Logo

चैतको पहिलो साताभित्रै भाडा समायोजन गर्न यातायात व्यवसायीको चेतावनी

यातायात व्यवसायीले ७ चैतसम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।
पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत २७ असारमा समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।
विगतमा डिजेलको मूल्य १०४ रूपैयाँ हुँदा समायोजन भएको भाडा अहिले १३३ रूपैयाँ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो छ । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरूले बताए ।
आइतबार पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिक रूपले भाडादर समायोजन गर्न सरकारसँग माग गरेका हुन् । उनले ७ गतेसम्म भाडा समायोजन नभए व्यवसायी आफैंले समायोजन गर्ने चेतावनी दिए ।
व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९.०३, ट्रक (पहाड) को ११.८२ र ट्रक (तराई) को १३.१३ प्रतिशत लागत वृद्धि भएको छ । यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत आठ.पाँच प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो ।
व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए । गत २७ असारमा समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्