ति बढी भएमा त्यसले मागलाई प्रभावित गर्छ । फलस्वरूप वस्तुको मूल्य कम हुन जान्छ । अर्थशास्त्रको यही सामान्य सिद्धान्त सुनमा पनि लागू हुन्छ । त्यस्तै माग बढेपछि आपूर्तिमा कमी भई साबिकको मूल्यमा चाप पर्न जान्छ र मूल्य अकासिन्छ । हाम्रो छिमेकी देश भारत विश्वको सबैभन्दा बढी सुन खपत हुने देशमध्ये पनि एक हो । भारतसँगको खुला सिमानाले गर्दा अवैध आयातका कारण पनि नेपालमा मागलाई धान्ने हिसाबले सुन भित्रिन्छ नै । सुनको मूल्य घट्नाले उपभोक्ता वा आमजनतालाई प्रत्यक्ष रूपमा फाइदा नै छ, तर वित्तीय क्षेत्रमा भने यसले नराम्रो स्थितिको उजागर गर्छ । अहिलेको वित्तीय बजारमा धितो कर्जाको एउटा सोझो, सजिलो र प्रबल वस्तु सुन हो । बैंकले सुनको एउटा मूल्य कायम हुँदाखेरि मूल्यांकन गरेर दिएको कर्जाको रकम यसको धितोको मूल्यमा हेरफेर हुनासाथ जोखिम बढ्न जाने हुन्छ । फलस्वरूप मार्जिन परिवर्तन गर्नुपर्ने कारणले कर्जा नोक्सानी व्यवस्था पनि बढ्न जान्छ, जुन वित्तीय क्षेत्रका लागि नयाँ टाउको दुखाइ बन्छ । कर्जा नोक्सानी व्यवस्था बढ्नाले नाफा थपघट हुन्छ, जसको असर बैंकको पुँजी निर्माण र व्यवस्थापनमा पनि पर्छ ।