Logo

किबीबाट एकै सिजनमा छ लाख आम्दानी

डडेल्धुरा-सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा किसानले किबी फलको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उत्पादनसँगै एकै सिजनमा किसानले छ लाख रूपैयाँसम्म आम्दानी गरेका छन् । अमरगढी नगरपालिका वडा नम्बर १ दहब्यारेक गाउँका किसानले किबीको व्यावसायिक उत्पादन सुरु गरेका हुन् ।
दहब्यारेकका बासिन्दा गणेशबहादुर ऐरले आफ्नो ६ रोपनी जमिनमा किबी फलको व्यावसायिक खेती सुरु गरेका छन । उनले चार वर्ष पहिले दोलखाबाट करिव १ सय १० किबीका विरुवा ल्याएका थिए । गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा किबी फलको उत्पादन दोब्वरले बढी भएको किसानको भनाइ छ । जसबाट छ लाख रूपैयाँ आम्दानी भएको किसान ऐरले बताए ।
अन्य व्यवसायभन्दा किबी फलमा मुनाफा बढी भएकाले किबी फलाउनमा उनको घरमा रहेका अन्य आठ जनाले पनि साथ दिएका छन् । उनले किबी बिक्री गर्न बजारका लागि पनि धाउन नपर्ने र बढी मूल्यमा बिक्री गर्न सकिने भएकाले राम्रो मुनफा आर्जन गर्न सकिने बताए । डडेल्धुरामा किबीको बजार मूल्य प्रतिकिलो ५ सय रूपैयाँ छ । अहिलेको सिजनमा १२ क्विन्टन बिक्री गरेको उनले बताए ।
एक पटक लगाएको किबी फलको विरुवाबाट दीर्घकालसम्म उत्पादन लिन सकिने भएकाले किसानहरूको आकर्षण देखिएको हो । किबी खेतीका लागि डडेल्धुराको हावापानी उपयुक्त रहेको अमरगढी नगरपालिका कृषि शाखा डडेल्धुराका प्रशासक अधिकृत टेकबहादुर बिष्टले बताए । अहिले जिल्लाको दहब्यारेक, दमडा, वगरकोट, मालम, मौरडा खुल्लेखलगायतका विभिन्न ठाउँका किसानले किबीको व्यावसायिक खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्